ओलीको टिके सल्लाहकार नबन्ने भीम रावलको घोषणा, प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमाले नजाने, संसदको अधिवेशनमा एमसीसी सम्झौताको प्रस्ताव टेबुल भएमा सरकारको समिकरण समेत अदलबदल हुन सक्नेः उपाध्यक्ष पाण्डे

एन सञ्चार, ३ पौष, काठमाडौं ।।
१.ओलीको टिके सल्लाहकार नबन्ने भीम रावलको घोषणा

नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गरेका छन्।

महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको जिम्मेवारी दिइएको बताएका बेला रावलले त्यसको खण्डन गरेका छन्।

उनले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै टिके प्रणालीबाट आफू सल्लाहकार नबन्ने स्पष्ट पारेका छन्।

‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ रावलले भनेका छन्, ‘यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

अध्यक्ष ओलीसँग १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेका थिए।

२. वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न ‘र्‍यापिड रेस्पोन्स टीम’ गठन

सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ‘र्‍यापिड रेस्पोन्स टीम’ गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको यस टीममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहनुभएको छ भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहनुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि शीघ्र प्रत्युत्तर टोली गठन गरिएको बताउनुभयो । शीघ्र प्रत्युत्तर टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, संघ(संस्था तथा व्यक्तिले वदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानबिन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।

वैदेशिक रोजगार सम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानुनको प्रभावकारी कार्यन्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्वोधन गर्न शीघ्र प्रत्युत्तर टोलीले काम गर्नेछ । वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न शीघ्र प्रत्युत्तर टोली गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

३. ‘ए’ डिभिजन लिग : थ्री स्टार र एनआरटीले बराबरी खेले, घरेलु मैदानमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हरायो 

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज भएको तेस्रो खेलमा थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

आजको बराबरीसँगै समान ६/६ अङ्क भए पनि थ्री स्टार छैटोँ र एनआरटी सातौँ स्थानमा छन् ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत् घरेलु मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

घरेलु मैदान पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोलले हरायो । मनाङको लागि कप्तान अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । जितसँगै मनाङ पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पुलिसले भने पाँच खेलमा पाँच अंक मात्रै जोडेको छ ।

अर्को खेलमा जावलाखेल क्लबले च्यासल युथ क्बललाई हराएको छ । लिगमा पहिलो जित निकाल्ने क्रममा जावलाखेलले च्यासललाई १–० गोलले हरायो । दशरथ रंगशालमा भएको खेलमा उसका लागि विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे । जितसँगै जावलाखेल चार अंकका साथ १० औँ स्थानमा उक्लिएको छ । च्यासल ११ औँ स्थानमा झरेको छ ।

४. प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमाले नजाने

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

उनले आइतबार दिउसो ४ बजे संसद्मा जारी अवरोध, एमसीसीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका राससले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ ।

नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी पारित गर्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक आह्वान गर्न आग्रह गरेका थिए ।
तर प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा भने नेकपा एमाले नजाने भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले एमसीसी पारितका विषयमा छलफल गर्न बैठक बोलाएको भन्ने जानकारी पाएको हुँदा एमाले उक्त बैठकमा सहभागी हुने छैन ।

उनका अनुसार एमालेले लगातार उठाएको विषयमा छलफल नै नगरी अर्को विषयमा छलफल गर्नुको कुनै औचित्य छैन ।

त्यसबाहेक एमसीसीमा सत्तारुढ गठबन्धनभित्रै एकमत नरहेको हुँदा आफूहरुको थप धारणा नरहेको पनि बताए ।

५. कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी, को/को समेटिए शीर्ष १० मा र?

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ३५ जना खुल्ला केन्द्रीय सदस्यहरूको लागि मतगणना जारी छ ।
शनिवार दिउँसोबाट शुरू गरिएको मतगणना आज रातिसम्ममा सक्ने निर्वाचन समितिले बताएको छ ।

मतगणनामा कुन उम्मेदवारले कति मत पाए भन्ने सार्वजनिक गरिएको छैन । १२ स्थानमा मतगणना भइरहेको बताइएको छ । हरेक १२ सय मत गणना भएपछि विवरण सार्वजनिक गर्ने भनिएको छ ।

मतगणनास्थलमा रहेका एक प्रतिनिधिका अनुसार केहीबेरअघिसम्म करीब ९०० मतगणना भएको छ ।
उक्त गणनाका आधारमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला पहिलो स्थानमा रहेका छन् ।

