राप्रपाको एकता महाधिवेशनमा विक्रम पाण्डे तानातानमा, भारत आइपुग्यो ओमिक्रोन भेरियन्ट, भेटिए दुई जना संक्रमित

१. राप्रपा महामन्त्रीमा कुन्ती शाही र रेखा थापा भिड्ने
१६ मंसिर, काठमाडौं ।।
राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन हुन नसक्दा निर्वाचनका कार्यक्रम अगाडि बढेको भने छैन।

आज बेलुकीसम्म मतदाता नामावली सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ, तर अझै ६ जिल्लाका महाधिवेशन प्रतिनिधिबीचका विवाद सुल्झाउन बाँकी छ।

भृकुटीमण्डपमा बिहीबार दिउँसो भने अध्यक्षका दुई उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देन पक्षले मत माग्दै प्रचारप्रसार गरिरहेका छन्।
अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा थापा र लिङ्देन पक्षले प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन्।

विभिन्न पदका आकांक्षीहरू खुल्न थालेका छन्। यसैक्रममा थापा पक्षबाट महामन्त्री पदमा नेता कुन्ती शाहीले उम्मेदवारी दिने भएकी छन्। उनले प्रचारप्रसार अघि बढाएकी छन् भने भोट माग्न थालेकी छन्।

साथै लिङ्देन पक्षबाट महामन्त्री पदमा नायिकासमेत रहेकी नेता रेखा थापाले पनि उम्मेदवारी दिने भएकी छन्। राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ। महिला महामन्त्री पदमा कुन्ती र रेखा आमनेसामने हुने भएका छन्।

अध्यक्ष थापा पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, जयन्त चन्द, रोशन कार्कीलगायत चर्चामा छन्। राप्रपामा एक महिलासहित तीन जना उपाध्यक्ष रहने व्यवस्था छ।

लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सीना उपाध्यक्षमा आकांक्षी छन्। महामन्त्री पदमा थापा पक्षबाट भाष्कर भद्रा, कुन्ती शाही र भुवन पाठकको चर्चा छ।

साथै महामन्त्री पदमा लिङ्देन पक्षबाट गोविन्द खनिया, धवलशम्शेर राणा र रेखा थापा आकांक्षी छन्।

२. भारत आइपुग्यो ओमिक्रोन भेरियन्ट, भेटिए दुई जना संक्रमित

छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।

इन्डियन एक्प्रेसका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ।
६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको काम भइरहेको छ।
ओमिक्रोन भेरियन्ट गत दिनअघि दक्षिण अफ्रिकामा फेला परेको हो। दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन्। युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिकसहित विभिन्न मुलुकमा यो भेरियन्टका संक्रमित भेटिएका छन्।

द इकोनोमिस्टका अनुसार ओमिक्रोन भेरियन्टले दुइटा त्रास सिर्जना गरेको छ।

पहिलो, यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसको संक्रमणको गति कति हो भन्नेबारे विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ। सुरूमा भारतमा देखिएको डेल्टा भेरियन्ट त्यसअघिका अरू भेरियन्टभन्दा निकै संक्रामक थियो। देखिएको केही दिनमै यो संसारभरि फैलिएको थियो। अहिले भेटिने अधिकांश संक्रमितमा डेल्टा भेरियन्ट हुन्छ।

डेल्टाभन्दा ओमिक्रोन झन् संक्रामक भए यसले फेरि विश्वभरि एकैसाथ संक्रमण बढाउन सक्ने देखिएको छ। डेल्टा भेरियन्ट पत्ता लाग्दासम्म यो संसारभरि फैलिइसकेको थियो। ओमिक्रोन भने सुरूमै पत्ता लागेको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले विश्वास गरेका छन्।

दोस्रो, अहिले प्रयोगमा आइरहेका कोरोनाविरूद्धका भ्याक्सिनहरूले ओमिक्रोन भेरियन्टविरूद्ध प्रभावकारी ढंगले काम गर्न सक्दैनन् कि भन्ने डर छ। ओमिक्रोनविरूद्ध अहिलेका भ्याक्सिनहरूले कति काम गर्न सक्छन् भन्ने विस्तृत अध्ययन हुन बाँकी छ। भ्याक्सिन निर्माता कम्पनी फाइजर र बायोएन्डटेकले ६ साताभित्र नयाँ भेरियन्टविरूद्धको प्रभावकारी खोप बनाउन सक्ने र एक सयदिनभित्र पहिलोमात्र डेलिभरी गर्न सक्ने बताएको छ।

त्रासका बीचमा अहिले विभिन्न मुलुकले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट हुने उडान बन्द गरेका छन्। अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका मुलुकले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अंगोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन्। भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको राम्ररी परीक्षण गर्न निर्देशन दिएको छ।

यसअघि बुधबार संयुक्त राज्य अमेरिकामा उक्त भेरियन्टका संक्रमित भेटिएका थिए।

अहिले संसारभरि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको चर्चा भइरहेको छ। धेरै मुलुकले खोप लगाउन थालेको र यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएर जनजीवन सामान्य बन्न लागेका बेला भेटिएको ओमिक्रोनले विभिन्न मुलुकमा त्रास सिर्जना गरेको छ।

३. राष्ट्रपति भण्डारीद्वारा मङ्सिर २८ गतेका लागि संसद् बैठक आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले यही मङ्सिर २८ गते संसद् बैठकको अधिवेशन आह्वान गर्नुभएको छ ।

आज बिहीवारको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलवारको दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुभएको हो ।

४.२४ घण्टामा ३ सय १५ जनामा कोरोना पुष्टि, ६ सङ्क्रमितको ज्यान गयो

पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ७६ प्रतिशत अर्थात् तीन सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २१ हजार नौ सय ४९ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार पाँच सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप दुई सय एक जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख तीन हजार तीन सय ६९ पुगेको छ ।

यही अवधिमा ६ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ३५ पुगेको छ । नेपालमा अहिले सात हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच, २४ घण्टामा थप एक लाख ४१ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ५९ हजार दुई सय जनाले पूर्ण मात्रा र एक करोड एक लाख २७ हजार चार सय जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

५. माओवादीलाई बलियो बनाउनुको विकल्प छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको छ ।

आज बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको हो । उहाँले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताउनुभयो ।

अध्यक्ष दाहालले हिजो बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले नेपालमा परिवर्तनको रक्षाका लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनका लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्‍याउने, समाजवादको यात्रा सुरु गर्नका निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन । मानिसहरूलाई कहिलेकाहीँ भ्रम पर्छ, अरूले पनि गर्छन् कि भनेको जस्तो, जो हिजो गणतन्त्रकाविरुद्ध लागे ती अहिले पनि गणतन्त्रविरोधी नै छन्, जो हिजो सङ्घीयताको विरुद्ध लागे त्यो अहिले पनि सङ्घीयताका विरुद्धै छन्, महिलालाई धेरै अधिकार दिनु हुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् । दलितहरूलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् । यो सबै चिज माओवादी आन्दोलनकै परिणाम भएको हुनाले माओवादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धि बच्छन् पनि, तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ । माओवादी कमजोर भयो भने हामीले देख्यौँ नि कति छिटो, अलिकति माओवादी विभाजन भएको देख्दा, माओवादी सङ्गठन भएको कि भन्ने लागेपछि त संविधान नै मिच्ने, च्यात्नेसम्म भयो । जहाँ समावेशी, समानुपातिक छ त्यसलाई हटाउने, गणतन्त्रै उल्ट्याउन खोज्ने, हिजो मात्रै राप्रपाको अधिवेशनमा एउटा आफूलाई पुरानो कम्युनिस्ट भन्ने मान्छे त पूरै राजाको प्रशंसा गरेर राप्रपा मात्रै देशभक्त भनेकोजस्तो गरे, मैले उनलाई तिमी त राप्रपाको अध्यक्ष हुने तयारी गरेछौ भने, यस्ता पनि कम्युनिस्ट छन्, नाम कम्युनिस्ट छ, काम सामन्तीको जस्तो गर्छन् । त्यस कारण माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प नेपालमा छैन ।’

अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरूलाई कुकुरको पुच्छरसँग तुलना गर्नुभयो । उहाँले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताउनुभयो । उहाँले मधेशी नागरिक, दलित, जनजातिहरूको हकहितको कुरालाई लिएर आफूले संविधान संशाधनको प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संशोधन हुन नसकेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले नेकपा एमाले जनजाति, दलित, महिला, मुस्लिमहरूको हक अधिकार र पहिचानको विरोधी रहेको आरोपसमेत लगाउनुभयो ।

उहाँले देशभर अहिले झन्डै आठ लाख सदस्य नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो सङ्ख्या १० लाख पुग्ने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रलाई नागरिकले आफ्नो लागि काम गर्ने पार्टीका रूपमा हेरेको र पार्टीप्रति नागरिकको आत्मविश्वास बढ्दै गएको बताउनुभयो । अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेन्डा भनेको माओवादीकै एजेन्डा भएको बताउँदै केही समय काठमाण्डौ केन्द्रित भएर नेताहरूको काम गर्दा घाइते, अपाङ्ग र शहीदहरूप्रतिका एजेन्डा बिर्सिएर गल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गर्नुभयो । उहाँले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, नागरिक र उनीहरूको मुक्ति आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने कुरा नागरिक समक्ष प्रस्तुत गर्न नेता, कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । अध्यक्ष दाहालले देशमा नागरिक र कार्यकर्ता नबिग्रिएको बरु नेताहरू नै बिग्रिएको भन्दै नेताहरू सच्चिन्छौँ भनेपछि सबै कुरा लयमा आएको दाबी गर्नुभयो ।

६.भारतको दिल्ली राज्यका विद्यालय अनिश्चितकालका लागि बन्द

वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् ।

दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो । भारतको सर्वोच्च अदालत ९सुप्रिम कोर्ट० ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ ।

दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएकाले तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । सरकारले भोलिदेखि विद्यालय बन्द गरेरनगरेको अनुगमन गर्ने जनाएको छ ।

नोभेम्बरका ११ दिन दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब थियो । नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको तथ्याङ्कले देखाएको छ ।

७.शशांकले भने( कांग्रेस कसैसँग गठबन्धन गर्दैन), पौडेल भन्छन् (एकलकाटे हुनुहुँदैन)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्तित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला रु अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोहोरिँदै गयौँ भने गएकै चुनावको ठाउँमा पुगौँला,’ उनले भने, ‘गएको चुनावमा के भयो रु सबै एकातिर हामी अर्कोतिर । परिणाम के भयो रु अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौँ, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौँ । सितिमिति कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र रु यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आइसोलेसनमा पुर्‍याउने कुरा नगरौँ ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । काँग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिँड्नुपर्छ । र हामी विजय हासिल गर्छौँ । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।

८. एमाले फर्किएपछि सुनसान बन्यो सौराहा, महाधिवेशन सौराहाको पर्यटनको लागि कोसेढुंगा

 गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को दसौं महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो । महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसाान बनेको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताए । महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका व्यवसायी अहिले फुर्सदिला बनेका छन् । उनले भने, “सडकभरि भएका मानिसको चहलपहलले यहाँको राम्रो विज्ञापन गरेको छ ।” रकम तिरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापन गरेको भए अर्बौं खर्च हुने भन्दै उनले भने, “एमाले महाधिवेशन पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित भयो ।”

यहाँ आएका कतिपय नेता कार्यकर्ता पहिलोपटक आएकाले फेरि परिवार र साथीहरुसहित आउने वाचा गरेर फर्किएको खतिवडाले बताए । मंसिर ९ गतेबाट १५ गतेसम्म धेरैलाई भ्याइनभ्याइ थियो । त्यसो त मंसिर लागेसँगै महाधिवेशनको चहलपहल सुरु भइसकेको थियो । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले सबै फर्किएपछि सौराहा सुनसान बनेको बताए । उनले भने, “नसोचेको समयमा, कल्पनै नगरेको मानिस सौराहा आए ।” महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि, १०३ पर्यवेक्षक र केही पाहुना भए पनि १० हजार हाराहारी एमाले नेता कार्यकर्ता महाधिवेशन अवधिभर सौराहा बसेको अनुमान छ ।

क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले यो महाधिवेशन नभएको भए गत एक हप्ता सामान्य अवस्थामै बित्ने बताए । संघका अध्यक्ष दीपक भट्टराईले एमाले नेता कार्यकर्ता सबै फर्किएपछि सौराहा सुनसान भएको बताए । उनले भने, “कता कता एकान्तमा रहेजस्तो भएको छ ।”

सामान्य चहलपहल भए पनि महाधिवेशनमा अत्यधिक भीडभाड भएकाले अहिलेको उपस्थिति सामान्य लागेको छ । उनको भनाइमा सौराहामा दैनिक १० हजार नेता कार्यकर्ता बसेका थिए । जसले गर्दा कपाल काट्ने शैलुन, चिया पसलदेखि ठूला होटलसम्म सबैको व्यापार राम्रो भएको उनको भनाइ छ । उनले भने, “सौराहामा मात्रै रु २० करोडको व्यापार भएजस्तो लाग्छ ।” यसले अब सौराहाले जस्तोसुकै ठूलो कार्यक्रम गर्न सक्छ भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ छ ।

९. एकता महाधिवेशनमा विक्रम पाण्डे तानातानमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे तानातानमा परेका छन् । पार्टीको जारी एकता महाधिवेशनमा अध्यक्षका आकाक्षीहरू कमल थापा र राजेन्द्र लिङ्देन दुवैले उनलाई लिएर टिम बनाएका छन् । दुवै अध्यक्षका आकांक्षीहरूले पाण्डेलाई आ–आफ्नो प्यानलबाट उपसभापतिमा नाम राखेका छन् । पूर्व भुमिसुधार मन्त्रीसमेत रहेका पाण्डेले आफू कुन समूहमा हो भन्ने खुलाएका छैनन् । थापा निकट एक नेताले पाण्डे आफूहरूको प्यानलबाट उमेदवार भएको दाबी गरे । उनले बुधबार राती पाण्डेले आफूहरूसँग बसेर प्यानलमा चुनाव लड्ने बचन दिएको ती नेताले बताए ।

“हिजोराति हामीले टिम बनाउँदा उहाँ पनि सँगै हुनुहुन्थ्यो । उहाँसँगको परामर्श सल्लाह र अनुमतिमै उहाँको नाम हामीले राखेका हौँ,” ती नेताले भने । यता, लिङ्देन समूहले पनि पाण्डे आफूहरूसँग भएको दाबी गरेको छ । “उहाँसँग परामर्श गरेरै हामीले नाम उपाध्यक्षमा राखेका हौँ,” लिङ्देन समूहका नेता एक नेताले भने ।