ओमिक्रोनबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन: डब्ल्यूएचओ

१८ मंसिर, काठमाडौं ।। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टका कारण अहिलेसम्म कसैको मृत्यु पुष्टि नभएको जानकारी दिएको हो।

विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि मृत्यु नभएको पुष्टि डब्ल्यूएचओले जनाएको छ। तर सङ्क्रमण फैलिरहेकोले सचेत रहन आग्रह गरेको छ।

डब्ल्यूएचओका सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे। कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउन पनि उनले सुझाव दिएका छन्।

अहिले ओमिक्रोन भेरियन्ट विभिन्न ४० मुलुकमा फैलिसकेको छ। अहिलेसम्म यो भेरियन्टलाई खोपले काम गर्छ कि गर्दैन भन्ने खुल्न सकेको छैन।

यसअघि दक्षिण अफ्रिकाका केही वैज्ञानिकले ओमिक्रोनले भेरियन्टले कोरोना खोपको प्रभावकारिता पनि कम गर्ने बताएका थिए। यद्यपि यस विषयमा निष्कर्षमा पुग्न थप अध्ययनको आवश्यकता रहेको उनीहरूको भनाइ छ।