एमाले महाधिवेशनः नारायणगढ–बुटवल सडकमा ठूला मालबाहक गाडी सञ्चालनमा रोक, एमालेको झण्डा अब बाँदरको हातमा पुग्छः अध्यक्ष नेपाल

१. एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना
मंसिर ९, चितवन ।।
एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गरेका छन् ।

महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव समुद्र उर्लिने दाबी गरे ।

तयारीबारे यसो भन्छन् भट्टराई

उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन्। यो भनेको सभामा ५ लाख जनाको सहभागिता हो ।

नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कन्छ ।

चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ ।

बन्दसत्रको हल तयार भयो ।

महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ।

नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् ।

चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ ।

उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।

भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित ९१०६ जना० गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।

महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् ।

एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् ।

महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ ।

१० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।

शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।

मंसिर ११ गते बिहान ८।३० बजेबाट बन्दसत्र सुरू हुन्छ ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली, दलका नेताहरु र विदेशी पाहुनाहरुले सम्बोधन गर्छन् ।

११ मंसिर साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय छ ।

सोही दिन साँझ ६।३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

२. महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् ।

बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसद्मा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवन आउने नआउने निश्चित भइसकेको छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्तो गरेको छैन ।

३. पाँच घण्टापछि खुल्यो पूर्व पश्चिम राजमार्ग

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले गरेको सडक अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गरेको छ।

ट्रकको ठक्करबाट मृत्यु भएकी टिकापुर नगरपालिका–२ की ४० वर्षीया महिलाको शव टिकापुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

‘पाँच घण्टासम्म सडक अवरुद्ध बनेपछि यात्रुको समस्यालाई मध्यनजर गर्दै बल पूर्वक सडक सुचारु गराइएको छ,’ प्रहरी प्रमुख अधिकारीले भने,‘महिलाको शव टीकापुर अस्पतालमा राखिएको छ, भोलि थप छलफल हुनेछ।’

बिहीबार दिउँसो १२ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की सडक खण्डमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै आक्रोशित स्थानीयले १२ बजे देखि नै पूर्व(पश्चिम राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका थिए। आन्दोलित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनीसमेत गरेका छन्।

४. ओली जहाजमा, रावल सडकमा

नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावल चितवन आइपुगेका छन्। १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन्।

रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन्।

वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए।

ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन्।

भीम रावललाई योगेश भट्टराईले गरे स्वागत

नेकपा एमालेका उपाध्यक्ष डा। भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा पुगेकोमा उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन्।

रावल स्थलमार्गबाट महाधिवेशन स्थल पुगेका थिए। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट जहाजबाट उडेर चितवन पुग्दा रावल स्थल मार्ग हुँदै चितवन पुगेका हुन्।

५. नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

नेपाललाई संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले दिएको जानकारीअनुसार नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले बुधवार अनुमोदन गरेको हो । उक्त अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
राईले अगाडि भने, “नेपाल सरकारले स्तरोन्नतिसम्बन्धी रणनीति तर्जुमा समेत गरिसकेको छ, अब पाँच वर्षभित्र अर्थतन्त्रको संरचना तयार पारेर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उँचो बनाउने अवसर हो ।”

नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

राष्ट्रसंघले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरुको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । पचास वर्षपछि नेपालले विश्व मानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्वपूर्ण अवसर हो ।

६. जनगणना आजदेखि औपचारिक रूपमा सकियो, छुटेकाले ११७८ मा फोन गर्न सक्ने

गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना आज बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ ।

आजसम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने भोलि शुक्रवार पनि गणना गरिने तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । तर भोलि गणना भए पनि आजसम्मकै तथ्याङ्कलाई आधार मानिने उहाँको भनाइ छ ।

भोलि गणना गर्दा भोलि नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि आजसम्मकै तथ्याङ्क लिइने उहाँले बताउनुभयो । भोलिसम्ममा सबै गनेर सकिने उहाँले दाबी गर्नुभयो ।

विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । गएको २५ गतेदेखि गणकहरू नागरिकका घरदैलामा पुगिरहेका छन् । जनगणनाका लागि देशभर आठ हजार पाँच सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक गणकले एउटा परिवारसँग २० मिनेटमा प्रश्नावली सोध्ने गरी औसत समयसमेत तय गरिएको थियो ।

तथ्याङ्क विभागले गणना औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन् ।

७. जहाँ भिड हुन्छ, त्यहाँ कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्नुहोस् स् मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जहाँ भिड हुन्छ त्यहाँ कोरोनाविरुद्धको खोप सेवा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । स्वास्थ्यमन्त्री खतिवडाले आज बिहीवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग खोप सहजीकरणबारे छलफल गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले प्रमुख जिल्ला अधिकारीहरूलाई कोरोनाविरुद्धको खोप गाउँ तहसम्म पुर्‍याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट वारअनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकाले त्यो ठाउँमा गएर पनि खोप डेस्क सञ्चालन गरी नागरिक समक्ष खोप पुर्‍याउन आग्रह गर्नुभयो । मन्त्री खतिवडाले गाउँरगाउँका नागरिकलाई खोप लगाउन आउँदो चुनावमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गइ खोप लगाउन सरकारले आह्वान पनि गरेको छ ।

अहिलेसम्म कुल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । सरकारले आउँदो पुसभित्र दुई तिहाइ र चैतसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।
८. एमाले महाधिवेशनः नारायणगढ–बुटवल सडकमा ठूला मालबाहक गाडी सञ्चालनमा रोक

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै नारायणगढ–बुटवल सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ । दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको हो ।

निर्माणाधीन यो सडक अहिले खाल्डाखुल्डी बेहाल छ । दाउन्नेमा हुने जामलाई मध्यनजर गर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बुधवार अबेर नवलपुरमा सम्पन्न बैठकले बिहीवार साँझ ६ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।

दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । साँघुरो र उकालोरओरालो सडक रहेको दाउन्नेमा मालबाहक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको संख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ताहरु महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव भूमिश्वर ढकालले जानकारी दिए ।

बुटवल हुँदै काठमाडौं जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने। अन्य निजी गाडीहरुलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको उनले जानकारी दिए ।

९. एमालेको झण्डा अब बाँदरको हातमा पुग्छः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन्।

समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा अहिले अवस्थामा कुनै पार्टीसँग एकता नहुने बताएका हुन्।

अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेकाले देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए। अध्यक्ष नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन्।

एमालेको महाधिवेशनमा गैँडाले एमालेको झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने,‘एमालेको झण्डा अहिले जनवारले उचालेको छ। केही समयपछि बाँदरको हातमा पुग्छ।’

नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १०औं महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताए। ‘नजाने गाउँको बाटो नसोध्नु,’ उनले भने,‘एमाले एउटा प्राइभेट कम्पनी हो। त्यससँग कुनै पनि हालतमा एकता हुन्न।’

अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको अध्यक्ष नेपालले बताए।