दसैं बिदामा घर गएका शिक्षक नफर्किएपछि वडा अध्यक्षले लगाइदिए विद्यालयमा ताला

१. दसैं बिदामा घर गएका शिक्षक नफर्किएपछि वडा अध्यक्षले लगाइदिए विद्यालयमा ताला

उदयपुर, ४ मंसिर

कटारी नगरपालिका–१२ बसेरीस्थित जनमुखी माध्यामिक विद्यालयमा वडा अध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका छन् । दसैं, तिहार बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्यालय दसैंअघि एक साता खुलेको थियो । चाडबाड सकिएर विद्यालय खुलिसक्दा पनि शिक्षक कर्मचारी नआएपछि बाध्य भएर ताला लगाएको अभिभावकहरूले बताएका छन् । चालु शैक्षिकसत्र असारबाट सुरू भए पनि विद्यार्थीहरूले वैशाखयता पढ्न पाएका छैनन् । लामो बिदापछि बिद्यालय खुले पनि शिक्षक नआएपछि बाध्य भएर बिद्यालयमा ताला लगाएको कटारी नगरपालिका–१२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । २०१७ सालमा बसेरीमा स्थापना भएको जनमुखी माध्यामिक विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।

दसैं तिहारको बिदापछि बिद्यालयका प्रधानअध्यापक तारणीप्रसाद चौधरीसहित नौ जना शिक्षक कर्मचारी आएका छैनन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी कार्यरत छन् । आधा भन्दा बढी शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गरेको वडाध्यक्ष पौडेलले बताए । विद्यालयमा अध्यायनरत विद्यार्थीको भविष्य बिग्रेएको भन्दै तालाबन्दी गरेको हो । विद्यालय सुधारका लागि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गतिविधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरे पनि प्रधानाध्यापक चौधरीले कार्यान्वयन नगरेको अभिभावकहरूको गुनासो छ । तालाबन्दीपछि विद्यालयमा अध्यायनरत करिब पाँच सय विद्यार्थी अन्योलमा परेका छन् ।
२. पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन
महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली गरेको भन्दै नेकपा एमाले धनुषाका असन्तुष्ट पक्षले पूर्वमन्त्री रघुवीर महासेठविरुद्ध जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।

पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी र धाँधली गरेको भन्दै एमालेका प्रदेश सांसद किशोरी साह (कमल) को नेतृत्वका असन्तुष्ट नेता तथा कार्यकर्ताले महासेठविरुद्ध नाराबाजीसहित शनिवार जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । स्थानीय जनकपुर रेल्वे स्टेसनबाट निकालिएको विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै जनक चोकमा कोणसभामा परिणत भएको थियो ।
पार्टीका स्थायी समिति सदस्य महासेठले पार्टीमा वर्षौदेखि लगानीका गरेकाहरूलाई बाइपास गरी आफ्ना आसेपासे तथा नातामा पर्नेलाई महाधिवेशन प्रतिनिधि बनाएको प्रदेश सभामा प्रमुख सचेतक समेत रहेका साहले बताए ।

महासेठले आफ्ना निकटलाई मात्रै प्रतिनिधि बनाई पार्टीमा वर्षोदेखि लागेकाहरूलाई हातोसहित गर्ने काम गरेको र यसले पार्टीलाई क्षति पुग्ने बताउँदै सांसद साहले भने, ‘महासेठलाई अव धनुषामा एकलौटी गर्न दिँदैनौँ । महाधिवेशन प्रतिनिधिको नामावली संशोधन नभए आफूहरूले महासेठविरुद्ध कडा रूपमा आन्दोलनको कार्यक्रम बढाउँछौँ ।’

एमालेका प्रमुख सचेतक साह, माओवादी केन्द्रबाट एमाले रोजेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतकालाई बेवास्ता गर्दै महासेठले एकलौटी मनोमानी निर्णयपछि आफूहरू विरोधमा उत्रिएको उनले बताए ।

३. पूर्व गृहमन्त्री अधिकारीको दाबी– देउवा सेटिङमा प्रधानमन्त्री बनेका हुन्
पूर्व गृहमन्त्री एवं एमाले नेता खगराज अधिकारीले संसद् विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन भूमिका खेलेका सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाधीश मात्र हटेर समस्या समाधान नहुने भएकाले बाँकी चार जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताए । ुसर्वोच्चको अहिलेको विवादले संसद् विघटनको फैसला उल्टाउने र परमादेशमा सरकार गठन गर्ने काम सेटिङमा भएको पुष्टि भएको छु, उनले भने, सेटिङमा संलग्न सबैले राजीनामा दिनुपर्छ ।

राष्ट्रपतिको अधिकारको अपव्याख्या गरेर सर्वोच्चले फैसला गरेको र परमादेशबाट बनेको सरकारले फैसला गर्ने न्यायाधीश कसैलाई मन्त्री र कसैलाई तक्माको पुरस्कार दिएको बताउँदै उनले तक्मा लिनु भनेको घुस लिए सरह भएकाले ती सबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । ुअहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थ्य संस्थालाई कमजोर पार्ने काम भएको छ,ु उनले भने ।

फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाएका छन् । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र माधव नेपालहरू लागेको र यसको फाइदा दक्षिणपन्थीले लिएको भन्दै अधिकारीले चुनावबाट एमाले फेरि सत्तामा फर्कने बताए ।

मदन भण्डारीले सुरु गरेको राष्ट्रिय स्वाधीनताको लडाइलाई केपी ओलीले अगाडि बढाएको र त्यसैको फलस्वरूप कम्युनिस्ट पार्टी सत्तामा पुग्न सफल भएको उनको भनाई छ । तर, वामपन्थी सरकारमा पुग्दा गम्भीर विचलन देखा पर्ने गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष रामबहादुर चन्दले संघभित्र फुटपरस्त गतिविधिमा लाग्नेलाई निलम्बन गरिएको भन्दै अव संगठनलाई अझ सुदृढ, व्यवस्थित र पारदर्शी बनाएर लगिने बताए । संघका महासचिव डा। झलक शर्मा गौतमले स्वास्थ्यकर्मी संघ देशभरिका स्वास्थ्यकर्मीहरूको आशा र भरोसाको केन्द्र बनेको भन्दै मुलुकभरका स्वास्थ्यकर्मीको हक हितको रक्षा गर्दै संघ अगाडि बढ्ने बताए ।

४. ‘ए’ डिभिजन लिगः थ्रीस्टारको शानदार जित
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लबले शानदार विजयी शुरूवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराउँदै थ्रीस्टार विजयी भएको हो ।

थ्रीस्टारका लागि निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गरे ।

खेलको म्यान अफ दी म्याच निशान खड्का भए ।

५. भारतीय योगगुरुलाई टीभी सञ्चालन गर्न दिनु देशकै कानूनको निर्लज्ज उल्लंघन : भीम रावल
नेकपा एमालेका नेता भीम रावलले भारतीय योगगुरुलाई टीभी सञ्चालन गर्न दिनु देशकै कानूनको निर्लज्ज उल्लंघन भएको बताएका छन् ।
‘प्रमं देउवा,प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टीभी भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उदघाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन् ।’

शुक्रवार पतञ्जली नेपालले सञ्चालनमा ल्याएको आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । त्यहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसमेत सहभागी थिए ।

भारतीय योगगुरु रामदेव अहिले नेपालमा छन् ।
६. अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेका छौं( प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताएका छन् ।
चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शनिवार उनले अदालतमा देखिएको समस्या अदालतभित्रबाटै समाधान हुनुपर्ने बताएका छन् ।
‘अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरूले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो,’ उनले भने, ‘गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ ।’

केही दिनभित्र नै समस्या समाधान हुने आशा रहेको उनको भनाइ थियो । उनले चाँडै समस्या समाधान गर्न अपिल गरिएको बताए ।

७. काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका रेड जोनु सहर
नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम(२.५ ९पार्टिकुलेट म्याटरको मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।

नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ ।

यद्यपि, शनिबार बिहान काठमाडौंमा पिएम(२‍.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमाडौंमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए ।

दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौं रहेको छ ।

नेपालका यी सहर रेडजोनमा
नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ ।

शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।

पिएम२.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ ।
धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।
८. मदिरामा अन्तःशुल्क वृद्धि नगर्न व्यवसायीको माग
मदिरामा सरकारले अन्तःशुल्क वृद्धि गर्दा विदेशबाट मदिरा आयात बढेको व्यवसायीले गुनासो गरेका छन् ।

अन्तःशुल्कमा हुने वृद्धिले नेपालमा महँगो भई विदेशी मदिराको आयात बढेको व्यवसायीले बताएका छन् । मदिरा व्यवसायी संघ रुपन्देहीको सातौँ अधिवेशन तथा १३औँ साधारण सभामा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीलाई सरकारले पक्षपातपूर्ण व्यवहार गरेको गुनासो गरे ।
राज्यलाई कूल राजस्वको २५ प्रतिशत हाराहारी कर तिर्ने मदिरा व्यवसायलाई सरकारले कुनै सुविधा नदिएको उनले बताए । ुविदेशी मदिरा आयात बढ्नुमा नेपाली मदिरा महँगो हुनु हो । सरकारले अन्तःशुल्क बढाउँदा विदेशी मदिरासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छु, उनले भने ।

व्यवसायीहरूले अवैध घरेलु मदिराको कारोबारले मानव स्वास्थ्यमाथि खेलबाड र राज्यको कर गुमेको बताउँदै नियन्त्रण गर्न माग गरे । यस्तै कर प्रशासनले पनि व्यवसायीलाई दुःख दिने गरेको व्यवसायीको गुनासो छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत उद्धव अधिकारी, महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु श्रेष्ठ, महासचिव तारा ढुंगाना, महासंघका सल्लाहकार खिमीबहादुर खत्री, दिनेश प्रसाद श्रेष्ठ, नेपाल व्यापार कर्मचारी संघका अध्यक्ष प्रितम गिरी, संघका जिल्ला अध्यक्ष शम्भु भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकुर श्रेष्ठलगायतले व्यवसायीका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसमिति सदस्य, नगर संयोजकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष कृष्ण गौतम, महासचिव हिमालय भुसाल लगायतले बोलेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

९. मोरङ कारागारमा कैदीको मृत्यु
जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

प्रेसर लोु भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए ।

शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए ।