काेराेना संक्रमण बढ्दैः एकदिनमा विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा संक्रमण पुष्टि, यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

मंसिर १२ – एकदिनमा विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही समय अवधिमा ३ लाख ६५ हजार ४५८ संक्रमित निको भएका छन् । यस्तै ५ हजार २९५ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ।

थपिने संक्रमितको संख्या प्रायजसो युरोपका मुलुकहरुमा धेरै छ। जर्मनीमा ४९ हजार ३११, अमेरिकामा ३९ हजार ५६७, फ्रान्समा ३७ हजार २१८, रुसमा ३३ हजार ९४६, पोल्याण्डमा २६ हजार १८२, नेदरल्याण्डमा २२ हजार ३१ र बेल्जियममा २१ हजार ७७२ जना थपिएका छन्।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ३९ हजार ४०९, रुसमा ३६ हजार ४९४, जर्मनीमा २७ हजार ८००, युक्रेनमा २२ हजार ९४६, पोल्याण्डमा २२ हजार ६३० र अस्ट्रियामा ११ हजार ६९७ जना छन्।

यस्तै एसियामा टर्कीमा २५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७५९ जना संक्रमित थपिएका छन्। मलेसियामा ५ हजार ९७ जना थपिँदा ५ हजार बढी निको भएका छन्।

मृत्यु हुनेमा पनि युरोपकै मुलुकहरुमा धेरै देखिएको छ। सबैभन्दा धेरै रुसमा एक हजार २३९, युक्रेनमा ५६८, पोल्याण्डमा ३७८, जर्मनीमा १७० र जर्मनीमा १३१ जना रहेका छन्।

यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ। यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो। 

अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ। डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ।

अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ।

दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन्।

ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ। यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ।

डब्लूएचओले शुक्रवार ओमिक्रोन नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सक्रमण बढेको जनाएको थियो।

वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन्।एजेन्सी