हलमा सुपर फ्लप भएका नेपाली फिल्म युट्युबमा ब्लकबस्टर

काठमाडौं । दुई दिनदेखि चलचित्र ‘हजार जुनीसम्म’ले नेपालमा युट्युब ट्रेण्डिङको पहिलो स्थान ओगटेको छ । चलचित्रलाई हरेक दिन १० लाख दर्शकले हेरेका छन् । यसको अर्थ युट्युबमा यो चलचित्र ब्लकबस्टर भइसक्यो ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय छ ।

युट्युबमा दर्शकको उच्च साथ पाएको यो चलचित्र हलमा भने सुपर फ्लप भएको थियो । निर्माताले गरेको लगानीको ठूलो हिस्सामध्ये केही प्रतिशत रकम मात्र यो चलचित्रले उठायो । हलमा दर्शक नै नपाएको चलचित्रले युट्युबमा भने दुई दिनमै २१ लाखभन्दा बढी दर्शक पाएको छ । चलचित्रबाट निर्माताले नकमाए पनि यसको डिजिटल अधिकार खरिद गरेको ओएसआएर डिजिटलले राम्रै आम्दानी गर्ने देखिन्छ ।

हुन त, सबै नेपाली चलचित्र युट्युबमा मात्र हिट हुन्छन् भन्ने होइन । वर्षमा रिलिज हुने आधा दर्जन चलचित्रले हलबाट पनि राम्रो रकम कमाएका छन् । ती चलचित्रलाई युट्युबमा पनि दर्शकले निक्कै रुचाएका छन् ।

यो महिना नै रिलिज भएका ‘लम्फू र यात्रा’ले पनि युट्युबमा दर्शकको राम्रो साथ पाए । यी दुवै चलचित्रबाट निर्माता डुबेका थिए । तर, यी चलचित्रलाई युट्युबमा भने दर्शकले रुचाएको पाइयो ।

नेपाली चलचित्रका निर्माताले चलचित्र निर्माण गर्दा नै यसको डिजिटल राइट्स बेच्छन् र केही रकम आर्जन गर्छन् । कतिपय निर्माताले त त्यही रकमबाट चलचित्र बनाउन शुरु गर्छन् । त्यसैले दर्शकको मनोविज्ञानमा पनि युट्युबमा नेपाली चलचित्र रिलिज भइहाल्छ भन्ने परेको छ । अर्कोतिर नेपाल बाहिर रहेर नेपाली चलचित्र हलमा हेर्न नपाएका दर्शकले पनि युट्युबमै चलचित्रको प्रतीक्षा गर्ने गरेका छन् ।

यसैले पनि जुन चलचित्र रिलिज भएपनि युट्युबमा दर्शकको साथ मिल्ने गरेको चलचित्रकर्मीको बुझाइ छ ।

अनलाइनखबरबाट………………………………