
१. कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप बेहुली झै सिङ्गारियो
२३ मंसिर, काठमाडौं ।।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ । आम सर्वसाधारणको विभिन्न भेला, छलफल र चियागफ तथा भेटघाटको गन्तव्यस्थल बनेको खुला मैदान अहिले रङ्गीचङ्गी तुल, ब्यानरले भरिएको छ ।
महाधिवेशन उद्घाटनका लागि सो स्थानमा बनाइएको आकर्षक मञ्चले त झनै भृकुटीमण्डपलाई दुलहीझैँ सिङ्गारेको झलक देखिन्छ । हो, अहिले जो–कोहीको ध्यान खिच्ने स्थल बनेको छ कांग्रेस महाधिवेशन उद्घाटनस्थल, बन्दसत्र तथा मतदानस्थल । पार्टीका सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकाङ्क्षी उम्मेदवारका तुल, ब्यानरले उक्त क्षेत्र झकीझकाउ भएको छ ।
यसले महाधिवेशनको रौनक थपेको छ । त्यहाँ पुग्ने जो–कोहीले मोबाइलमा तस्वीर कैद गरिरहेका देखिन्छन् धेरैले मञ्चको सेल्फी लिइरहेका भेटिए । महाधिवेशन प्रतिनिधिमात्रै होइन, सर्वसाधारणको ध्यान पनि मञ्चले खिचेको छ ।
भृकुटीमण्डपको गेटबाटै सुरु हुन्छ, खचाखच ब्यानर । रुख, खाली स्थान, भित्ता कहीँ खाली ठाउँ छैन सबै उम्मेदवारका प्रचार सामग्रीले भरिएका छन् । प्रदर्शनीमार्गको सडकका दुवैतिरका भित्तामा प्रचार सामग्रीले सजिएका छन् । राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लब पनि चारतारे झण्डा र प्रचार सामग्रीले रङ्गिएको छ ।
गेटबाट भित्र झिर्नासाथ चारैतिर ब्यानरले झकिझाउ छ । चारतारे झण्डाले मञ्च सिङ्गारिएको छ । उद्घाटनस्थल मात्रै होइन, बन्दसत्र हुने प्रदर्शनी कक्षभित्र पनि आकर्षकरूपमा सजाइएको छ । भित्रपट्टि पनि छुट्टै मञ्च बनाइएको छ ।
चार दिनसम्म करिब पाँच हजार कांग्रेसका महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरेर नयाँ नेतृत्व चुन्नेछन् । सोही स्थानभित्र विभिन्न पदाधिकारी र सदस्यका अकांक्षीले सम्पर्क कार्यालय खोलेर प्रतिनिधिलाई आकर्षण गरिरहेका छन् ।
महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृहमा कांग्रेसले मतदान गर्न २०० बुथ राख्न लागेकोे नेपाली कांग्रेस काठमाडौँका सचिव गोविन्द पुडासैनीले बताए ।
महाधिवेशनमा सहभागी हुने चार हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्ने पुडासैनीले बताए । मङ्सिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र ७ गते मतदान हुने कार्यतालिका छ ।
२. माओवादी स्थायी कमिटी बैठक: पदाधिकारीको संख्या बढाउने निर्णय
नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको संख्या ९ जना बनाउने निर्णय गरेको हो ।
प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । त्यस्तै बैठकले हाल कायम रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उनले बताए ।
त्यस्तै बैठकले प्रदेश कमिटीको सदस्य संख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने निर्णय गरिएको प्रवक्ता महराले बताए ।
स्थायी कमिटी बैठकमा माओवादी पार्टी प्रवेश गर्नेहरुको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको ३ सदस्यीय कार्यदल बनाएको छ भने महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अरु सदस्यहरुलाई पछि थप्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
३. मोर्डनाको १४ लाख ९७ हजार मात्रा खोप नेपाल आइपुग्यो, बालबालिकालाई लगाइने
कोराना भाइरसविरुद्धको झन्डै १५ लाख मात्रा खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मात्रा मोडर्नाको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
कोभ्याक्स सुविधाअन्तर्गतको खोप अमेरिकाबाट कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । हिजो बुधवार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिशिल्ड खोप भारतबाट ल्याइएको थियो ।
आज आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिनअघि मात्र एक लाख ८४ हजार चार सय मात्रा मोडर्ना खोप ल्याइएको थियो ।
नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्स मार्फत दुई करोड ९४ लाख ५३ हजार पाँच सय २० मात्र खोप ल्याइएको छ ।
सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।
४. शेयर बजारको ओरालो यात्रा रोकिएन, २४ सय ५० विन्दु भन्दा तल
लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ विन्दुमा झरेको छ ।
आज होटल, म्युचल फन्ड र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर ओरालो लागेको छ ।
आज दुई सय ३१ कम्पनीका ६२ लाख २३ लाख कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लागे पनि सिनर्जी पावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।
५. पूर्व (डीआईजी) रमेश खरेलले भोलि नयाँ पार्टी गठन गर्ने
नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपाल सुशासन अभियान नामक पार्टी गठन गर्नुहुने भएको छ ।
