नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तथा चितवनमा बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामरा चोरी, ‘पालिका चुनाव आउँदो वैशाख २० गते गर्ने तयारी’, ‘कोभिडविरुद्धको खोप कार्यक्रमका लागि सिरिन्ज अभाव हुँदै’

एन सञ्चार, पौष ७, काठमाडौं ।।
१. नेपालमा भेटिए ओमिक्रोनका नयाँ संक्रमित

नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिइन् । प्रवक्ता कौशलका अनुसार संक्रमण पुष्टि हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् ।

ओमिक्रोन पुष्टि भएसँगै उनलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमितको सम्पर्कमा रहेकाहरूको कनट्र्याक्ट ट्रेसिङ भइरहेको बताइएको छ ।

नेपालमा यसअघि पनि दुई जनामा ओमिक्रोन पुष्टि भएको थियो भने दुवै जना संक्रमणमुक्त भइसकेका छन् ।

२. ‘पालिका चुनाव आउँदो वैशाख २० गते गर्ने तयारी’

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आउँदो वैशाख २० गते सात सय ५३ वटै पालिकाको चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।

पालिका सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरूको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा चुनाव गर्न आयोग गम्भीर रहेको उहाँले बताउनुभयो ।

छिट्टै नै पालिका निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उहाँको भनाइ छ । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति, उपराष्ट्रपति पदको चुनाव सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

‘अबको चुनाव लैङ्गिक एवम् समावेशी दृष्टिकोणले उपयुक्त हुनेछ’

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने चुनाव लैङ्गिक एवम् समावेशी दृष्टिकोणले उपयुक्त हुने बताउनुभएको छ । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुई दिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठीु’ मा उहाँले चुनाव आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताउनुभयो ।

पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःख–सुख बिसाउने, आपत् विपदमा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाउनुभयो ।

‘निर्वाचन सञ्चालन र व्यवस्थापनका सन्दर्भमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनेछ’, उहाँले भन्नुभयो, ‘जसबाट प्राप्त सुझावलाई आउँदा दिनमा आमसञ्चारको क्षेत्रलाई निर्वाचनका सन्दर्भमा व्यवस्थापन गर्ने उपयुक्त रणनीति बनाउने छौँ ।’

कार्यक्रममा उहाँले बहुदलीय व्यवस्थामा दल महत्त्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरूपणका साथै चुनावका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा चुनावलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको उहाँले बताउनुभयो ।

उहाँले आमसञ्चार क्षेत्रलाई चुनावसँग जोड्नका निम्ति पनि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । चुनाव गतिलो भयो भने मात्रै शासक, प्रतिनिधि गतिलो हुने उल्लेख गर्दै उहाँले निर्वाचन आयोग र त्यसभन्दा बाहिरका सरोकारवाला राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला निकायसमक्ष जोड्ने पुलको काम सञ्चार जगतले नै गर्ने भएकाले त्यसमा सहयोग गर्न पत्रकार र सञ्चार गृहलाई आग्रह गर्नुभयो ।

गोष्ठीमा छापा र टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत २६ महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैङ्गिकता तथा समावेशीता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।

३. नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)  तथा चितवनमा बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामरा चोरी

राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा गएको मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न ठाउँमा राखिएका पाँच वटा क्यामरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामरामध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार तथा चितवनमा एउटा क्यामरा चोरी भएको निकुञ्जले जनाएको छ । आज बुधवार पत्रकार सम्मेलन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नवलपरासीको कावासोतीमा चार वटा क्यामरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामरा हराएको जानकारी दिनुभयो ।

बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामरा राखेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व० को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । आचार्यले बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामरा राखिएको जानकारी दिनुभयो ।

निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामरा राखेको आचार्यले बताउनुभयो । बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामरा अन्य प्रयोजनका लागि काममा नआउने बताउनुभयो । क्यामरा जडान गरिएको तेस्रो दिनमा क्यामरा हराएको भन्दै क्यामराको सुरक्षा गर्नु सबैको दायित्व भएको आचार्यले बताउनुभयो ।

बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामरा राखेको छ । बाघ सर्वेक्षणका लागि राखिएको ठाउँमा एउटै बाघलाई दुई वटा क्यामराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।

चितवन–पर्सा कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि झन्डै तीन महिना समय लाग्ने उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले अहिले १३ ठाउँमा क्याम्प राखेर बाघ सर्वेक्षणको काम भइरहेको जानकारी दिनुभयो । एउटा क्याम्पमा गणक र प्राविधिकसहित आठ जनाको टोली परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ सर्वेक्षणको नजिताअनुसार ९३ वटा बाघ छन् ।

नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या दुई सय ५० पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ वटा पुगिसकेको छ ।

४. एससीसीबारे सत्तारुढ कार्यदलले सुरु गर्‍यो प्रारम्भिक छलफल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न आज बुधवारदेखि छलफल सुरु गरेको हो ।

कार्यदलका संयोजक खनालको डल्लुमा रहेको निवासमा एमसीसीबारे साझा धारणा तय गर्ने आज पहिलो बैठक बसेको हो । बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याएर सञ्चारमाध्याममार्फत नेपाली नागरिकलाई सुसूचित गर्ने योजना पनि बनाएको छ ।

मन्त्री कार्कीले भन्नुभयो, ‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौँ र छलफल सकारात्मक भएको छ । केही दिनपछि हामी एउटा निष्कर्षमा पुग्छौँ ।’

सत्तारुढ पाँच दलले केही दिनअघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेतासमेत रहनुभएका मन्त्री कार्की सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाएको पनि जनाएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमा हुनुहुन्छ भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन् । यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरूको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरूले निर्णय लिने बताउँदै आएको छ ।

५.कोरोना अपडेटः थप २३६ जनामा संक्रमण, २ जनाको मृत्यु

गत २४ घण्टाभित्र नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार २६६ जनाको पिसिआर परीक्षण र
४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार ४२३ र एन्टिजेन परीक्षणबाट ९६ हजार ४० रहेको छ ।

निको हुनेको संख्या २७२ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख ९ हजार ६५९ पुगेको छ।

संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५७९ रहेको छ।

नेपालमा हाल ५ हजार १८५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ३९ हजार ६६१ खोप लगाइएको छ।

६. ‘कोभिडविरुद्धको खोप कार्यक्रमका लागि सिरिन्ज अभाव हुँदै’

गएको मंसिर २८ गते केन्द्रबाट प्रदेश–१ का लागि तीन लाख ७७ हजार ८५० डोज भेरोसेल खोप प्राप्त भएको थियो । तर, सोही परिमाणमा सुई भने प्राप्त नभएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु साहले बताए ।

“खोपसँगै सुई पनि नआउँदा कोभिडविरुद्धको अभियान सञ्चालन गर्न सकिएको छैन,” उनले भने, “समस्याको विषयमा केन्द्रलाई जानकारी गराइसकेका छौँ ।” साहकाअनुसार हाल आपूर्ति केन्द्रमा सुईको मौज्दात संख्या ६० हजार मात्र छ ।

प्रदेश १ मात्रै होइन कोभिड १९ को खोप दिनका लागि अहिले विश्वभर नै सिरिन्जको माग बढेको छ । नेपालमा नियमित खोप कार्यक्रमका लागि अधिकांश खोप र सिरिन्ज युनिसेफ र विश्व स्वास्थ्य संगठनले व्यवस्थापन गर्दै आएको थियो ।

तर, कोभिड १९ विरुद्धको खोपका लागि अनुदानमा आएको खोपबाहेक सरकार आफैँले पनि सिरिन्ज खरिद गरिरहेको छ । तर पछिल्लो समय युनिसेफको ५० लाख र चीनबाट २० लाख सिरिन्ज आउन ढिलाइ भएपछि केही कमी देखिएको हो ।

‘सिरिन्ज आउँछ खोप कार्यक्रम रोकिँदैन’

विभिन्न देशहरूले नेपालमा खोप अनुदानमा पठाउँदा सिरिन्ज पनि साथै पठाउने गरेका छन् । तर, खोप जहाजबाट आएपनि सिरिन्ज भने पानीजहाजबाट विभिन्न देश हुँदै नेपाल आइपुग्नुपर्ने भएकाले केही ढिलो हुने स्वास्थ्य सेवा विभागका खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाको भनाइ छ ।

७. किस्ता तिर्न नसकेको वायुसेवा निगम ‘सफ्ट लोन’को खोजीमा

नेपाल वायुसेवा निगम सहुलियतपूर्ण ऋण (सफ्ट लोन) को खोजीमा लागेको छ । हालको ऋणको ब्याजदर निकै बढी भएको र त्यसले संस्थानलाई नोक्सान गरेको भन्दै सफ्ट लोनको खोजीमा निगम लागेको हो ।

कोभिड–१९ को असरपछि निगम किस्ता गर्न नसक्ने अवस्थामा छ । निगमले गत चैतदेखि किस्ता तिर्न सकेको छैन । विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२र१२ अर्ब रुपैयाँ ऋण लिएको निगमले कोभिड अगाडि दुई किस्ता तिरेको थियो । त्यसपछि किस्ता तिर्न सकेको छैन ।
अर्थ मन्त्रालय जमानी बसेकाले किस्ता नपाए पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै निगमलाई ऋण तिर्न अत्याएका पनि छैनन् । निगमले वार्षिक रूपमा जति ब्याज भुक्तानी गर्न सक्दैन, त्यो ब्याजबापतको रकम सावाँमा रूपान्तरण हुनेछ । कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र त्यसको चपेटामा निगम पनि परेकाले अझै केही वर्ष निगम ऋण तिर्न समस्यामा पर्ने देखिन्छ ।

निगम एकातर्फ ठूला विमान खरिद गर्दाको किस्ता तिर्न नसक्दा समस्या छ भने अर्कोतर्फ चिनियाँ जहाजबाट समेत वार्षिक करोडौँ रुपैयाँ घाटा व्यहोर्न बाध्य छ । उच्च ब्याजदरका कारण पनि निगम समस्यामा परेको बुझाइ निगमका अधिकारीहरूको छ ।

८. विश्व स्वास्थ्य संगठनले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गर्छौं: स्वास्थ्य मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा पुस अन्तिमदेखि बुस्टर डोज दिन सुरू गरिने जनाएका छन्।

मन्त्री खतिवडाले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अनुमति पाएको अवस्थामा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको जनाए।

उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने बताए।

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका अधिकांश देशहरूमा फैलिँदै जाँदा नेपालमा पनि बुस्टर डोजको कुरा आएको हो। तर खोपले उक्त नयाँ भेरियन्टलाई रोक्न मद्दत गर्छरगर्दैन भन्ने ठोस तथ्य बाहिरिएको छैन।

नयाँ भेरियन्टलाई लिएर अहिले पनि विभिन्न अनुसन्धान र अध्ययन जारी छन्।

९. एमालेको अवरोधकै बीच चार अध्‍यादेश संसद्‌बाट स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच बुधबार प्रतिनिधिसभाबाट चार वटा अध्‍यादेश स्वीकृत भएको छ ।

प्रतिनिधिसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत भएको हो ।

यसअघि मंगलबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख सापकोटाले संसदको कारबाही अघ बढाए । अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दिएका थिए । तर उनको विरोधको सूचना बहुमतले अस्वीकृत भयो ।

अध्यादेश स्वीकृत भएपछि प्रतिनिधिसभा पुस १८ गतेसम्मका लागि स्थगित भएको छ ।