उनलाई गृहमन्त्री रहेका बालकृष्ण खाणले पछ्याइरहेका छन् । खाण शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए ।

त्यसै गरी, सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र कार्की तेस्रो स्थानमा छन् । शुरूआती अवस्थामा दोस्रो स्थानमा रहेका उदयशमशेर राणा भने अहिले शीर्ष १० स्थान भन्दा तल परेको ती प्रतिनिधिले बताए ।

त्यसबाहेक रमेश लेखक, अर्जुननरसिंह केसी, एपी साउँदलगायतका नेता मतगणनामा शीर्ष १० मा रहेको बताइएको छ ।

कांग्रेसको खुल्लातर्फ ३५ जनाको लागि ९९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

६. पाकिस्तानको कराँचीमा विस्फोट, १० जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिवार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ ।
हाल अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिएका छन् ।

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ ।

विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ ।

उद्धार टोली फसेका मानिसहरूको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ ।

कराँची सिन्धको प्रान्तीय राजधानी हो । सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतंकवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

७. कुलमान घिसिङ सम्मानित

उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिए ।
कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरियो । राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताए ।
नेपालमा अवसरै अवसर रहेको भन्दै उनले केही पनि काम पाइएन र केही पनि भएन भनेर विदेशिने प्रवृत्तिको अन्त्यका लागि राजनीतिमा नै सुधार गर्ने ध्येयका साथ आफू पनि सक्रिय राजनीतिक कर्ममा आएको बताए ।

उनले आफूले पनि भोजपुरमा एक हजार रोपनीका कागती खेती गरेको तथा अन्य कृषि कर्मलाई अगाडि बढाएको जानकारी दिँदै देशमा अवसर खोज्न र सीपयुक्त अध्ययनमा केन्द्रीत हुन आग्रह गरे । राज्यमन्त्री श्रेष्ठले एक जिल्ला एक उत्पादनको अवधारणाका साथ अगाडि बढेकामा क्यासनेप फाउण्डेसनलाई सफलताको शुभकामना दिए ।

८. नेपाल पर्यटन बोर्डका सिइओ निलम्बित, नन्दिनी थापालाई कार्यवाहक दिइयो

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको शुक्रवार बसेको बैठकले उनीमाथि छानविन गर्न समिति गठन गरेसँगै निलम्बनमा परेका हुन् ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका

काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिका दुई सदस्य मन्त्रालयबाट तोकिने स्रोतले जनाएको छ । रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो ।

उनीमाथि अन्य आरोपहरु समेत लागेपछि बोर्ड बैठक बसेर छानविन समिति गठन भएको हो । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् ।

उनको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाएकी छन् । समितिले छानविनका क्रममा रेग्मी दोषी भेटिएमा बोर्डले उनलाई कारवाही गरेर हटाउनेछ ।

रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो ।

दुई वर्ष कार्यकाल बाँकी छदै विदेशबाट फर्कदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको थियो ।

मन्त्रीसँग सम्वन्ध चिसिएसँगै बोर्डका नीतिगत कामहरु प्रभावित हुँदै आएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले रेग्मीलाई २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त गरेको थियो ।

९. संसदको अधिवेशनमा एमसीसी सम्झौताको प्रस्ताव टेबुल भएमा सरकारको समिकरण समेत अदलबदल हुन सक्नेः उपाध्यक्ष पाण्डे

एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले यही पुस ६ गते हुने संसदको अधिवेशनमा एमसीसी सम्झौताको प्रस्ताव टेबुल हुन सक्ने बताएका छन् ।

यदि एमसीसी सम्झौताको सन्दर्भमा प्रस्ताव टेबुल भएमा सरकारको समिकरण समेत अदलबदल हुन सक्ने उनले बताए । नेकपा एमाले रत्ननगर नगर कमिटीको दोस्रो पूर्ण बैठक एवम् स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले पार्टीको १० औँ महाधिवेशनमा देखिएको जनलहर र जनउपस्थिति देखेर कांग्रेस, माओवादी अताल्लिएको समेत बताए । देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति एमाले भएको र फेरि पनि बहुमत सहित एमाले देशकै ठूलो पार्टी हुने पनि बताए । देशमा कुनै पनि समयमा निर्वाचन हुन सक्ने भएकाले सम्पूर्ण पार्टी कमिटी निर्वाचनको सामना गर्न तयारीका साथ रहन पनि उनले आग्रह गरे ।