आचारसंहिता उल्लघंन गर्दै ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन नाराबाजी, एक मत आए पनि चुनाव लड्छु: भीम रावल

मंसिर ११, चितवन ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहमा नाराबाजी गरिएको छ । १०औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि २०–२५ जनाको समूहले होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो ।

अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन् । उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहिता अनुसार कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ ।

एक मत आए पनि चुनाव लड्छु: भीम रावल

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । 

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्द सत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । 

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास स्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारिबाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।