जनकपुरमा कांग्रेसको देउवा र निधी पक्षबीच प्रदेश अधिवेशनको मतदान स्थलमा कुटाकुट: मतदान भोलिलाई सर्‍यो

जनकपुरधाम, पुस ७-

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद भएको छ । गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो ।

विमलेन्द्र निधि–शेखर कोइराला समूहले ढिलो भएको भन्दै बिहीबार मतदान गराउने माग गरेको थियो । तर, शेरबहादुर देउवा समूहका नेताहरूले भने आजै राति नै मतदान गराउनुपर्ने अडान राखेपछि दुई समूहबीच विवाद भएको हो । निधि समूहबाट रामसरोज यादव र देउवा समुहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा छन् ।

 अधिवेशन अन्तर्गत आज हुने भनिएको  मतदान स्थगित भएको छ । जनकपुरधामस्थित गोपाल धर्मशालामा बुधबार दिउँसो १ बजेदेखि मतदानको समय निर्धारण गरिएको थियो । तर साँझ ६ बजेसम्म पनि प्राविधिक तयारी पूरा नभएकोले मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जनाए ।उनले मतपत्र छपाइको काम पूरा हुन नसकेको भन्दै  मतदान स्थगित गरिएको बताए ।