एमाले महाधिवेशनः साढे तीन लाखको गैँडाको मस्कट तयार, यसरी बनाइयो मस्कट

१. एमाले महाधिवेशनः साढे तीन लाखको गैँडाको मस्कट तयार, यसरी बनाइयो मस्कट
मंसिर ८, चितवन ।।
१०-१२ मंसिरमा चितवनमा तय भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।

एमालेले महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।।

यसरी बनाइएयो मस्कट

मूर्तिकारले विशेष गरी कास्टिङ र कार्भिङ गरेर दुई किसिमले मूर्ति बनाउँछन् । कार्भिङमा काठ र ढुंगामा मूर्ति बनाइन्छ भने कास्टिङमा सिमेन्ट, फाइबर र धातुको प्रयोगबाट मूर्ति बनाइन्छ ।

गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो ।

यो मूर्ति बनाउनुअघि सुरुमा माटोको नमूना मूर्ति बनाइएको हो । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छौँ, कलाकारिताको काम यसमा हुन्छ ।त्यसपछि अर्को आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लाष्टरको डाइ बनायौं । त्यसपछि डाइका टुक्रा जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रूप तयार भयो,ु उनले भने ।

तेस्रो चरणमा मात्रै प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरीरजस्तो देखिनेगरी ‘मिक्स’ गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ ।

मस्कट बनाउन कम्तीमा दुई महिना लाग्नेमा हतारमा बनाउनु परेकाले मूर्तिकारको टिमले १० दिनमा तयार पारेको उनले बताए ।

‘दिनमा मात्रै गरेर सम्भवै थिएन । तीन टोली बनाएर १० दिनमा मूर्ति तयार गरियो, उनले भने । मूर्तिमा प्रयोग हुने फाइबर र रेजिनको मूल्य अत्यधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए ।

‘कच्चा पदार्थ भारतबाट आयात हुन्छ । पहिला केजीको २७० रुपैयाँसम्म पर्ने रेजिन अहिले केजीको चार सय रुपैयाँसम्म परेको छ, उनले भने, ‘डेढ लाख जति त कच्चा पदार्थमै प्रयोग भएको छ । मूर्तिकारको पारिश्रमिक पनि जोड्दा साढे तीन लाखभन्दा बढी लागत पुगेको छ ।’ मस्कट राख्नको लागि महाधिवेशन उद्घाटन स्थलमा बेस बनाउने काम भइरहेको छ ।

भरतपुर महानगरपालिका(९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रूपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो । विशेषगरी उनले गैँडालगायतका जंगली जनावर, बुद्ध र शहीदका मूर्ति बनाउने गरेका छन् । उनले सुनसरी, उदयपुर, बुटवललगायतका स्थानमा गएर पनि मूर्ति बनाउने गरेका छन् ।

२. कांग्रेस होसियार प्रचण्डले सिध्याउलान्ः केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन्।

युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डबाट कुनै काम नभएको र अब कांग्रेसलाई बिगार्न सक्ने बताएका हुन्।
एमाले बिगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै ओलीले भने, ‘हामीलाई बिगार्न प्रचण्डले खोजेका थिए । तर, सकेनन्। अहिले कांग्रेसमा गएका छन् । म भन्छु, होसियार कांग्रेस, प्रचण्डले सिध्याउलान्।’

कांग्रेस प्रचण्डको हात समाएर अघि बढ्नु पर्ने अवस्थामा रहेको टिप्पणी गर्दै ओलीले कांग्रेस विचार र नीतिमा पनि पुरानो भइसकेको बताए।

३. ३३२ जना सङ्क्रमित थपिए, १ लाख ४७ हजारले लगाए खोप

देशभर थप ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९२० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २३२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार १२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ७३ लाख ४३ हजार ६३९ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८० लाख ५९ हजार ३०२ जनाले पूर्ण मात्रा र ९२ लाख ८४ हजार ३३७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

४. प्रधानन्यायाधीशसँगै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ : विप्लव

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न समस्यासँग सम्बन्धित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका न्यायधिकारीहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उचित ठहरिने बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा नेपालको विद्यमान न्यायपालिका र सर्वोच्च अदालत भ्रष्टाचार, अनियमितता, सेटिङ, घुसखोरी, नातावाद, कृपावाद, दलगत स्वार्थ र सम्बन्ध लगायतका समस्याहरूबाट ग्रसित रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,  यो समस्या व्यक्ति विशेषको मात्र नभएर नेपालमा सत्तासीन दलाल पुँजीवादी वर्गको संसदीय व्यवस्थाको गइभिर समस्या हो । यसको अन्तिम र रणनीतिक समाधान सङ्घर्षरत पक्षले दलाल संसदीय व्यवस्था र भ्रष्ट एवं जनविरोधी न्यायपालिकाको अन्त्य गरेर नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था र न्याय प्रणालीको स्थापनाबाट खोज्नु पर्दछ । यसका निम्ति जनमत सङ्ग्रह उपयुक्त राजनीतिक कार्यक्रम सिद्ध भएको छ ।

५. संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नुपर्ने बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन् ।

आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौता नै पारित गर्नुपर्ने प्रचण्डले बताएका हुन् ।

‘सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता भएको थिएन’, प्रचण्डले भने, ‘पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको छ, त्यसैले सुरुको सम्झौतामा फर्केर पास गर्नुपर्छ ।’

अमेरिकी सहयोग नेपालले लिँदै आएको र एमसीसी पनि स्वीकार्नु पर्ने बताएका उनले अमेरिकी सहयोग नलिने नेपालको नीति पनि नरहेको स्पष्ट पारे ।

अमेरिकासँग ७५ वर्षदेखि सम्बन्ध रहेको र त्यसबीचमा सबै सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै प्रचण्डले एमसीसी पनि स्वीकारेर सदनबाट पारित गर्नुपर्ने बताएका हुन् ।

‘तर, संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसीसीका केही जटिल बुँदा थपेको छ । सुरको सम्झौता विवादित थिएन । त्यसैले सुरुवाती सम्झौतामा फर्केर सो योजना पास गर्नुपर्दछ’, उनले भने ।

६. काँग्रेसका चर्चित नेताहरू जो महाधिवेशन प्रतिनिधिमै पराजित भए

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ । अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन् । जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ ।
यसपटकको काँग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् । जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वर्तमान र पूर्वपदाधिकारीसमेत छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित भए । जबकि काँग्रेसको क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा उनकै हात रहन्छ ।

काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । दुवै संस्थापन समूहका हुन् ।

नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बोहरा कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए । यस्तै, पूर्वसांसद बलदेव बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

यस्तै, चितवनका काँग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । उनी देउवा समूहका नेताका रूपमा परिचित छन् ।

सुर्खेत काँग्रेसका सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पराजित भएका छन् ।

यस्तै, नेविसंघका बहालवाला र पूर्व महामन्त्रीसमेत पराजित भएका छन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यस्तै, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना वडा कमिटीमै हारेका छन् ।

७. विश्वका वायुप्रदूषित शहर सूचीको चौथो स्थानमा काठमाडौं

नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ ।
भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै कलकत्ताको एक्यूआई १६३ छ ।
बंगलादेशको राजधानी ढाका अति वायु प्रदूषित सूचीको चौथो स्थानमा छ । यतिखेर ढाकाको एक्यूआई १५७ छ । अमेरिकी मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ र २०१ देखि ३०० सम्मको एक्यूआई मात्रा हुँदा वातावरण अति अस्वस्थ हुन्छ ।

८. एमाले महाधिवेशनको सुरक्षामा एआईजी थापालाई खटाउने निर्णय

नेकपा एमालेको दशौं महाधिवेशनको सुरक्षामा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को नेतृत्वमा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी सहकुल थापालाई महाधिवेशनको सुरक्षामा खटाउने निर्णय गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए ।

एमालेको दशौं महाधिवेशन मंसिर १० मा शुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि खटिनेछन् । सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

एआईजी सहकुल थापाले मंसिर ९ बाट चितवनमै बसेर महाधिवेशन सुरक्षाको कमाण्ड गर्ने बताइएको छ ।

९. पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि…

भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात घन्टापछि हातखुट्टा चलाउन थालेका हुन् ।

रिपोर्टअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीकेश कुमारलाई बिहीबार राती अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पताल पु¥याएको केही बेरमा मृत घोषणा गरिएको थियो । भोलिपल्ट उनलाई अस्पतालको शवगृहमा रहेको एउटा फ्रिजमा राखिएको थियो ।

सात घन्टापछि शवको पोस्टमार्टम गर्ने विषयमा पीडित परिवारले एउटा कागजमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर फर्किने क्रममा कुमारकी बुहारी मधु बालाले उनको शरीर चलमलाएको देखेकी थिइन् ।

सो घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा बालाले शब देखाउँदै चिच्चाएको सुन्न सकिन्छ । ‘उहाँको मृत्यु भएको छैन् । यो कसरी भयो रु उहाँले केही भन्न खोजिरहनु भएको छ । उहाँले सास फेरिरहनु भएको छ ।,’ कुमारकी बुहारीले भनेकी छिन् ।

मोरादाबादका प्रमुख मेडिकल अधिकृत डा। शिव सिंहका अनुसार चिकित्सकले विरामीलाई भोलिपल्ट बिहान ३ बजे पनि परीक्षण गरेका थिए । त्यतिबेला बिरामीको मुटु चलेको थिएन ।

तर, उज्यालो भएपछि प्रहरीको एउटा समूह र परिवारका सदस्यहरुले उनलाई जीवितै पाएका थिए । सो घटनाबारे अनुसन्धान सुरु भएको छ । सो घटना मेडिकल जगतमै ‘दुर्लभ’ भएको डा। सिंह बताउँछन् ।

४० वर्षीय कुमारको अहिले मेरुटस्थित एउटा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, होस भने खुलेको छैन् । लापरबाही गरेको भन्दै पीडित परिवारले अस्पतालविरुद्ध उजुरी गर्ने भएको छ ।