धुर्मुस-सुन्तलीको १३ औं विवाह वर्षगाँठमा ‘मायाले जीवन सजाऊ’ सार्वजनिक

काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १३ औैं विवाह वर्षगाँठको अवसर पारेर ‘मायाले जीवन सजाऊ’ गीत सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोमा धुर्मुस र सुन्तली रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरुले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक अर्कामाथिको विश्वासको कथा भनिएको छ ।

गीतमा कुमार कट्टेल र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा बन्देप्रसादको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

गीतमा मायाले जीवन सजाउन धुर्मुस र सुन्तलीले एकअर्कालाई आग्रह गरेका छन् । नेपाली कलाकारिता क्षेत्रमा लागेपछि धुर्मुस र सुन्तली एकअर्काको प्रेममा परेका थिए । प्रेममा परेको केही वर्षपछि उनीहरुले विवाह गरेका थिए ।

पछिल्लो समय यो जोडी कलाकारिताभन्दा पनि सामाजिक सेवामा सक्रिय छ ।