दयाराम आचार्य , कावासोती ,पुस ११ : प्रथम ज्येष्ठ नागरिक राष्ट्रिय दिवस कावासोतीमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय नवलपुर, कावासोती नगरपालिका, ज्येष्ठ नागरिक जिल्ला संघ नवलपुर र कावासोती ज्येष्ठ नागरिक संघको सयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

सो अवसरमा जिल्लाका बिभिन्न स्थानीय तहका १२ जना ज्येष्ठ नागरिकलाई खादा, लौरो, न्यानो कपडा सहित सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले परिवारकै अपहेलनाका कारण धेरै ज्येष्ठ नागरिकले समस्या भोगिरहेको बताउनु भएको छ ।

आफूले सक्दो समयसँग परिवारको रेखदेखमा समय व्यतीत गरेका ज्येष्ठ नागरिक अशक्त हुने बित्तिकै परिवारबाटै हेला सहनुपर्ने अवस्था रहेको बताउनुभयो । परिवारलेनै ज्येष्ठ नागरिकको योगदान बिर्सिने हो भने अरुले के गर्लान् भन्ने प्रश्न उब्जिएको भन्दै उहाँले परिवारले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताउनुभयो ।

उनीहरूले परिवारमा पुर्याएको योगदानको कदर गर्दै परिवारलेनै पहिला सम्मान गर्नुपर्ने प्रमुख पुनले बताउनुभयो । परिवार सहित सबै सरोकारवालाले ज्येष्ठ नागरिकलाई सम्मान पूर्वक जीवनयापन गराउने कुरामा लाग्नुपर्ने नगर प्रमुख पुनले बताउनुभयो ।
छर छिमेकमा कसैले ज्येष्ठ नागरिक प्रति दुर्व्यवहार गरे त्यसको प्रतिवाद गर्ने र सम्बन्धी ठाउँमा सूचना दिएर कानूनी उपचारको बाटोमा समेत जानुपर्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले ज्येष्ठ नागरिकको योगदान धेरै रहेको भन्दै उनीहरूको योगदानको कदर परिवार ,स्थानीय सरकार, राष्ट्र सबैले गर्नुपर्ने बताउनुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख ज्ञान प्रसाद भुसालले ज्येष्ठ नागरिकका समस्या र कठिनाइको समाधान गर्दै सामाजिक रुपमा सधैँ समस्या रहने र जीवनयापन सम्मानित बनाउन नसकिने भन्दै यसतर्फ सबै सजग रहि उनीहरूका समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो ।
सामाजिक विकास कार्यालय मार्फत ज्येष्ठ नागरिकका सवालमा थप कार्यक्रमहरूको योजना गरि काम गर्न आफू लाग्ने समेत उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले ज्येष्ठ नागरिक ,महिला, बालबालिकालाई सम्मान गर्ने देशनै विकसित देश रहने बताउनुभयो । ज्येष्ठ नागरिक प्रति हुने भेदभाव, अन्याय, हिंसा लाई प्रहरीले संवेदनशिल रुपमा लिने र पीडकलाई उन्मुक्ति पाउन नदिने बताउनुभयो ।

कानूनका आधारमा ज्येष्ठ नागरिकको हितमा गर्नुपर्ने काममा प्रहरी सँधै तयार रहने उहाँले बताउनुभयो ।
कावासोतीमा भएको कार्यक्रम ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष सदानन्द जैसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक सँग सम्बन्धी बिभिन्न संस्थामा आवद्ध व्यक्ति, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।
