दाँत माझ्दा हामीले गर्ने गल्ती, ठीकसँग माझ्न ध्यान दिनुपर्ने ६ कुरा

हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ। कतिले त निकालेरै फाल्नुपर्छ।

किन होला त? 

किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं। दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं। 

सानोदेखि नै गर्दै आएको काम पनि सिकाउनुपर्छ र भन्नु होला! दाँत माझ्ने पनि नियम हुन्छ र भन्ने पनि लाग्ला! तर संसारका धेरै देशमा भएका अनुसन्धानले अधिकांश मान्छेले गलत तरिकाले दाँत माझिरहेको देखाएका छन्। त्यसैले अहिले पनि अध्येताहरू हामीलाई दाँत माझ्ने तरिका सुझाइरहेका हुन्छन्। 

दाँतमा समस्या आउने भनेको त्यहाँ जम्मा हुने फोहोरले हो। फोहोर भन्नाले ब्याक्टेरिया, तिनले निकाल्ने एसिड (अम्ल) र खानेकुराका लेग्रा हुन्। खानेकुरा खानेबित्तिकै यी सबै कुरा दाँतमा बस्छन्। तत्कालका लागि हानिकारक पनि हुँदैनन्। तर लामो समयसम्म यी सफा नभएर दाँतमा बसिरहे समस्या निम्त्याउँछन्।

कति समयमा यस्ता पदार्थ दाँतका लागि हानिकारक बन्छन् भन्ने यकिन त छैन, तर सामान्यतया १२ घन्टासम्म यसै छाडिए हानिकारक हुन थाल्ने अध्येताहरूले बताएका छन्। 

अध्ययनहरूका अनुसार हाम्रो दन्त स्वास्थ्यमा दाँत माझ्ने तरिकाले ठूलो फरक पार्छ। सही तरिका र शैली पछ्याएदेखि दाँतमा देखिने धेरै समस्या कम हुने उनीहरूले बताएका छन्। 

उसो भए दाँत कसरी माझ्ने? कति समय माझ्ने? कस्तो ब्रस वा मञ्जनले माझ्ने?

हामीले स्वास्थ्यसम्बन्धी लेख प्रकाशन गर्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित लेखका आधारमा यी र यस्तै प्रश्नको जवाफ खोजेर यहाँ बुँदामा प्रस्तुत गरेका छौं।

१. कस्तो ब्रसले माझ्ने?

धेरैजसोका लागि नरम तार र तारहरूबीचको दुरी मध्यम भएको ब्रस उपयुक्त हुन्छ।

फराकिलो तार भएको ब्रसभन्दा मसिना रेसा भएका ब्रसले अप्ठ्यारा र भित्री भागसम्म पुगेर सफा गर्न मद्दत गर्छ। तर कतिपय मसिना रेसा भएका ब्रसले संवेदनशील गिँजामा असर पार्न सक्छन्।

त्यसैले सबभन्दा उपयुक्त नरम र मध्यम रेसा भएका ब्रस हुन्छ। किनकी यसले गिँजा र दाँतलाई असर गर्दैन।

कतिले ब्रस घोटीघोटी दाँत माझ्छन्। यसो गर्नु हुँदैन। यसरी माझे दाँत र गिँजा दुवैलाई असर पर्छ।

अनि ब्रस छान्दा हातमा सजिलै अट्ने र समाउन सजिलो हुने ह्यान्डल भएको छान्नुपर्छ। एउटै ब्रस लामो समय चलाउनु पनि हुँदैन। सामान्यतया चार-पाँच महिनाभन्दा बढी समय एउटै ब्रस प्रयोग गर्नु राम्रो मानिँदैन। त्यस्तै ब्रसका तार फ्याँ परे वा बिग्रिएजस्तो देखिए भने त्यसले अब काम गर्दैन भन्ने बुझे हुन्छ। 

हातले घोटेर माझ्ने ब्रसभन्दा विद्युतीय ब्रस धेरै प्रभावकारी हुने पनि वैज्ञानिक अध्ययनले पुष्टि गरेका छन्।

अर्को मुख्य कुरा, दाँतसँगै हाम्रो ब्रस पनि सफा गर्नुपर्छ। हामीले दाँत माझिसकेपछि ब्रसमा ब्याक्टेरिया बसेका हुन्छन्। ब्रस राम्ररी सफा नगरी राखे ब्याक्टेरिया त्यहाँ रहिरहन्छ। माझिसकेपछि केही समय धारामा थापेर ब्रस पनि सफा गर्न नभुल्नुहोला।

२. कस्तो मञ्जनले माझ्ने?

दाँत माझ्दा धेरैजसो फाइदा मञ्जनले नै दिने हो। मञ्जनमा हुने मुख्य पदार्थ भनेको फ्लोराइड हो जसले दाँतमा कीरा लाग्न रोक्ने पुष्टि भइसकेको छ। फ्लोराइडले दाँतबाट गुमेको खनिज फर्काउँछ र बलियो पनि बनाउँछ।

फ्लोराइडको मात्रा १३५० देखि १५०० पिपिएम भएको मञ्जन राम्रो हुन्छ। यत्ति मात्रा भएको मञ्जनले कीरा रोक्न प्रभावकारी भूमिका खेल्छ। प्रायः मञ्जनको पछाडि भागमा फ्लोराइडको मात्रा उल्लेख गरिएको हुन्छ। सामान्यतया यो प्रतिशतमा उल्लेख हुन्छ।

केटाकेटीले भने दाँत माझ्दा आधाजसो निल्ने भएकाले उनीहरूका लागि बनाइएका अधिकांश मञ्जनमा फ्लोराइड कम हुन्छ वा हुँदै हुँदैन। फ्लोराइड निलिनु स्वस्थकर मानिँदैन। तर केटाकेटीकै दाँत सबभन्दा जोखिममा पनि हुन्छन्। त्यसैले उनीहरूको उमेर र दाँतको अवस्था हेरेर दन्त चिकित्सकको सल्लाहमा मञ्जन चलाउन दिनु राम्रो हुन्छ। 

३. दाँत कसरी माझ्ने?

सबभन्दा पहिले केराउ आकार जति मञ्जन ब्रसमा लगाउने। यसलाई दाँतमा दायाँबायाँ सिधै घोट्ने होइन। घुमाइ घुमाइ गोलाकार बनाउँदै माझ्नुपर्छ।

अनि ब्रस सिधा, तेर्सो वा ठाडो बनाउनु हुँदैन। ४५ डिग्रीको कोणमा अर्थात् अलिकति छड्के बनाएर माझ्नुपर्छ। अनि मुख आँ गरेर दाँतको भित्रपट्टिसम्म सफा गर्नुपर्छ।

४. दाँत कति समय माझ्ने? कतिपटक माझ्ने?

ब्याक्टेरियाले चिनी र चिनीजन्य पदार्थ लिएर अम्ल उत्पादन गर्छ। यो अम्लले दाँतमा भएका खनिज तत्व पगाल्छ। अनि हाम्रा आँखाले देख्न नसक्ने स-साना प्वाल बन्न थाल्छन्। यो प्रक्रिया बन्द नभए र बेलैमा उपचार नगरे आँखाले देख्न सकिने प्वाल बन्छन्। यसैलाई सामान्य भाषामा हामी दाँतमा कीरा लागेको भन्छौं।

हामीले दिनको दुईपटक, दिनमा र रातमा दाँत माझ्नुपर्छ। दिउँसोको तुलनामा राति हामीले कम मात्रामा थुक उत्पादन गर्छौं। थुकले हाम्रो दाँतको सुरक्षा गर्छ। कम थुक भएकै कारण राति हाम्रो दाँतको सुरक्षा पनि कम हुन्छ र अम्ल उत्पादन हुने जोखिम बढ्छ।

त्यसैले राति सुत्नुभन्दा अगाडि दाँत राम्ररी माझेर सबै लेग्रा हटाउन जरूरी छ। नभए त रातभर ब्याक्टेरिया तिनै लेग्रा खाएर हुर्किन्छ।

बेलुकी दाँत माझिसकेपछि सादा पानीबाहेक अरू कुरा खानु हुँदैन। यसो हुँदा मञ्जनबाट पाएको फ्लोराइडले लामो समय राम्ररी काम गर्न पनि पाउँछ।

अध्येताहरूका अनुसार दाँतमा भएका लेग्रा र अन्य हानिकारक पदार्थ हटाउन कम्तीमा दुई-तीन मिनेटसम्म माझ्नु उपयुक्त हुन्छ। खस्याकखुसुक एक मिनेट पनि नमाझ्दा दाँत सफा हुँदैन।

५. जिब्रो पनि सफा गर्नुपर्छः

दाँतमा भएका ब्याक्टेरिया हाम्रो जिब्रोमा पनि बसेका हुन्छन्। जिब्रोका ब्याक्टेरियाले पनि दाँत र मुखको स्वास्थ्यमा असर पार्छन्। जिब्रोका ब्याक्टेरिया सहजै हटाउन मुश्किल हुन्छ। त्यसैले जिब्रोमा पनि ब्रस लगाउनुपर्छ।

दाँत माझिसकेपछि फेरि अलिकति मञ्जन राखेर हलुका र विस्तारै जिब्रोमा पनि ब्रस गर्ने बानी बसाउनुपर्छ।

६. दाँत माझ्दा थुक्ने गर्नुहोस्, कुला गर्ने होइनः

दाँत माझेपछि पानी वा बजारमा पाइने माउथवासले कुला पनि नगर्न अध्येताहरू सुझाउँछन्। यसले मञ्जनबाट प्राप्त फ्लोराइड पनि पखालिन्छ।

कुला नगरी दाँत माझ्ने चलनै नभएकाको बानी यसै त फेरिँदैन। तर याद राख्नुहोस्, तपाईंले कुला गर्नुको साटो सर्लक्क पखालेर थुक्नु मात्र भयो भने दाँत कीरा लाग्ने समस्या २५ प्रतिशतसम्म कम हुने अध्ययनहरूले देखाएका छन्।

आफ्नो दाँत स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ भने चिनी खाने बानी पनि कम गर्नुहोस्। सामान्यतया प्राकृतिक फल र खानेकुरामा पाइने चिनीको तुलनामा खानेकुरामा पछि राखिएको चिनीले दाँतलाई धेरै असर गर्छ। चिनीजन्य खानेकुरा दाँतका ब्याक्टेरियाले लिन निकै सहज हुन्छ।

कुन खालको चिनी दाँतका लागि सबभन्दा खराब हो भन्न त निकै कठिन छ। तैपनि उदाहरण दिनुपर्दा प्राकृतिक फलमा पाइने चिनी ठिकै हुन्छ। तर बजारमा पाइने फलफूलका जुस हानिकारक हुन्छन्। त्यसैले आफू र घरपरिवारका अन्य सदस्य, विशेषगरी केटाकेटीले कति र कस्तो चिनी खाइरहेका छन् भन्ने याद गर्नुपर्छ।

स्वस्थ दाँतका लागि यत्ति गरे पनि पर्याप्त हुन्छ-

दिनमा दुईपटक फ्लोराइड भएको मञ्जनले दुई-तीन मिनेट सही तरिकामा दाँत माझ्नुहोस्।

कुला गर्ने होइन, थुक्ने बानी गर्नुहोस्।

दाँत माझेपछि राति केही नखानुहोस्।

अनि चिनी कम खानुहोस्।

(यो लेख विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको हो।)