नेपाल सुशासन अभियान नामक समूह सञ्चालन गरिरहनुभएका खरेलले भोलि शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टी गठन गर्न लागिएको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
आज बिहीवार बेलुकी जारी गरिएको विज्ञप्तिमा उहाँले राजनीतिक अस्थिरता, कुशासन, भ्रस्टाचार जस्ता कारणले देशले गति लिन नपाएको भन्दै नयाँ पार्टी गठन गर्न लागिएको बताउनुभएको छ ।
खरेलले एक नयाँ आयामका रूपमा सबै नेपालीको मर्म बुझ्न सक्ने गरी नेपाललाई सफल र शक्तिशाली देशका रूपमा स्थापित गर्ने उद्देश्यले पार्टी गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।
६. राष्ट्रिय परिचयपत्र बनाउदा नगर्नुहोस् यस्ता गल्ती
सरकारले राष्ट्रिय परिचयपत्रका लागि विभिन्न जिल्लामा नागरिकको विवरण संकलन गरिरहेको छ । हालसम्म ४१ लाख २२ हजार नागरिकको तथ्याङक राष्ट्रिय परिचयपत्रको प्रणालीमा सूचिबद्ध भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
यसैबीच सरकारले जारी गरेको ई(पासपोर्ट लिन अहिले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । योसँगै राष्ट्रिय परिचयपत्रका लागि आवेदन बुझाउने सेवाग्राहीको चाप पनि बढ्दो छ ।
विशेषगरी ई(पासपोर्ट बनाउन काठमाडौं आएका सेवाग्राहीहरू अहिले राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन जिल्ला प्रशासन कार्यालय पुगिरहेका छन् ।
राष्ट्रिय परिचयपत्रका लागि अनलाइन आवेदनमा दैनिक कोटा प्रणाली लागू गरिएका कारण सेवाग्राहीहरु भौतिक रुपमै कार्यालय पुग्नुपर्ने बाध्यता छ ।
तर भिडभाड र समय अभावका कारण कतिपय सेवाग्राहीले सही विवरण पेश नगरिकनै राष्ट्रिय परिचयपत्र नम्बर लिएको पाइएको छ ।
ई(पासपोर्ट बनाउन काठमाडौं आएका रोल्पाका एक सेवाग्राहीले पनि राष्ट्रिय परिचयपत्र नम्बरका लागि सही विवरण बुझाएनन् । आफू विवाहित भएपनि सक्कल कागजात नल्याउँदा उनले ‘अविवाहित’ भनेरै राष्ट्रिय परिचयपत्रको फर्म बुझाए ।
सक्कल कागजात लिन टाढा भएको र समयको कमीले विवाहित हुँदाहुँदै पनि उनले अविवाहित भएको विवरण टिपाइरहेका थिए ।
राष्ट्रिय परिचयपत्रका लागि सक्कली नागरिकताका साथै बसाइँसराई गरेको भए सो सम्बन्धित कागजपत्र आवश्यक पर्छ ।
साथै विवाहित व्यक्तिका लागि नागरिकतामा पति वा पत्नीको नाम नभए विवाह दर्ताको प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था छ ।
तर कतिपय सेवाग्राहीले आफूसँग सक्कल विवरण नहुँदा अविवाहित भनेरै राष्ट्रिय परिचयपत्र नम्बर लिइरहेका छन् ।
यसबाट तत्काल ईपासपोर्ट बनाउने बाटो खुलेपनि भविष्यमा सेवाग्राहीलाई नै कानूनी झमेला पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुवास ढकाल बताउँछन् ।
‘गलत जानकारी उपलब्ध गराउँदा पछि सच्याउने बेलामा झमेला र सास्तीको शिकार हुनुपर्ने पनि सेवाग्राही नै हुन्,’ ढकालले भने ।
अर्कोतर्फ विवाहको सम्बन्धमा नाता लुकाएको आरोपसमेत लाग्नसक्ने उनको भनाइ छ ।
अहिले व्यक्तिको हरेक विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने प्रक्रिया चलिरहेको छ । भविष्यमा यही परिचयपत्र र नम्बरका आधारमा नागरिकले विभिन्न सेवा पाउने बताइएको छ ।
तर झुठो विवरण पेश गर्दा त्यस्ता नागरिक राष्ट्रिय परिचयपत्रबाट लिनसक्ने लाभबाट वञ्चित हुनसक्ने ढकालले बताए । परिचयपत्रमा समावेश हुने जैविक विवरण फरक पर्न गएमा अन्य जानकारी विवादित हुने उनको भनाइ छ ।
‘अहिलेका लागि नागरिकले उपलब्ध गराएको कागजातका आधारमा कार्ड उपलब्ध गराउने हुँदा उक्त जानकारीलाई नै आधिकारिक मान्ने गरिन्छ । नागरिकले जानकारी लुकाएमा अथवा झुठको साहरा लिएमा सेवाग्राहीले नै झमेला बेहोर्नुपर्छ,’ उनले भने ।
यसैबीच विभागले केही महिनाभित्रै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । यसका लागि फ्रान्सेली कम्पनी आईडीमियाले कार्ड छपाइको काम गरिरहेको छ ।
यो महिनाको अन्त्यसम्ममा कार्ड आइसक्ने र फेब्रुअरीसम्ममा कार्डको नमुना परीक्षण सम्पन्न गरिसक्ने विभागको तयारी छ ।
७. २४ घण्टामा २११ संक्रमित थपिए, ३२९ जना निको
पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।
८. लमजुङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते
लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।
घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् ।
९. एक पूर्वशाखा अधिकृतले एक करोड ६४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा
वैध कमाइभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानुनी सम्पत्ति फेला परेको छ ।
स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत फेला पर्न सकेन ।
आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले एक करोड दुई लाख ८२ हजार २५८ रुपैयाँ बराबरको वैध आय गरेको देखिन्छ । उनले रु दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।
सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानुनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस