चितवन, मंसिर ११ –

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेका छन् ।

नेम्वाङले वरिष्ठ उपाध्यक्षको दाबी छाडेको खण्डमा आगामी निर्वाचनपछि राष्ट्रपति बनाउने आश्वास ओलीले दिएका छन् । नेम्वाङ निकट नेताहरुका अनुसार एमालेलाई राष्ट्रपति बन्ने अवसर आएमा अवसर दिने ओलीले आश्वासन दिएका छन् ।

ओलीले महासचिव ईश्वर पोखरेलका लागि उक्त पद छाडिदिन आग्रह गरेका नेम्वाङ निकट नेताहरुले बताएका छन् ।

‘ईश्वर पोखरेल दुई–दुईपटक महासचिव भइसक्नुभयो। उहाँको व्यवस्थापन गर्न अन्य पद छैन । त्यसैल वरिष्ठ उपाध्यक्ष उहाँलाई नै बन्न दिनुस्’ ओलीले नेम्वाङलाई गरेको आग्रहबारे जानकारी पाएका ती नेताले भने ।

ओलीको आग्रहलाई नेम्वाङले भने अस्वीकार गरेका छन्। उनले प्रतिस्पर्धा भएको अवस्थामा पनि आफूले सोही पदमा प्रतिस्पर्धा गर्ने जवाफ फर्काएका थिए ।