पार्टीलाई विधि, सिद्धान्तअनुसार हिँडाउन अन्तिमसम्म प्रयास गरेँ: भीम रावल, आगामी जेठ ५ मा स्थानीय तहका सबै पदाधिकारीको पद रिक्त हुँदै

१. अत्यावश्यक कामबाहेक विदेश नजानू : स्वास्थ्य मन्त्रालय
१५ मंसिर, काठमाडौं ।। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म यो भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो ।

नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ, उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।

उहाँका अनुसार यो भेरियन्टले बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्नरगराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (बी।१।१।५२९) साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।

२. ‘पार्टीमा फुट आउन नदिन त्याग गर्न पनि तयार छौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

अध्यक्ष त्रय थापा, राणा र लोहनीले पार्टीको वृहत्तर हितका लागि आफूहरू त्याग गर्न पनि तयार रहेको बताउनुभयो । आज बुधवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रियालाई मानेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘यथासम्भव सर्वसम्मतिको आधारमा नेतृत्व चयन गर्ने हामीले प्रयास गर्नुपर्दछ । सहमतिबाट हामीले नेतृत्व छनोट गर्न सकेनौँ भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आउँदा दिनमा एकताबद्ध ढङ्गबाट अघि बढाउने प्रतिज्ञा तपाईँरहामी सबैले गर्नुपर्दछ ।’

अर्का अध्यक्ष राणाले पार्टी एकतामा खतरा उत्पन्न हुन नदिन आफूले अध्यक्षमा दाबी नगर्ने निर्णय लिएको बताउनुभयो । उहाँले अध्यक्षमा आफू विजय हुने भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने कुरालाई आफूले प्राथमिकता दिएको बताउनुभयो ।

अध्यक्ष राणाले भन्नुभयो, ‘मैले अहिलेको अवस्थामा पार्टीको वृहत्तर हित र एकताका लागि आफ्नो दाबी छोड्नुपर्छ भन्ने टुङ्गोमा पुगेँ । त्यो टुङ्गोमा पुग्दा धेरै साथीले अत्यन्त चित्त दुखाए । तर मैले आफू विजयी हुने भन्दा पनि पार्टीलाई एकताबद्ध राखेर अघि बढ्नुपर्ने अवस्थालाई प्राथमिकता दिएर अध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हुँ ।’

पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले नयाँ नेतृत्वको चयन गर्नुपर्ने प्रस्ताव अघि सारेको अध्यक्ष डा। लोहनीले बताउनुभयो । डा लोहनीले अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा यसअघि नै गरिसक्नुभएको छ । पार्टीमा नयाँ युगको सुरुवात महाधिवेशनले गर्ने भन्दै लोहनीले पार्टी फुट्ला कि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरूले पार्टी फुट्ला कि भन्ने चिन्ता नगर्नुस्, पार्टीमा फुट हुँदैन । अब पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन । त्यही काममा हामी लाग्नेछौँ । नेतालाई सम्मान, कार्यकर्तालाई माया गरेर मात्रै पार्टीले देशलाई निकास दिन सक्नेछ ।’

अध्यक्ष लोहनीले राष्ट्रको हित र नेपालका धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि आफ्नो पार्टीको विकल्प नरहेको दाबीसमेत गर्नुभयो ।

३. पार्टीलाई विधि, सिद्धान्तअनुसार हिँडाउन अन्तिमसम्म प्रयास गरेँ: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

रावलले चितवनमा भएको एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका थिए।

उनले बुधबार ट्वीट गर्दै आफूले १० औं महाधिवेशनमा अध्यक्ष पदमा दिएको उम्मेदवारीबारे बताएका हुन्।

ुएमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ, ‍उनले उल्लेख गरेका छन्।

उनले आफूलाई सहयोग गर्नेहरूलाई धन्यबादसमेत दिएका छन्।

४. आगामी जेठ ५ मा स्थानीय तहका सबै पदाधिकारीको पद रिक्त हुँदै

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधवार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तक्र्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन् ।
७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको पनि प्रमुख आयुक्त थपलियाले बताए ।
अर्को प्रशंगमा माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगबाट तयारी भइरहेको तथा उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेकाले सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि थपलियाको भनाइ थियो । त्यस्तै आगामी जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरूको पद रिक्त हुने भएकोले त्यस अगावै स्थानीय तहको निर्वाचन गराउन आयोगबाट आवश्यक तयारी प्रारम्भ भएको पनि बताइयो ।

५. कोरोना अपडेट : देशभर थप ३१६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५९ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनामा कोरोना परीक्षण भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५२९ जना रहेका छन् । त्यसमध्ये हालसम्म ८ लाख ३१ हजार ६८ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५२९ जना रहेको छ ।

६. सर्वोच्चमा कामु प्रधानन्यायाधीशबारे अन्योल– प्रक्रिया बुझ्ने जिम्मा न्यायाधीश कार्की र मुख्य रजिस्ट्रारलाई

सर्वोच्च अदालतको इतिहासमै पहिलोपटक गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियाको शुरूआत भए पनि बुधवार सुनुवाइ भने प्रभावित बन्यो ।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले कामु प्रधानन्यायाधीश नतोकिँदासम्म इजलासमा नबस्न आग्रह गरेपछि न्यायाधीशहरू इजलास छाडेर छलफलमा जुटेका थिए ।
न्यायाधीशहरूको बैठकले कामु तोक्ने विकल्पबारे विधि र प्रक्रिया बुझेर भोलि निर्णय लिने निष्कर्ष निकालेको छ ।

कामु प्रधानन्यायाधीश नतोकिँदासम्म बेञ्च बस्नुभएन भनेर वकिलहरू आए, त्यसपछि हामी छलफलमा जुटेका थियौं, एक न्यायाधीशले लोकान्तरसँग भने, कामु दिने कुरा फुलकोर्टले निर्णय गर्ने विषय त होइन । यो दिने (प्रधानन्यायाधीश) र लिने (वरिष्ठतम् न्यायाधीश) बीचको कुरा हो । लिने र दिनेबीच संवाद नभएको अवस्थामा कामु तोक्ने कानूनी प्रावधान तथा विधि र प्रक्रिया के छ, त्यो बुझेर आउन दीपक श्रीमान् (वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की) र मुख्य रजिस्ट्रारलाई जिम्मा दिइएको छ ।

७. राप्रपाको एकता महाधिवेशनलाई (एमाले अधिवेशनको शुभकामना दिन चितवन पुगे थापा), शुभकामना भन्न भृकुटीमण्डप पुगेनन् ओली

राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशन उद्घाटन स्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् ।

चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा उपस्थित भएर राप्रपा अध्यक्ष थापाले बधाई मात्र दिएनन्, ओलीलाई राष्ट्रवादी नेताको उपमा पनि दिए ।

तर एमाले महाधिवेशन सकिएको एक दिनपछि सुरु भएको राप्रपाको एकता महाधिवेशनमा भने ओली देखिएनन् । उनले शुभकामनाका लागि पार्टीबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाए ।

ओली अनुपस्थित भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने शुभकामना दिन राप्रपा महाधिवेशन उद्घाटन स्थल पुगेका छन् ।

प्रचण्ड एमाले महाधिवेशनमा शुभकामना दिन पुगेका थिएनन् भने नेपाललाई एमालेले निम्तो नै गरेको थिएन ।

एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता पनि राप्रपा महाधिवेशनमा शुभकामना दिन उपस्थित भएनन् ।

८. जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । 

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । 

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
निशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।

९. मालपोत अधिकृत र भरतपुर महानगरका अमिन घुससहित पक्राउ
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा ‍पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका वडा नम्बर २० वडा कार्यालयका अमिन वीरेन्द्रबहादुर कठायतलाई अख्तियारले पक्राउ गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
सहायक प्रवक्ता भण्डारीका अनुसार कठायतलाई एक लाख ५० हजार नगद र तीन लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो।

अंशबण्डा गरी बाटो कायम गर्न जग्गा कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भन्दै कठायतले सेवाग्राहीसँग पाँच लाख घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।

सूचनापछि काठमाडौंको टंगालबाट खटिएको टोलीले भरतपुर(४ धर्मचोक लंकुबाट उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको सहायक प्रवक्ता भण्डारीले बताए।

त्यस्तै, मालपोत कार्यालय चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेललाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ।

उनले पनि अंशबण्डा गरी बाटो कायम गरी जग्गा कित्ताकाट गर्दा प्रमाणपत्र बनाइदिएको बापत ५० हजार रुपैयाँ घुस मागेको आरोप छ। उनलाई अख्तियारले ५० हजार घुससहित क्वाटरबाट नियन्त्रणमा लिएको हो।

अख्तियारले उनीहरूविरूद्ध थप अनुसन्धान अघि बढाएको छ।