न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए, एमसीसी सम्झौता अरूले नपढेको भनेर देउवाले सामन्ती दम्भ देखाए : भीम रावल

एन सञ्चार, पौष १२ ।।

१. न्युयोर्कका कोभिड अस्पताल बालबालिकाले भरिए

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै अमेरिकामा त्यसको असर बालबालिकामा देखिएको छ । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको विवरणहरु सार्वजनिक भएका छन् ।

पछिल्लो समयमा कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । पछिल्लो समयमा बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला बिरामी बालबालिकाले अस्पताल भरिएका छन् ।

न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाको चाप चार गुणाले बढेको छ । भर्ना भएकामध्ये आधा बालबालिका पाँच वर्ष मुनिका छन् । यो उमेर समूहका बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन् ।

अमेरिकामा कोभिड संक्रमितको संख्या फेरि बढेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार पछिल्लो एक सातामा औषतमा दैनिक संक्रमितको संख्या १ लाख ९० हजारसम्म पुगेको छ ।

२. प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न माओवादीले बनायो २५ वटा समूह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह गठन गरेको छ । प्रदेश र जनवर्गीय सङ्गठनहरूको छुटाछुटै समूह बनाएको माओवादी केन्द्रले जनाएको छ ।

छलफलका लागि प्रज्ञा भवनका हल, पार्टी कार्यालय र पार्टी प्यालेसमा स्थान तोकेको छ । प्रतिवेदनमाथि भोलि मङ्गलवार दिनभर छलफल हुने र पर्सि बुधवार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।

बन्द सत्रमा अध्यक्ष प्रचण्डले सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । उहाँले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेतारकार्यकर्तामा विकसित हुँदै गएको चरम स्वार्थी प्रवृत्तिले माओवादीलाई क्रान्तिकारी रूपान्तरणमा लैजाने विषय जटिल बन्दै गएको उल्लेख छ ।

माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म के–के कुरामा कमजोरी भयो भन्ने विषयमा प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गर्नुभएका प्रचण्डले वृहत् योजना र सुधारविना पार्टी अघि बढ्न नसक्ने बताउनुभएको छ ।

समूहगत छलफलका लागि बनाइएको २५ समूह, समूहगत छलफल गर्ने ठाउँ र समूहको समन्वय गर्ने जिम्मेवारी यस्तो छ–

समूह १
सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई

समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

समूह ४ र ५
सहभागी : प्रदेश नं. १ का प्रतिनिधिहरु
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी : प्रदेश नं. २ का प्रतिनिधिहरु
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह

समूह ८ र ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल

समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी

समूह १५ र १६
सहभागी : सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी : बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४
सहभागी : आयोगका सदस्यहरु
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर

३. बिहीवारदेखि मौसममा सुधार हुन्छ : मौसमविद्

पछिल्ला केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आउँदो बिहीवारदेखि क्रमिक रूपमा सुधार हुने भएको छ ।

यो प्रणाली बिहीवारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् सविना शाक्यले जानकारी दिनुभयो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । तराईमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

भोलि मङ्गलवार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा बढी भैरहवाको २८ दशमलव तीन डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ ।

४. जावलाखेलले सातदोबाटोलाई २–० ले हरायो

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा आज सोमवार भएको खेलमा जावलाखेलले सातदोबाटोलाई दुई–शून्य गोलले हरायो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अङ्क जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एकरएक गोल गरे ।

खेलको ५० औँ मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औँ मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई दुई–शून्यको जित दिलाए ।

जितसँगै जावलाखेल सात अङ्कसहित नवौँ स्थानमा पुगेको छ । सातदोबाटो ६ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

५. पूर्ण मात्रा खोप लगाउने १ करोड नाघे, २४ घण्टामै साढे ५ लाख जनाभन्दा धेरैलाई खोप

नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । आज सोमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो ।

यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामै थप पाँच लाख ६८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा पाँच लाख ६८ हजार तीन सय १९ जनाले खोप लगाएको विवरण प्राप्त भएको छ । सरकारले दैनिक तीन लाख मात्रा खोप लगाउने लक्ष्य लिएको छ ।

यस्तै २४ घण्टामा थप दुई सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थप दुई सय २५ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८६ पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

६. एमसीसी सम्झौता अरूले नपढेको भनेर देउवाले सामन्ती दम्भ देखाए : भीम रावल

एमाले नेता भीम रावलले ‘एमसीसी सम्झौता अरूले नपढेको’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामन्ती दम्भ’  देखाएको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन समारोहमा ‘एमसीसी राष्ट्रघाती’  भन्नेले नपढेको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेता रावलले देउवाले ‘आँखा चिम्लेर बाह्य शक्तिको नाङ्गो भक्ति’  गरेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्री देउवाले एमसीसीसँगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ । सम्झौतामा ‘कहीँ राष्ट्रघात नदेखेको र सित्तैमा आएको पैसा किन नलिनेु भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नाङ्गो भक्ति हो,’ रावलले सोमबार ट्विटरमा लेखेका छन् ।

रावल एमसीसी सम्झौताका कडा आलोचक हुन् । प्रधानमन्त्री देउवा भने एमसीसीलाई संसद्बाट पास गराउनुपर्ने बताउँदै आएका छन् ।

७. कांग्रेसको १६ जिल्लाको अधिवेशन २७ पुसमा हुने

नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी रहेका जिल्लाको अधिवेशन मिति तय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

कांग्रेसले १४औँ राष्ट्रिय महाधिवेशन २४ देखि २७ मंसिरमा गरेको थियो । तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा अधिवेशन रोकिएको थियो ।

प्रदेश २ का ८ वटै जिल्लासहित १६ वटा जिल्लामा अधिवेशन हुन सकेको छैन ।

निर्वाचन समितिकाअनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ ।

८. शशांक र सुजातालाई व्यवस्थापन गर्न नसक्दा पराजय : डा. शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै परिवारभित्रका भाइ र बहिनीलाई उचित व्यवस्थापन गर्न नसक्दा आफूले पार्टी सभापतिमा हार व्यहोर्नु परेको बताएका छन् । उनले भाइ शशांक र बहिनी सुजातालाई मिलाउन नसक्नु आफ्नो कमजोरी भएको पनि स्वीकार गरे ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘मभित्र धेरै कमी कमजोरी छन्, कोइराला परिवारभित्र भाइ र बहिनीको भावना, मर्म बुझ्न सकिनँ ।’ सोही कारण आफू पार्टी सभापति पदमा पराजित हुन परेको उनको भनाइ छ ।

उनले बीपी कोइरालाले आफ्नो बुबालाई लेखेको पत्रबारे आफूले शशांक र सुजातालाई बुझाउन नसक्नु पनि आफ्नो पराजयको एउटा कारण भएको बताए । उनले महाधिवेशनमा आफूले हासिल गरेको मतअनुसार नै पार्टीमा आफ्नो वरीयता कायम भएको पनि उल्लेख गरे । काँग्रेस केन्द्रीय समितिको बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्दै २० औ नम्बरको वरीयता कायम गरेको थियो ।

९. नेपालको लगातार पाँचौ जित, उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ।

सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३/0 को सोझो सेटमा जित हात पारेको हो।

पहिलो सेट २५/८ ले जितेको नेपालले दोस्रो सेट २५/१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल २४/१७ ले विजयी भयो।

यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ।

अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

श्रीलंकाबाहेक अन्य टिमलाई नेपालले ३/0 को सेटमा पराजित गरेको थियो। श्रीलंकालाई भने नेपालले ३/२ ले हारएको थियो। समूहमा शीर्ष स्थानमा रहेसँगै नेपालले १४ अंक जोड्यो।

महिलातर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

दुई वर्षअघि भएको प्रतियोगितामा नेपालले उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो।

यता पुरुषतर्फ नेपालले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। आइतबार नेपालले माल्दिभ्सलाई हराएको थियो।

यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो। आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।

पुरुषतर्फ नेपाल, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्स गरी ५ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।