छायो रौनक मध्यविन्दु नगरपालिकामा: एमालेको १० औं महाधिवेशन लक्षित प्रचारप्रसारमा तिब्रता

नवलपुर ,मंसिर ७ । मंसिर १० देखि १२ गते सम्म चितवनको नारायणी नदी किनारमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन केन्द्रीत गरेर नेकपा एमाले मध्यविन्दु नगरकमिटीले प्रचारप्रसारलाई तिब्रता दिएको छ । एमालेको राष्ट्रिय महाधिवेशनमा मध्यविन्दु नगरपालिकाबाट अत्याधिक जनसहभागीता गराउन प्रचारप्रसारलाई तिब्रता दिएको नगरकमिटी अध्यक्ष मधुबिलास अधिकारीले बताउनुभयो ।

महाधिवेशनमा सहभागी हुन आउनेहरुलाई स्वागत गर्न मध्यविन्दु नगरपालिकाको चोरमारामा स्वागत गेट निर्माणको कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । स्वागत गेट निर्माण संगै घरदैलो कार्यक्रमलाई अगाडी बढाएको अधिकारीले बताउनुभयो ।

एमालेको राष्ट्रिय महाधिवेशन नवलपुर जिल्लाको आगनीमा नै हुने भएको कारण पनि यसमा आम सर्वसाधरणको ध्यानकेन्द्रीत बनाउन र पार्टीको गतिविधि जनता सम्म पु¥याउन योजना सहित अगाडी बढेको एमाले जिल्ला कमिटि सदस्य अमृत प्रसाद ज्ञवालीले बताउनुभयो ।

यस्तै मध्यविन्दु–७ वडा कमिटीले वडा भित्रको तिन वटा टोलमा तिन वटा कमिटी निर्माण गरेर परिचालन गरेको वडा कमिटी अध्यक्ष भिम गैह्रेले बताउनुभयो । अब बजार क्षेत्रमा पार्टीको झण्डा सहित प्रचारप्रसार र निमन्त्रणा कार्ड वितरणको कार्य बुधबार बिहानबाट शुरु गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नं. ७ वटा पार्टी महाधिवेशनमा ६ वटा बस सहित साना ठुला सवारीहरुमा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरु सहभागी हुनेछन् ।