यातायात कार्यालय लुम्बिनीमा आठौं आश्चर्यः २१३ जनाले लाइसेन्सको ट्रायल दिँदा २३७ जना पास, कारबाहीमा परेका चार खेलाडीको प्रश्न : हामीले क्रिकेटमा गरेको समर्पणको सम्मान यही हो ?

१. एमालेको अपानिः कसलाई के जिम्मेवारी ?
एन संचार, पौष २, काठमाडौं ।।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अन्तर्पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इञ्चार्ज पनि तोकेको छ ।
अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् ।
उपाध्यक्षहरू युवराज ज्ञवालीले प्रदेश र स्थानीय तह संयोजन, अष्टलक्ष्मी शाक्यले राजनीतिक समन्वय संयोजन, रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णुप्रसाद पौडेलले पार्टीको सांगठानिक कामको अनुगमन, सुवासचन्द्र नेम्वाङले संसदीय मामिला र सुरेन्द्रप्रसाद पाण्डेले राजकीय मामिलाको जिम्मा पाएका छन् ।
महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मेवारी पाएका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवालीले पार्टी स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभागरप्रेस चौतारी नेपाल तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मा पाउँदा विष्णु रिमालले निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी पाएका छन् ।
२. तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको छ ।
यस्तै बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरि अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
त्यस्तै विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानुन समूहको राजपत्राङ्कित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समूहको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
सरकारका प्रवक्ता कार्कीका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसअनुसार पूर्णप्रसाद पौडेलसहित २९ जना व्यक्तिलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ ।भारतीय सशस्त्र सीमा बलको १८ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई स्वीकृति दिने निर्णय भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबी निवारण कोष अभिलेख व्यवस्थापन कार्यक्रम कार्यान्वयनका लागि पाँच जना अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।
यस्तै भोटेओडार आँखा उपचार केन्द्र सुन्दर बजार लमजुङलाई भवन निर्माण गर्न एक रोपनी जग्गा लिज उपलब्ध गराउन स्वीकृति दिने र राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नियुक्तिका लागि डा। दामोदर रेग्मीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय पनि भएको छ ।
त्यसैगरी मन्त्रिपरिषद्ले नेपाली सेना सैनिक प्राविधिक सेवाका सहायक रथी हेगेन्द्रलाल महर्जन र महासेनानी खुमबहादुर कुँवर क्षेत्रीको पदावधि थप गर्ने निर्णय गरेको छ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको पहिलो संशोधन गठन आदेश २०७८ स्वीकृत गर्ने निर्णय भएको छ । नेपाली सेनाका सहायक रथी डा. अरुणकुमार न्यौपाने तथा चार सैनिक अधिकृतको बढुवा गर्ने तथा सहायक रथी सागरबहादुर केसीलाई अवकाशअघि उपरथी दर्जा मानार्थ बढुवा र महासेनानी खगेश्वर अर्यालको अवकाशअघि विशेष बढुवा गर्ने निर्णय गरेको छ । साथसाथै नेपाली सेनाका विभिन्न समूहका रथी, सहायक रथी र महासेनानीहरूको सरुवा गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणलाई सुर्खेत बिजौरा ३३ केभी प्रसारण लाइन आयोजनाको पोल तथा राइट अफ वे संरचना निर्माण गर्नका लागि वीरेन्द्रनगर नगरपालिका र बराहताल एवम् पञ्चपुरी गाउँपालिकामा रहेको वन मन्त्रालयको १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।
त्यस्तै विभिन्न १३ वटा पालिकालाई विभिन्न परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने, लोक सेवा आयोगबाट सिफारिस भइ आएका डा। प्रज्वल श्रेष्ठसहित १० जना उम्मेदवारलाई नेपाल स्वास्थ्य सेवाको ११ औँ तहको पदमा नियुक्ति गर्ने र शिक्षक सेवा आयोग ११ औँ संशोधन नियमावली २०७८ लाई स्वीकृत दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
३. २४ घण्टामा २ सय ७४ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा देशभर दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार १६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७० जना निको भएका छन् । यही अवधिमा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । नेपालमा अहिले पाँच हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ६ हजार पाँच सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड १४ लाख ४५ हजार एक सय ४५ डोज खोप प्रयोग भएकोमा ९५ लाख ३१ हजार दुई सय ५९ जनाले पूर्ण मात्रा र एक करोड १९ लाख १३ हजार आठ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
४. भारतमा रहेका नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आईओएम) द्वारा काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली श्रमिकहरुको समस्यालाई सम्बोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकारले आप्रवासी श्रमिकहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको बताउनुभयो ।
वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवाला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशीलतामा परिचालन गर्ने सरकारको नीति रहेको पनि उहाँले बताउनुभयो ।
कोरोना महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उहाँले बताउनुभयो । साथै विभिन्न देशबाट नेपालमा काम गर्न आउने आप्रवासीको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।
५. पुसभित्र बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन
शुक्रवार अर्थ मन्त्रालयमा पुँजीगत खर्चसम्बन्धी अन्तर–मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभयो ।
समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउनुहुँदै मन्त्री शर्माले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न मन्त्री शर्माले ताकेता गर्नुभएको हो । ‘बजेटको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’ समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण समन्वयलगायतका काम समयमै गर्ने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने पनि मन्त्री शर्माले सचिवहरूलाई सचेत गराउनुभयो । ‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन’, उहाँले भन्नुभयो, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’ उहाँले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा पालिकामा खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने बताउनुभएको हो । ‘खर्च गर्नुस्, बजेट लिनुस्’, मन्त्री शर्माले भन्नुभयो, ‘खर्च गर्नुहुन्न त्यो बजेट समातेर बस्न पाउनुहुन्न ।’
यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन पनि निर्देशन दिनुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायतको सहभागिता रहेको थियो ।
६. कारबाहीमा परेका चार खेलाडीको प्रश्न : हामीले क्रिकेटमा गरेको समर्पणको सम्मान यही हो ?
क्यानको कारबाहीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार जना खेलाडीहरूले अधिकारका लागि आवाज उठाएकै आधारमा आफूहरूमाथि कारबाही गरिएको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरेर ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी आफ्नो सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुँदा नयाँ पुस्ता क्रिकेटमा आकर्षित हुन नसक्ने बताएका छन् ।
उनीहरूले आफूहरू अझै क्रिकेटमा देखिएको समस्या हल गर्न तयार रहेको पनि बताएका छन् ।
‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो ? आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका बर्षे खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला ?’ उनीहरूले भनेका छन् ।
७. पोखराको वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा पुग्यो
पोखरामा वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । वायु प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानुलाई घातक मानिन्छ ।
अहिले पोखरामा एक्यूआई दुई सय चार पुगेको छ । यो प्रदूषण मानव शरीरका लागि अति नै हानिकारक हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पोखरासँगै विराटनगर, जनकपुर, कीर्तिपुर, सिमरा लगायतका ठाउँमा राखिएका मापन केन्द्रले पनि वायुको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको देखाएका छन् ।
एक्यूआई एक सयभन्दा माथि गएपछि त्यहाँको वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको मानिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई २५ सम्मलाई मानव स्वास्थ्यका लागि उत्तम मानेको छ । एक्यूआई ५० सम्म मानिसका लागि बसोबासयोग्य मानिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
८. यातायात कार्यालय लुम्बिनीमा आठौं आश्चर्यः २१३ जनाले लाइसेन्सको ट्रायल दिँदा २३७ जना पास
सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा व्यापक अनियमितता हुने गरेको पाइएको छ ।
सिधै मोलमोलाइ गरेर लाइसेन्स वितरण गर्ने गरेको पाइएको हो ।
कार्यालय प्रमुखसहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा १ लाख ५० हजारसम्ममा लाइसेन्स बिक्री हुने गरेको आरोपसहितका उजुरी परेका छन् ।
हेभी सवारीको लाइसेन्सका लागि उक्त परिमाणमा रकम लिएको आरोप छ ।
यातायात व्यवस्था कार्यालय लुम्बिनी, लाइसेन्समा कार्यालय प्रमुख तेज नारायण यादव छन् ।
२१३ ले परीक्षा दिँदा २३७ जना पास ?
सबैभन्दा रोचक कुरा त के भने केही साताअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्सका लागि २१३ जनाको परीक्षा लिँदा २३७ जना उत्तीर्ण भए ।
लाइसेन्सको परीक्षामा शतप्रतिशत पास हुनु त अचम्मको कुरा हो भने यहाँ त परीक्षा दिएका भन्दा बढी उत्तीर्ण भएपछि यातायात व्यवस्था कार्यालय लुम्बिनीमा हुँदै आएको अनियमितता र लाइसेन्स बेचबिखनको पर्दाफास भयो ।
ट्रायल (परीक्षा) दिएका भन्दा बढी कसरी उत्तीर्ण भए त ? ट्रायलमै सहभागी नभएकासँग १ लाख ५० हजार रुपैयाँसम्म लिएर हेभी इक्विपमेन्टको लाइसेन्स बिक्री गरेको भन्दै लुम्बिनी प्रदेशको श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा उजुरी परेको छ ।
उजुरी आएपछि मन्त्रालयका तत्कालीन सचिव कुमारप्रसाद दाहालले ‘एक्सन’ लिए । उजुरीमा लगाइएको आरोपका सम्बन्धमा छानबिन शुरू भयो ।
मन्त्रालयले दुईपटकसम्म यातायात व्यवस्था कार्यालय लुम्बिनी लाइसेन्सलाई पत्राचार गरेको थियो । तर, दुर्भाग्य सचिव दाहालको निर्धारित समयागावै काज फिर्ता भयो ।
उनी मुख्यमन्त्री कार्यालयबाट काजमा उक्त मन्त्रालयमा गएका थिए ।
‘लाइसेन्समा सबै कर्मचारीको मिलेमतोमा बदमासी भइरहेको छ,’ दाहालले लोकान्तरसँग भने, ‘यादवसहित सबै मिलेर व्यापक पैसा उठाएर परीक्षामै सहभागी नभएकाहरूलाई पनि लाइसेन्स बिक्री गरेका छन् । मैले केही सुधार गर्न थाल्छु भनेको उल्टै सरुवा गराइयो ।’
दाहालले थपे, ‘मलाई त केही दुःख छैन, यो विषय बाहिर ल्याएँ । म अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छु । यस्तो प्रवृत्ति चेञ्ज नभएसँग देशमा सुधार कहिल्यै हुँदैन ।’
अहिले श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा गृह मन्त्रालयबाट सह–सचिव दीपकराज नेपाल सचिव भएर आएका छन् ।
दाहाल मन्त्रालयको जिम्मेवारीमा आउनुअघि मुख्यमन्त्री कार्यालयमा कार्यरत रहँदा नै लाइसेन्स वितरणमा हुने गरेको अनियमितताबारे पहिलेदेखि नै जानकार थिए ।
यादवकै दबाबमा दाहाललाई मुख्यमन्त्री कार्यालयमा फिर्ता पठाइएको कार्यालयकै कर्मचारीहरू बताउँछन् । यादव यसअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीबाटै निलम्बनमा परेका थिए ।
यादवले लामो समयदेखि करारमा काम गर्दै आएका कर्मचारीलाई हटाएर आफू अनुकूलका कर्मचारीलाई राखेका छन् । ती कर्मचारी अहिले लाइसेन्स फाँटमा कार्यरत रहेको बताइएको छ ।
यादवले सबै पार्टीका कार्यकर्तालाई मिलाएर नयाँ कर्मचारी करारमा समेत राखेका छन् ।
७ वर्षदेखि करारमा काम गर्दै आएका नवलपरासी सुनवलका एक कर्मचारीले कार्यालय प्रमुखले आफू अनुकूल काम गर्न नपाएपछि आफूहरूलाई हटाएको बताए । नाम नबताउने शर्तमा उनले भने, ‘एक महिना तपाईं बिदामा बस्नुहोस्, त्यसपछि करार थप गरिदिन्छु भनेपछि बिदामा बसें । पछि करार थप गरिदिएनन् ।’
आफू अनुकूल काम गर्न नमान्ने करारका कर्मचारीलाई यसैगरी हटाउने गरिएको उनको गुनासो छ । आफूजस्ता सोझा मानिसहरूलाई मोहोरा बनाएर व्यापक आर्थिक चलखेल हुने गरेको उनको आरोप छ ।
काम गर्न नसकेको आरोप लगाएर उनीसहित ५ जना कर्मचारीलाई हटाइएको थियो ।
कुनै बेला यातायात व्यवस्था कार्यालय, भेरी (नेपालगञ्ज) लाई लाइसेन्स व्यापारको अखडा मानिन्थ्यो, अहिले त्यो रोग बुटवलमा सरेको छ ।
यसबारे प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख यादव बिदामा बसेका रहेछन् ।
हाल निमित्त कार्यालय प्रमुख रहेका आलोककुमार ओझा आफूलाई केही थाहा नभएको भन्दै पन्छिए । ‘यो विषयमा म केही जानकार छैन, मलाई नसोध्नुहोस्,’ उनले भने ।
लुम्बिनी प्रदेशकी श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले यस विषयमा आफूले सचिवसँग बुझ्ने बताइन् ।
यता सचिव दीपक नेपालले भने गुनासो नआउने गरी काम गर्न निर्देशन दिइसकेको बताए ।
लाइसेन्स कार्यालय लुम्बिनी बाग्मतीपछि सबैभन्दा बढी सेवाग्राही आउने कार्यालय हो । यहाँ लुम्बिनीका १२ जिल्ला मात्र होइन, छिमेकी प्रदेश गण्डकीबाट पनि सेवाग्राहीहरू आउने गर्छन् ।
९. आर्मीले सातदोबाटोलाई बराबरीमा रोक्यो
त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेलेको हो ।
एएफसी कपमा छनोट खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौं चरणको खेल सम्मको लिगबाट क्लब लाइसेन्स प्राप्त गरेको टोलीले एएफसी खेल्न पाउने प्राबधान रहेको अवस्थामा आर्मीलाई बराबरीमा नतिजाले धक्का लागेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भने विभागीय टोलीको क्लब आर्मीले सुरुआती अग्रता निकालेको थियो । १० औं मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै आर्मीविरुद्ध प्रशंसनीय खेल प्रदर्शन गरेको सातदोबाटोले आर्मीको अग्रतालाई धेरै समय टिक्न दिएन । ६ मिनेट पछि नै सातदोेबाटोका अजयी मार्टिन्सले १६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा अवस्थामा ल्याएका थिए ।
त्यसपछि अग्रता आर्मीले पहिलो हाफमा निकै संघर्ष गरे पनि सफल हुन सकेन । यस्तै सातदोबाटोले पनि केही राम्रा अवसर सदुपयोग गर्न चुक्यो । एकरएक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि आर्मीले दोस्रो हाफमा पनि आक्रामक खेल देखायो । तर आर्मीका प्रयास विफल भए । आर्मीका सन्तोष तामाङले ५५औं मिनेटमा गरेको प्रहार माथिल्लो बारबाट बाहिरिएको थियो । ७५ औं मिनेटमा पनि सन्तोषको भलि सटले पोस्टको दिशा लिन सकेन ।
सातदोबाटोका सेट पिसका अवसर पनि सदुपयोग हुन सकेनन् । बाँकी समयमा दुबै टोलीले गोलका लागि प्रयास गरिरहे पनि सफल हुन सकेनन र खेल बराबरीमा सकियो ।
बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । दुई अंक गुमाएको आर्मी केही घण्टाका लागि भएपनि शीर्ष स्थानमा उक्लिन बन्चित बन्यो । यता बराबरीपछि सातदोबाटो ८ अंकसहित चौंथो स्थानमा छ ।
अघिल्लो खेलमा एनआरटीसँग पराजित भएको सातदोबाटो बलियो आर्मीसँग अंक खोस्दै नबप्रवेशी पनि बलियो टोलीको रुपमा प्रमाणित गरेको छ । यस अघि सातदोबाटोले उपाधिदावेदार थ्री स्टारलाई हराउन सफल भएको थियो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै