नेपालमा ओमिक्रोन’ पुष्टि भएका दुई नागरिकको पीसीआर रिपोर्ट नेगेटिभ, बार प्रतिनिधिलाई ओलीको जवाफ : प्रधानन्यायाधीशको गल्ती छैन भन्नेहरूले महाअभियोग दर्ता गर्छन्? यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका

१. नेपालमा ओमिक्रोन’ पुष्टि भएका दुई नागरिकको पीसीआर रिपोर्ट नेगेटिभ
२१ मंसिर, काठमाडौं ।।
सोमबार दक्षिणी अफ्रिकी मुलुकबाट नेपाल आएका एक विदेशी नागरिकसहित एक नेपाली नागरिकको पीसीआर परीक्षण गराउँदा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको थियो । तर, आज मंगलबार उनीहरुको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा दुवै जनाको ‘ओमिक्रोन’ संक्रमण नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

२. लुम्बिनी प्रदेशको नीति: १२ जिल्ला, १२ सांस्कृतिक ग्राम

लुम्बिनी प्रादेशिक सरकारले सांस्कृतिक विकासका लागि नयाँ योजना ल्याएको छ । प्रदेशका १२ जिल्लामा १२ सांस्कृतिक ग्रामको स्थापना गरेर सांस्कृतिक पर्यटन विकास गर्ने नीति सार्वजनिक गरेको छ ।

जिल्लाको सांस्कृतिक परिचय र विशेषताका आधारमा सांस्कृतिक ग्रामहरू निर्माण हुनेछन् । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत १२ जिल्लाका १२ स्थानमा सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागिएको हो । जाति भाषा, धर्म संस्कृति, खानपान, रीतिरिवाज, परम्पराका आधारमा त्यसको विकास र चिनारीका लागि ग्रामहरू निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

‘संस्कृति बचाउ र व्यवसाय गरौं’ भन्ने नीति प्रदेशले लिएको र त्यहीअनुसार सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागेको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए । संस्कृतिलाई व्यवस्थापन गरेर व्यावसायिक रूपमा लैजाने उद्देश्यले प्रदेशमा सांस्कृतिक ग्रामहरू जिल्लाअनुसार निर्माण गर्न लागिएको जानकारी दिए ।

संस्कृतिलाई बचाउने परम्परालाई चिनाउने गरी काम हुने उनको भनाइ छ । प्रदेशमा भएको जातिगत विशेषता, धार्मिक विशेषता, सांस्कृतिक र परम्परागत विशेषतालाई संस्थागत गर्दै संरक्षण तथा विकास गर्न र त्यसबाट आयआर्जन बढाउन सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको मन्त्री चौधरीको भनाइ छ । उनले यसबाट यो वर्षमा पाँच हजार युवा, महिलालाई सांस्कृतिक रोजगार दिने बताए ।

कुन जिल्लामा कुन सांस्कृतिक ग्राम ?

मन्त्री चौधरीले दाङ, बाँके, बर्दियामा थारु संस्कृतिसँग जोडिएका ग्रामहरू निर्माण हुने, प्युठान, अर्घाखाँची र गुल्मी, क्षेत्री बाहुन (खसआर्य) संस्कृति, परम्परा र रीतिरिवाजसँग जोडिएका ग्रामहरू निर्माण गरिने बताए । पाल्पा, रुकुम, रोल्पामा मगर ग्राम, रुपन्देहीमा बहु सांस्कृतिक ग्राम, कपिलवस्तु अवध सांस्कृतिक ग्राम र नवलपरासीमा भोजपुरी सांस्कृतिक ग्राम निर्माण हुनेछन् । यस विषयमा सबै जिल्लाका सरोकारवालाहरूलाई सहभागी गराएर मन्त्रालयले दाङमा अन्तरक्रियासमेत गरेको छ ।

३. पालिका तहका १६ सयभन्दा धेरै कर्मचारीको सरुवा 

सरकारले पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरपालिका तहमा १६ सय १३ जना कर्मचारीको काज सरुवा गरेको हो ।

पालिकामा कार्यरत कर्मचारीले आफूलाई अपायक भएर मन्त्रालयमा दिएको निवेदनका आधारमा अर्को पालिकामा खटाउने निर्णय गरेको मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । अर्को तहमा जानका लागि निवेदन दिएकाहरूले मापदण्ड भने पूरा गरेको हुनुपर्छ । एक पालिकाबाट अर्को पालिकामा सरुवा हुनका लागि काम गरिरहेको पालिका र जान चाहेको पालिका दुवैको सहमति आवश्यक पर्छ ।

पालिका तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तरपालिका तह कामकाजमा खटाउने निर्णय भएको स्थानीय तह समन्वय शाखामा कार्यरत चिरञ्जिवी नेपालले जानकारी दिनुभयो । नयाँ संविधान जारी भएपछि लोक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भइ नियुक्त भएका पालिकाका कर्मचारीहरूलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो ।

४ं. २४ घण्टामा ३ सय १५ जनामा कोरोना पुष्टि, २ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित

पछिल्लो २४ घण्टामा थप तीन सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार आठ सय १० जनाको नमुना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ ।

यस्तै थप तीन सय चार जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार दुई सय पाँच पुगेको छ । निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै यही अवधिमा कोरोनाबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख २७ हजार सात सय ५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड पाँच लाख चार हजार सात सय ६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार चार सय ३३ जनाले लगाएका मन्त्रालयले जनाएको छ ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाण्डौ र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् ।

अहिले होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा तीन सय ३९, आईसीयूमा एक सय २३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

५. राष्ट्रिय सभा चुनावको कार्यतालिका स्वीकृत, पुस २० गते उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यतालिकाअनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दल दर्ता गर्नुपर्नेछ । यस्तै पुस १७ गते मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम सच्याउन दरखास्त दिने तथा मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ ।

यस्तै पुस १८ र १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुनमा समयावधि सकिने १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो । चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । एक जना प्रदेश सांसदको मत भार ४८ हुन्छ भने पालिका प्रमुख र उपप्रमुखको मत भार १८ रहेको छ । राष्ट्रिय सभा चुनावमा एमालेबाहेकका दलले गठबन्धन गर्ने सहमति गरिसकेका छन् ।

६. बार प्रतिनिधिलाई ओलीको जवाफ : प्रधानन्यायाधीशको गल्ती छैन भन्नेहरूले महाअभियोग दर्ता गर्छन्?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरू प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दाबी गर्नुभएको हो ।

आज मङ्गलवार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोग गर्न भन्दै बालकोटमा रहेको आफ्नै निवासमा आइपुगेका नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्कसमेत गर्नुभयो । अनि कसरी उहाँहरूबाट महाअभियोग प्रस्ताव दर्ता हुन्छ रु उहाँको प्रश्न थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सिद्धान्तका हिसाबले तपाईँहरूको कुरामा असहमति जनाउनुपर्ने छैन । स्वच्छ र निष्पक्ष न्यायालयले मात्रै न्याय दिने प्रयास तब मात्रै गर्न सक्छ, नत्र भने प्रयास नै गर्न सक्दैन । तपाईँहरूको भनाइसँग हाम्रो भनाइ के फरक छैन भने न्यायालय स्वच्छ र निष्पक्ष हुनुपर्छ । एउटा कुरा पनि सत्य हो– न्यायालय न स्वच्छ रहयो न निष्पक्ष । यसका निम्ति मैले अस्ति बोल्दा पनि भनेको थिएँ– क्यान्सर भएको छ भने कुखुरा मन्साएर, अन्डा मन्साएर, धरो चढाएर त्यसको उपचार हुँदैन । तपाईँहरूको थुप्रै कुरा जायज छन् । कुनै एउटा कुरा प्रस्थानविन्दु हुन सक्छ । अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थानविन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार हुन्छ भन्ने होइन । एक जना नेता (प्रचण्ड) ले भन्नुभयो, प्रधानन्यायाधीश किन राजीनामा दिन तयार हुनुहुन्न र? वस्तुका लेनदेन भए कि, पदका लेनदेन भए कि । अरू के–केका लेनदेन भए रु अब हामी त देख्दैनौँ नि । अब सर्पको खुट्टा सर्पले देख्छ । श्रीमानजीहरूले भनेपछि न हामीले थाहा पायौँ, लेनदेन भएको रहेछ । एउटा कुरा के हो भने लेनदेन भएको होइन– नेपाली कांग्रेसको कोटाबाट कांग्रेसबाहेकको राजनीतिक नेताले भन्नुभयो– यो कांग्रेसको कोटाबाट उहाँलाई नियुक्त गरेको हो । प्रधानन्यायाधीशसँग कुनै लेनदेन भएको छैन । वरिष्ठ अधिवक्ताजीहरू, बारका अध्यक्षजीहरू, सर्वोच्च बारका अध्यक्षजीहरू, तपाईँहरूको महाअभियोग दर्ता हुन्छ कसरी रु दर्तै हुँदैन महाअभियोग । भनिराख्नुभएको छ त– श्रीमान् चोलेन्द्रजीको कुनै गल्ती छैन । कांग्रेसको प्रधानमन्त्रीले आफ्नो मान्छे, आफ्नो कार्यकर्ता नियुक्त गरे । सम्माननीय प्रधानमन्त्री त्यही भनिरहनुभएको छ– चोलेन्द्रशम्शेरजीले त होइन । त्यो त हाम्रो कार्यकर्ता, हामीले नियुक्त गरेको । उहाँले किन राजीनामा गर्नुभयो फेरि । उहाँले किन राजीनामा गर्नुभयो, थिएन भने त । तसर्थ, म चाहन्छु– साँच्चै न्यायालयलाई स्वतन्त्र, निष्पक्ष, न्यायिक मर्यादासहितको स्वच्छ न्यायालय बनाऔँ । हामी सबै मिलेर ।’

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताउनुभयो । उहाँले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले एकापक्षीय ढङ्गले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले कसैले डिफेन्स गर्नु पनि छैन, विरोध गर्नु पनि छैन । म कुनै व्यक्तिका लागि जीवन समर्पण गरेर आएको मान्छे पनि होइन । मलाई केही लिनुदिनु छैन । तर लोकतान्त्रिक मूल्य–मान्यता हुनुपर्‍यो । म संक्षिप्तमा भन्न चाहन्छु– न्यायालयलाई तत्काल सच्याएर लैजाने सम्भावना पनि मैले देखिरहेको छैन । किनभने यसलाई सच्याएर लैजान तपाईँ, हामी कति तयार छौँ त रु चोलेन्द्रशम्शरेले राजीनामा दिँदैमा वा महाअभियोग लगाउँदैमा त्यो सच्याउने कुराको सुरुवात भए त ठिकै हुन्थ्यो । तर त्यो त सच्याउने कुराको सुरुवात होइन ।’

अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाउमा नलाग्ने स्पष्ट पार्नुभयो ।

७. अमेरिकालाई चीनको चेतावनी : ‘शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्नेछ’

अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोषणालाई षड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।

चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्षति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबाहीको चेतावनी दिएको छ ।

अमेरिका केवल बेइजिङ शीतकालीन ओलम्पिकमा बाधा पुर्याउने कोसिस गरिरहेको र यसले अमेरिकालाई नैतिक अधिकार र विश्वसनियतामा असर पुग्ने चीनले भनेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।

अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कुटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने प्रस्ट पार्नुभएको छ ।

८. यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । मंसिर २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने र हलमा बन्द सत्र हुनेछ ।

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा निर्वाचनको प्रक्रियाको काम गर्ने जनाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मंसिर २४ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने र मंसिर २६ गते बिहान ८ देखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका रहेको छ ।

यसै गरी मंसिर २६ गते नै बिहान १० देखि १२ बजेसम्म सो उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपि) पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान शुरू गर्ने समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसै गरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित ९, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी ९, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

यस महाधिवेशनमा प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करीब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ ।

कांग्रेसका क्रियाशील सदस्यता संख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

महाधिवेशनअन्तर्गत कांग्रेसले ६ प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । प्रदेश अधिवेशनबाट प्रदेश कार्य समितिसहित सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णाली प्रदेश सभपातिमा ललितजंग शाही, लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा, बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ र प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । कांग्रेसको प्रदेश २ को प्रदेश अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकी छ ।

यसै गरी कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर ९बर्दघाट सुस्ता पूर्व०, बाँके, अछाम, कैलाली तथा प्रदेश २ का आठ जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ ।

यसबाहेक कांग्रेसले सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।

गत भदौ १८ गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ गरेको पार्टीले यसअघि नै देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ ।

९. विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमनले फर्काइदियो
ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

“केही आशङ्का लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए”, शाहीले भने । यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् ।

उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । “उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन खोजेको जस्तो देखिन्छ, कैफियत देखियो भने अधिकार प्राप्त संस्थाबाट अनुसन्धान हुन्छ,” शाहीले थपे ।

उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उनले बताए । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।