एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीले रित्तिँदै छन् गाउँ, सन्दर्भ:अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

एन सञ्चार, पौष ३, काठमाडौं ।। आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि श्रमिकको हक, हित र अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् । नेपाल श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका २ करोड ७ लाख जनसङ्ख्यामध्ये ७० लाख ८७ हजारले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् । अहिले पनि लाखौँ नेपाली कामको लागि विदेशिन बाध्य छन् ।

आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म साढे ५६ लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति लिएर जाने बाहेक अनौपचारिक तवरले गएका तथा भारतमा रोजगारीमा जानेहरूको सङ्ख्या पनि लाखौँ हुने गर्दछ ।

वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको त छ नै, विदेशको कमाइले कयौँ परिवारको गुजारा चलेको छ । तर हजारौँ अप्रवासी श्रमिकले भने शोषण, विभेद, बाध्यकारी श्रम र बेचविखन लगायतका गम्भीर मानव अधिकार हननको सामना गर्नु परेको छ ।

कयौँको अस्वाभाविक ज्यान जानेसमेत भएको छ । अझै पनि वैदेशिक रोजगारीमा जाने प्रायजसाे श्रमिक अदक्ष रहेको छन् । सिप तथा तालिम नलिइ वैदेशिक रोजगारीमा जाँदा श्रमिकले तोकिएअनुसारको काम र पारिश्रमिक नपाउने, न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता खेप्दै आएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको भए पनि ८० हजार ३८२ जनाले अदक्ष श्रमिकका रुपमा काम गर्न स्वीकृति लिएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले जनाएको छ ।

जिफन्टले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारसँग अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका प्रायजसाे श्रमिकको अवस्था दयनीय रहेको, श्रमिकले तोकिएको सेवासुविधा नपाएको, कार्यस्थल परिवर्तनको अधिकारलाई प्रत्याभूत नगराइएको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिनुभएको छ ।  

वैदेशिक रोजगारीले रित्तिँदै छन् गाउँ

वैदेशिक रोजगारीका कारण रित्तिएका गाउँ र सामाजिक, सांस्कृतिक र पारिवारिक विचलनले गाउँमा सन्नाटा छ । आप्रवासनकै कारण दक्ष उत्पादनशील जनशक्ति विदेश पालयन भएर भित्रिएको विप्रेषणले हाम्रो चुलो बलेको छ । यसको एउटा उदाहरणका रुपमा यहाँको एउटा कार्यक्रमलाई लिन सकिन्छ । 

एक साताअघि बागलुङ नगरपालिकाले खहरे आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य उद्घाटन गर्‍यो । बागलुङ नगरपालिका–३ र छिमेकी गाउँपालिका काठेखोलाको वडा नं १ का अधिकांश सर्वसाधारणलाई कार्यक्रममा खबर थियो । स्थानीय सरकार गठनपछि घर छेउमा बनेको स्वास्थ्य संस्थाको भवन उद्घाटन समारोह । आफैले जिताएका नगरप्रमुख र वडाध्यक्ष । स्थानीय सरकारका कार्यकारी पदमा रहेका सबै त्यहाँ पुग्दा गाउँमा बस्ने जो कोहीको इच्छा थियो ‘कार्यक्रममा पुगौँ ।’ 

भयो पनि त्यस्तै । भवन बन्नुअघि विद्यालय र खेल मैदानको जग्गा भनेर विवादित भएको ठाउँमा गाउँका अधिकांश सर्वसाधारण पुगे तर त्यहाँ युवा देखिएनन् । खेल मैदान चाहिन्छ भनेर आवाज उठाउने युवा पनि विदेश पलायन भइसकेका छन् भने केही युवा सहर पसेका छन् । विद्यालय र खेल मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुखले युवालाई त सम्झे तर उनका कुरा सुन्ने वृद्ध, वयस्क र बालबालिका मात्रै थिए । कि त ४० वर्ष उमेर कटेका थिए भने कि वृद्ध र कि त सानो कक्षामा पढ्ने बालबालिका । सरकारी जागीरेबाहेक युवा कार्यक्रममा देखिएनन् ।

देशमा रोजगारीका अवसर कम छन् । स्वरोजगारमूलक व्यवसायमा समेत युवापुस्ता सन्तुष्ट छैनन् । वैदेशिक रोजगारीमा नपुगेसम्म बिहान बेलुकाको छाक टर्दैन । विदेशिएको एक जवान उमेर नघर्केसम्म घर फर्किंदैन ।

त्यसैले गाउँ रित्तिएका छन् । वृद्ध र बालबालिकाले मात्रै गाउँ धानेका छन् । गाउँघरमा हुने सभा, सम्मेलन हुन वा कृषि कर्म । भेला, बैठक हुन वा विकासे काम, आजभोलि युवाको सहभागिता निकै कम छ । विदेशिने प्रचलन निकै बढेकाले गाउँमा युवा देख्न कठिन हुन थालेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मी बताउँछन् । “गाउँ युवाविहिन भएका छन्”, रेग्मीले भने, “उत्पादनशील जनशक्तिको अभाव हुन थालेको छ, विदेशमा सस्तो मूल्यमा हाम्रो परिश्रम विकिरहेको छ ।”

आप्रवासनले विप्रेषण भित्र्याएको भए पनि नेपाली समाजमा गहिरो गरी सामाजिक पुँजीको नाश भइरहेको वैदेशिक रोजगार बोर्डको ठम्याइ छ । अर्कोतर्फ असुरक्षित आप्रवासनका कारण हाम्रा युवाले अनाहकमा ज्यान गुमाइरहेका छन् । “तथ्याङ्क हेर्दा कहालीलाग्दो छ, पछिल्लो चार महिना राहदानी बनाउने युवाको सङ्ख्या हेर्दा उदेकलाग्दो छ”, रेग्मी भन्छन्, “स्वरोजगारीलाई जोड दिनु आवश्यक छ ।” 

बोर्डको तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै बागलुङबाट वैदेशिक रोजगारीमा गएका १७ जना युवाले उतै ज्यान गुमाए । कोभिड–१९ महामारीको चपेटामा परेर ज्यान गुमाएकाको त अझै तथ्याङ्क छैन । पाँच जना युवा अङ्गभङ्ग भएर फर्किएका छन् । उनीहरुको काम गरेर खानसक्ने अवस्था छैन । “आज विदेशमा भएका बाबुआमासँग बच्चाले चकलेट र ट्याबको आशा राखेको छ, माया ममता त एकादेशको कथा हुने भो”, सामाजिक संस्था बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भने, “एकाध महिना घरमा आएको बाबुआमालाई बच्चाले भन्छ, हजुर फेरि जानु मलाई त्यही चकलेट, ट्याब, नाना र सामान ल्याइदिनु ।” 

आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दो रहेको सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगारीलाई कम गर्दै स्वरोजगारमूलक व्यवसायमा लाग्न धेरै सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम त ल्याएका छन् तर आप्रवासनका कारण भइरहेको आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको न्यूनीकरण आवश्यक छ । उज्यालो र रातोपाटीबाट ।। 


© 2022 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd