एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने, लालबाबु पण्डितले ओलीले दिएको केन्द्रीय सदस्य अस्वीकार गरे

१. अध्यक्षमा भोट माग्दै भीम रावल

मंसिर १३, चितवन ।। नेकपा एमालेको अध्यक्षका लागि भीम रावलले भोट माग्न थालेका छन् । अध्यक्ष पदका लागि केपी शर्मा ओली र रावल भिड्दै छन् । अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरिसकेका रावलले प्रतिनिधिहरुसँग भेटघाट गर्दै भोट माग्न थालेका हुन् ।

आलोचना र टिप्पणीको सम्मान गर्ने बताउँदै उनले आफ्नो उम्मेदवारीबाट फिर्ता नहुने बताए । ओलीले सर्वसम्मतीका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटी र पदाधिकारीको सुची प्रस्ताव गरेपछि असन्तुष्टि जनाउँदै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन् । मतदानको लागि आज साँझ ९ देखि भोलि बिहान १ बजेसम्मको लागि समय तोकिएको छ ।

२. एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि तयारी अवस्थामा छ’, सुब्बाले सञ्चारकर्मीसँग भने ।

अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीमा नअटाएकामध्ये अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि एमाले आन्तरिक प्रतिस्पर्धामा होम्मिएको हो ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेको पाँच जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध हुने लगभग सुनिश्चित भए पनि त्यसबाहेक १४ पदाधिकारीका लागि निर्वाचन हुने निश्चित देखिएको छ ।

ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेको नामप्रति असहमति जनाउँदै ओलीको सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा प्रतिस्पर्धा हुने भएको हो ।

यसैगरी, सचिवमा ओलीले प्रस्ताव गरेका नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सो पदमा पनि प्रतिस्पर्धा हुने भएको हो ।

निवर्तमान अध्यक्ष ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिक, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पदमा अर्याललाई प्रस्ताव गरेका थिए । तर, ओलीको प्रस्तावलाई आचार्य र कार्कीले चुनौती दिए पछि सचिव पदमा प्रतिस्पर्धा हुन लागेको हो ।

३. मङ्सिर १९ गतेदेखि बाघ गणना

नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ ।

देशभरका पाँच निकुञ्जमा बाघ छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ ।
वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा गणनाको शुभारम्भ गरिने आचार्यले जानकारी दिए । झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । उनको भनाइमा पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई/दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उनको भनाइ छ ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए ।

यो सङ्ख्या बढेको अनुमान छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिवद्धता पूरा हुनेमा संरक्षणविद् विश्वस्त रहेका छन् । नेपालमा हरेक चाररपाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

४. आर्मी र मच्छिन्द्रले बराबरी खेले

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज सोमवारको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लक र उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

आजको बराबरीसँगै मच्छिन्द्रको दुई खेलमा चार अङ्क भएको छ भने आर्मीको दुई खेलमा दुई अङ्क रहेको छ ।

यसअघि आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेलेका छन् ।

५. एमाले महाधिवेशन : राति ९ बजेदेखि मतदान हुने

चितवनमा भइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज सोमवार राति ९ बजेदेखि मतदान हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म गरिने भएको हो ।

त्यस्तै मतदान सम्पन्न भएपछि १४ गते नै मतगणना गरिने, त्यही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम गर्ने निर्वाचन आयोगले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक चरणको उम्मेदवारको सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको हो । पदाधिकारी अन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ । एक जना अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षका लागि सात जना र सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको परेको छ ।

खुला ८४ जना केन्द्रीय सदस्यमा ८५ जनाको उम्मेदवारी परेको छ । खुला (महिला) तर्फ पनि ५३ जनाका लागि ५४ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएको छ ।सुदुरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएको हो ।

प्रदेश १ को खुला सदस्यका लागि ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वाग्मती प्रदेशमा ६ सदस्यका लागि आठ जना, कर्णाली प्रदेशमा ६ सदस्यका लागि सात जना र सुदूरपश्चिम प्रदेशमा ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

आदिवासी जनजातिको खुलातर्फ १७ सदस्यका लागि १९ र महिलातर्फ आठ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । मधेशीको खुलातर्फ १३ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । दलितको खुलातर्फ आठ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । थारुको खुलातर्फ पाँच सदस्यका लागि ६ जनाको र महिलातर्फ दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलामा चार जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्रअन्तर्गत खुलातर्फ तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

६. राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
उनी नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्यसमेत हुन् ।

खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका लागि दरखास्त माग गरेको थियो ।

७. लालबाबु पण्डितले ओलीले दिएको केन्द्रीय सदस्य अस्वीकार गरे

नेकपा एमालेका सांसद एंव पूर्वमन्त्री लालबाबुल पण्डितले एमालेका कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन्।

सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पद अस्वीकार गरेका हुन्।

पण्डितले लेखेका छन्: आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।

उनले आफू पदाधिकारीको दाबेदार भए पनि ओलीले केन्द्रीय कमिटीमा मात्रै राखेकाले असन्तुष्टि जनाएका हुन्।

‘मेरो दाबी पदाधिकारीमा थियो। तर मलाई केन्द्रीय सदस्यमा राखियो। मैले बागी उम्मेदवारी दिइनँ। अब म एमालेको केन्द्रीय सदस्य हुन्न, संगठित सदस्यमात्र बस्छु,’ पण्डितले भने।

पण्डित एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए। त्यतिबेला उनी माधवकुमार नेपाल प्यानलबाट उम्मेदवार बनेका थिए।

२०७४ को निर्वाचनमा मोरङ(६) कांग्रेस नेता शेखर कोइरालालाई हराएर पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्री बनेका थिए।

नेकपामा विवाद हुँदा उनी लामो समयसम्म तटस्थ बसेका थिए भने पछिल्लो समय माधव नेपाल सँगै नगएर एमालेमै बसेका थिए।

ओलीले आइतबार राति सर्वसम्मतिका लागि ३०१ जना केन्द्रीय सदस्यको नाम पेस गरेका थिए। त्यो सूचीमा परेर पनि पद अस्वीकार गर्ने पण्डित पहिलो व्यक्ति हुन्।

८. लिङदेनले युवा र उमेरको कुरा गर्ने भए टुँडिखेलमा दौडिऔँ, हारेँ भने अध्यक्षको उम्मेदवारी छोड्छु : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आगामी निर्वाचनपछि मात्र पार्टी नेतृत्वबाट विश्राम लिने बताएका छन् । सोमबार काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘केही काम अधुरा छन् । यी कामलाई छोडेर पलायन हुने मलाई अधिकार छैन । मैले कति बेला विश्राम लिनुपर्छ थाहा छ । पार्टीलाई आगामी निर्वाचनपछि एउटा अग्रणी शक्तिका रूपमा स्थापित गरेपछि, चाँडो भन्दा चाँडो राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने आधार भएपछि स्वाभाविक रूपले मैले विश्राम लिनुपर्छ ।’

अहिलेको अवस्थाभन्दा पार्टीलाई माथि उठाएर नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘अहिले केही साथीमा उत्साह देखिएको छ । जोस देखिएको छ । अब हामी नेतृत्व लिन्छौँ भन्ने चाहना देखिएको छ । त्यसलाई म स्वागत गर्छु,’ थापाले भने । केही दिनअघि राप्रपा नेता राजेन्द्र लिङदेनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । थापाले लिङदेनलाई चार वर्ष धैर्य गरिदिन आग्रह गरे । थापाले भने, ‘अहिले पार्टीका अवस्था निकै कमजोर छ । तल जाने ठाउँ छैन । तपाईंहरु चार वर्ष धैर्य गर्नुस् त त्यहाँभन्दा तल जाने ठाउँ नै छैन नि । योभन्दा अलि माथि गएपछि तपाईंलाई जिम्मा लगौँला । अलिकति दुस्ख गर्ने काम हामीलाई छाडिदिनुस् ।’

तीन अध्यक्ष मङ्सिर १७ गतेपछि एक अध्यक्ष भएर अगाडि बढ्ने उनको भनाइ थियो । साथै लिङदेनले युवा पुस्ता र पुरानो पुस्ता भनेर पार्टीमा विभाजन ल्याउन खोजेको थापाको आरोप छ । ‘आज युवा युवा, नयाँ पुस्ता भनेको सुन्छु । म हुन पुस्ता हो मलाई थाहा छैन । नयाँ पुस्ताका साथीहरूलाई पुस्ताका नामा विभाजनको रेखा नल्याउनुस्,’ थापाले भने । पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर आफूलाई जित्न लिङदेनलाई चुनौती दिए । ‘पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा गरेर दौडऔँ । यदि टुँडिखेलमा दौडँदा मलाई जित्नुभयो भने म अध्यक्षको पदमा उठ्दिनँ,’ थापाले भने ।

९. नेपाली कांग्रेसको ५२ जिल्लामा अधिवेशन हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेल बराबर

नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । अब २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ।

सर्वसम्मत नभएका जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच कडा प्रतिस्पर्धा भएको छ ।

५२ जिल्लामा अधिवेशन हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेल बराबर देखिएका छन् । सिटौला पक्षबाट भने झापामा एक सभापतिले जितेका छन् ।

देउवा र पौडेल पक्षले २५/२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन् ।

सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आरआफ्ना पक्षधरले जितेको दाबीसमेत गर्ने गरेका छन् ।

मोरङमा भने दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ ।