काँग्रेस महाधिवेशन उद्घाटन मञ्चमा देखिए यस्ता रोचक १७ दृश्य, राजेन्द्र लिङदेन भन्छन्– नेतालाई जनताले ‘चोर’ भन्न थाले ;

१. कांग्रेस महाधिवेशन : बन्द सत्र आजै हुने
२४ मंसिर, काठमाडौं ।।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको बन्द सत्र आज शुक्रवारदेखि नै सुरु हुने भएको छ ।

काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि सुरु गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्द सत्र पनि उद्घाटन सत्र समापन भएलगत्तै सुरु गरिने कार्यक्रम रहेको बताउनुभयो ।

बन्द सत्र भृकुटीमण्डपमा रहेको प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

२. नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजारभन्दा तल झर्‍यो

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा तीन सय ३७ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा आठ लाख ६ हजार दुई सय २३ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १० हजार चार सय ८७ जनाको नमुना परीक्षण गरेकोमा दुई दशमलव ४६ प्रतिशत अर्थात् दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै थप तीन जनाले कोरोना भाइरसको सङ्क्रणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५२ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार तीन सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हिजो पनि २४ घण्टामै तीन लाख ३७ हजार जनाभन्दा धेरैले खोप लगाएका थिए ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन आह्वान गर्दै खोप अभियानलाई तीव्र बनाएको छ । नेपालमा कोरोनाविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाउनेको सङ्ख्या एक करोड १० लाख ६६ हजार चार सय ६४ जना पुगेको छ । उनीहरूमध्ये ९१ लाख ६८ हजार तीन सय ५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

३. नेतृत्वको आलोचना गर्दै रामचन्द्र पौडेलले भनेः अब समीक्षा गरौं

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजस्तो आफ्नो महाधिवेशन हुन नसकेको बताए।
उनले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको बताए। उनले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताए।

देशमा आएको परिवर्तन अनुसार कांग्रेस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा र आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताए।

कांग्रेसको गौरवशाली इतिहास रहेको भन्दै उनले यतिबेला पार्टी बहुसंख्यक जनता पक्षमा हुनुपर्नेमा ३१ प्रतिशतभन्दा माथि समर्थन जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाए।

उनले निमुखा जनताले न्याय नपाएको भन्दै दलका पहुँच भएका सदस्यले मात्र न्याय पाएको भन्दै उनले अति दलबन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताए।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र संस्थागत गरी समयमै काम गर्न जरुरी रहेको उनको भनाइ छ। पार्टीमा नैतिक शक्तिको उत्थान गर्न जरुरी रहेको भन्दै उनले पार्टीलाई विकृतिको अखडाबाट मुक्त गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताए।

४. काँग्रेस महाधिवेशन उद्घाटन मञ्चमा देखिए यस्ता रोचक १७ दृश्य

सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भयो । काँग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए ।

नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभएपनि केही रोचक दृश्यहरु भने देखिएका छन् ।
१. महाधिवेशन उद्घाटनस्थलमा आयोजक काँग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पुगेका थिए ।

२. कार्यक्रममा निम्त्याइएका अतिथिमध्ये सबैभन्दा अन्तिममा एमाले अध्यक्ष केपी ओली मञ्चमा पुगेका थिए । मञ्चमा नमस्कार गर्दै ओली उक्लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टाउको बटारेर अन्तै हेर्न थाले । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ओली कुर्सीमा नबसुन्जेलसम्म भुइँमै हेरेर बसिरहे ।
३. सबैभन्दा ढिला आएका ओलीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छोडिदिए । पौडेल कुर्सी छाड्दै मञ्चको पछिल्लो लहरमा गएर बसे ।

४. दलहरूबीच पछिल्लो दिन बढेको तिक्तताका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजावादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओली कसैले पनि सम्वोधनका क्रममा एक अर्काको नाम लिएनन् ।

५. शुभकामना मन्तव्यका क्रममा भाजपा नेता हर्षवर्द्धन र मालेका महासचिव सीपी मैनालीले लामो भाषण गरेपछि कार्यक्रम संचालक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पोडियममै पुगेर चिट नै दिनुपर्यो । हर्षवर्द्धनले यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आफुले कहिल्यै नदेखको भन्दै भाषण लम्व्याएका थिए भने सिपीले सरकार र दलका नेताका कमजोरीको फेहरिस्त सुनाएर भाषण लामो बनाएका थिए ।

६. राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शक दीर्घामा ताली बज्यो । तर प्रचण्ड, नेपाल र ओलीले नेतालाई चोर कसैले नभनेको दाबी गर्दा पनि दर्शक दीर्घामा उसैगरी ताली बजेको थियो ।

७. उद्घाटन सत्रमा बोलेका प्रचण्ड, नेपाल र ओलीबाहेक सबैजसो दलका नेताले सर्वोच्च अदालतको विवाद चाँडो टुंगिनुपर्ने बताए । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले भने यो विषयमा एक शब्द पनि बोलेनन् ।

८. कार्यक्रममा सवैभन्दा छोटो भाषण जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले गरिन् । सधै लामो भाषण गर्ने ओलीले भने तुलनात्मक रुपमा छोटो भाषण गरे ।

९. उद्घाटन सत्रमा शुभकामना दिन पुगेका नेता सिपी मैनालीले सरकारका कामकारवाहीको खुलेर आलोचना गरे । जवकी राप्रपा महाधिवेशन उद्घाटनमा शुभकामना दिने क्रममा उनले राजा त्रिभुवनदेखि महेन्द्रसम्मको गुणगान गरेका थिए ।

१०. लोसपा अध्यक्ष महन्थ ठाकुरले ले अधिकांश भाषण एमाले महाधिवेशन उद्घाटनकै दोहोर्‍याए । र भाषणको अन्तमा आफ्ना केही माग पूरा गरेको भन्दै एमाले महाधिवेशन चितवनको उद्घाटनकै शैलीमा ओलीलाई धन्यवाद दिए ।

११. जसपा अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनकै भाषण दोहोर्‍याउँदै शुभकामना दिँदा आफ्नै पार्टीको नाम जनता समाजवादी नेपाल मात्र भने । उनले पूरै समय लिखित भाषण गरे ।

१२. कार्यक्रम संचालक विश्वप्रकाश शर्माले मञ्चमा नेताहरूलाई बोलाउँदा खासै वास्ता नगरेका दर्शकले माधव नेपाल र केपी ओलीलाई भने ताली र हुटिङले स्वागत गरेका थिए ।

१३. भाषण गर्न माइक समाएका प्रचण्डले नेतालाई चोर भन्छन् भनेर भन्ने नगरेको शैलीले हात हल्लाए पनि दर्शक दीर्घाबाट भने लामो समय हो भनेर हुटिङ भइरह्यो । त्यसपछि प्रचण्डले आफ्नो भनाइ अन्तै मोडेका थिए ।

१४. भाषणका लागि मञ्चमा पुगेका एमाले अध्यक्ष ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरे । तर, भाषणका क्रममा भने उनले देउवालाई प्रधानमन्त्रीकै रूपमा सम्बोधन गरेका थिए । देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आएका ओलीले हाँस्दै पूर्वप्रधानमन्त्री भनेका कारण उनको व्यंग्य भएको प्रष्ट झल्किन्थ्यो ।

१५. पोडियममा पुग्नुअघि ओलीले देउवासँग बोल्ने अनुमति मागेका थिए । जबकि अरु नेता सरासर गएर बोलेका थिए ।

१६. ओलीले टिप्पणी गर्दिनँ भन्दै शुभकामना मन्तव्य दिन सुरु गरे, भृकुटीमण्डप क्षेत्रमा बिजुली गएपछि उनले केहीबेर माइक ठोके र कुर्सीमा गएर बसे । तर केहीक्षणमै बत्ती आएपछि प्रवक्ता शर्माले पुन बोलाएपछि छोटो मन्तव्य राखेर उनी बिदा भए ।

१७‍. काँग्रेस सभापति देउवाले बोल्नुअघि नै अतिथि नेताहरू मञ्चबाट बाहिरिए ।

५. ‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताएका छन् । गृह जिल्ला सङ्खुवासभा आएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको बताए ।

सदरमुकाम खाँदबारीमा आज पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताए । राज्यको खर्च कम गराउन देशैभर एकै एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको बताए ।

राजनीतिक अनुकुलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए ।

६. पूर्व (डीआईजी)रमेश खरेलद्वारा नयाँ पार्टी निर्माणको घोषणा

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डीआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् ।

उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्व डिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।

पूर्व डीआईजी खरेलले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसावले स्थापित हुन बाध्य भयौँ । देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौँ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन । राजनीतिमा लागेकाहरू पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन् । हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’

पूर्व डीआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।

७. पोखरामा फलामे छड बोकेको ट्रक दुर्घटना, दुईको मृत्यु

पोखरामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक आफैं अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो।

घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०र४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

दुर्घटनामा घाइते भएपछि दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले दुवै जना ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ। सवारीधनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताए।

८. राजेन्द्र लिङदेन भन्छन्– नेतालाई जनताले ‘चोर’ भन्न थाले

सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई ‘चोर’ भन्न थालेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन उद्घाटनमा शुभकामना दिन पुगेका लिङ्देनले नेताहरूको छवी सुधार गर्नुपर्ने समय आएको बताए ।

“गाउँतिर नेता गयो भने चौतारीमा नेता आउनुभएको छ भनेर गाउँलेलाई खबर हुन्छ । तर, जनताले कुन नेता भनेर सम्झदैनन् । कुन चोर आएछ भन्छन्,” लिङ्देनले भने, “हाम्रा राष्ट्रिय पार्टीहरूका लागि यो महिना महाधिवेशनको महिना भएको छ । यो महिना नेताको छवी सुधार होस् ।”

उनले देश लथालिङ् अवस्थामा पुगेको भन्दै राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले शाख गुमाएको बताए ।

“सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन,” लिङ्देनले भने, “यो सबै सुधार गर्नुपर्ने राजनीतिक दलले हो । दलको अवस्था पनि राम्रो छैन। दल सुधार्ने नेताले हो । जनताले त्यस्तो नजरले हेर्न थालिसके ।” उनले यस्तो अवस्थाको विकल्प दिन कांग्रेस र राजनीतिक दलका अधिवेशन सफल हुन सकुन भन्दै शुभकामना दिएका थिए ।

९. त्रिभुवन आर्मीको लगातार दोस्रो जित

च्यासल युथको कमजोर रक्षापंक्तिको फाइदा लिन सफल त्रिभुवन आर्मी क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा २–० को विजय हासिल गरेको छ ।

जितसँगै त्रिभुवन आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मीले चार खेलबाट आठ अंक जोडेको छ । जुन शीर्ष स्थानको मनाङ मर्स्याङ्दीको भन्दा दुई अंकले पछाडि हो । आजै पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले हराएको मनाङ दस अंकका साथ शीर्ष स्थानमा छ । सातदोबाटो युथ र सविक विजेता मच्छिन्द्र समान सात अंकका साथ तेस्रो स्थानमा छ । तथापि सातदोबाटो र मच्छिन्द्रले एक खेल कम खेलेको छ । मच्छिन्द्रले शनिबार हिमालयन शेर्पा र सातदोबाटोले न्युरोड टिम ९एनआरटी०विरुद्ध खेल्दैछ ।

पराजित च्यासल भने चार अंकका साथ नवौँ स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीले १९औँ मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट अग्रता लिएको थियो । टंक बस्नेतले दायाँ भागबाट गरेको सुन्दर क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका जर्ज प्रिन्सले हेडमार्फत पोस्टको दिशा दिएका थिए । जारी लिगमा टंक पहिलोपटक पहिलो रोजाइमा परेका हुन् ।

सुरुबाटै च्यासलमाथि हाबी बनेको त्रिभुवन आर्मीले जगजीत श्रेष्ठको गोलबाट ३६औँ मिनेटमा अग्रता दोब्बर बनायो । गौतम श्रेष्ठले दायाँ भागबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका जगजीतले हाफ भलीमा गोल गरेका थिए । दुवै गोलमा च्यासल युथका रक्षकले विपक्षी खेलाडीलाई मार्क गरेका थिएनन् ।

दोस्रो हाफको तेस्रो मिनेटमा त्रिभुवन आर्मीका फरवार्ड जर्ज प्रिन्स अभागी बने । उनले विबेक बस्नेतको क्रसमा गरेको हेडिङ प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । त्यसको तीन मिनेट बित्न नपाउँदै भरत खवासले अर्को गोल थप्ने मौका गुमाए । टेकबहादुर बुढाथोकीको क्रसमा त्रिभुवन आर्मीका कप्तान भरतले गरेको हेड आकाशिएको थियो ।

च्यासलले भने कुनै पनि समय विपक्षी गोलकिपरलाई व्यस्त बनाउन सकेन । ‘ए’ डिभिजन लिगमा च्यासलले त्रिभुवन आर्मीविरुद्ध अहिले समम गोल गर्न सकेको छैन । च्यासलविरुद्ध त्रिभुवन आर्मीको यो लगातार तेस्रो जित हो । त्रिभुवन आर्मीले पछिल्लो सिजनमा पनि च्यासल युथलाई ३–० ले हराएको थियो । त्यस्तै २०७५ मा त्रिभुवन आर्मीले च्यासलाई १–० ले हराएको थियो । च्यासलले २०७५ मा पहिलोपटक ‘ए’ डिभिजन लिग खेलेको हो ।

त्रिभुवन आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो । त्रिभुवन आर्मीले तेस्रो खेलमा ब्रिगेड ब्वाइजलाई १–० ले हराएको थियो ।