बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, भारतको ज्यादती भन्दै विप्लवका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला, कोरोना सुरू भएदेखिकै विश्वभरको दैनिक संक्रमण सबैभन्दा उच्च

एन सञ्चार, पुष १४ः

१. बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले तमू ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ।

२. कोरोना अपडेटः २२० जनामा संक्रमण पुष्टि, निको हुने कति ?

गत २४ घण्टाभित्र नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६०८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ४३३ जनाको पिसिआर परीक्षण र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख २७ हजार ९७२ र एन्टिजेन परीक्षणबाट ९६ हजार १८५ रहेको छ।

निको हुनेको संख्या २५३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख ११ हजार ५१८ पुगेको छ।

संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९० रहेको छ।

नेपालमा हाल ४ हजार ८६४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख २ हजार ६८७ खोप लगाइएको छ।

३. भारतको ज्यादती भन्दै विप्लवका कार्यकर्ताले बिहानै लगाए सीमापुलमा ताला

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् । भारतको ज्यादतीविरुद्ध भन्दै उनीहरुले बुधबार बिहान ७ पुलको गेटमा ताला लगाएका हुन् । नेकपा दार्चुलाका सचिव भरत मल्लले ताला लगाइएको पुष्टि गरे ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विभिन्न बहानामा नेपाली नागरिकलाई दुःख दिने गरेकाले सीमापुलमा ताला लगाइएको उनले बताए ।

एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेका छन् । नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिकको खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा दार्चुलाका सदस्य भुवन जोशीले बताए ।

प्रहरीले भने सीमापुलमा तालाबन्दी नभएको दाबी गरेको छ । सीमापुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक भरतसिंह बोहराले बताए ।

 

४. कोभिड पोजेटिभ भएका सयौं व्यक्तिलाई प्रयोगशालाले नै गलत रिपोर्ट दिएपछि।।।

 

सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । संक्रमण बढिरहेका बेला क्रिसमको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।

आफूहरुले अन्य व्यक्ति र आफन्तलाई संक्रमण सारेको हुन सक्ने भन्दै संक्रमितहरुले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटीका लागि प्रयोगशालाले माफी मागेको छ ।

कर्मचारीमा कामको चापले त्रुटी हुन गएको प्रयोगशालाको भनाई छ । तथ्यांक प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।

क्रिसमको अघिल्लो दिन ८८६ जनाले सो प्रयोगशालामा कोभिड परीक्षण गरेका थिए । तीमध्ये ४०० जनाको रिपोर्ट गलत आएको थियो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रासबीच न्यू साउथ वेल्समा कोभिड परीक्षण गर्न चाहने व्यक्तिको सख्ंया उल्लेख्य छ । प्रयोगशालाको क्षमताभन्दा बढी मानिसको चाप बढेपछि अधिकांशलाई फर्काइएको छ ।

पछिल्लो त्रुटीपूर्ण घटना पनि सोही चापका कारण भएको हुनसक्ने जनाइएको छ । अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

 

५. त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।

यसैबीच हिजो मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।

काठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् । अन्तराष्ट्रियतर्फका उडान भने नियमित भएका छन् ।

६. चीनलाई मन्त्री रेग्मीको आग्रह : सीमा नाकामा आयात–निर्यात सहज गरियोस्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहज रूपमा सामान आयात–निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गर्नुभएको छ ।

चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात–निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको हो ।

चाइना फाउन्डेशन फर पोभर्टी एलिभेशन नेपालको छैटौँ वार्षिक उत्सव कार्यक्रममा आज बुधवार बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

मन्त्री थापाले चीनले भूकम्प, कोभिड जस्ता महामारीमा सहयोग गरेकोमा प्रशंसा गर्दै भन्नुभयो, ‘दुःख पर्‍यो भने हेर्ने छिमेकीले हो । नाकाबन्दीको बेला नेपालले चीनबाट सहयोग पाएको छ ।’

उहाँले कोभिडको समयमा खोप प्रदान गरेर चीनले नेपाललाई गुण लगाएको बताउनुभयो । उहाँले अहिले पनि चीनबाट खोप आइरहेको उल्लेख गर्नुभयो । छिमेकी देशहरूबीच सहयोगको अपेक्षा हुने मन्त्री रेग्मीले बताउनुभयो । उहाँले यसैक्रममा सीमा नाकाबाट सहज रूपमा सामान भित्रिन पाउनुपर्छ भन्नुभएको हो ।

गरिबी निवारणसम्बन्धी नेपालमा रहेको चाइनिज फाउन्डेशनले गरेको कार्यक्रममा मन्त्री रेग्मीले फाउन्डेशनलाई परेको समस्या समाधानका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

७. ‘गान्धीवादी’ सीके राउतको मधेसमा ‘रौद्र रुप’

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूलाई ‘गान्धीवादी’ बताउने गरे पनि तराई मधेसमा उनको पार्टी र कार्यकर्ताहरुले आन्दोलनका नाममा हिंसालाई बढावा दिन थालेका छन् । स्वयं सीके राउतका अभिव्यक्तिले समेत हिंसालाई प्रोत्साहन गरेको पाइन्छ ।

कुनै समय आफू गिरफ्तार हुँदासमेत प्रहरीलाई फूल उपहार दिने गरेको राउत पछिल्लो समय आफ्ना कार्यकर्तालाई उत्तेजित तुल्याएर सडकमा तोडफोड र आगजनीका लागि परिचालन गर्न थालेका छन् ।

उनले आफ्ना प्रत्येक नेता तथा कार्यकर्तालाई हातमा भाटा तथा लठ्ठी लिएर आन्दोलनमा निस्कन निर्देशन दिएका छन् । उनका पार्टीका कार्यकर्ताहरु आन्दोलनका क्रममा सडकमा निस्किँदा कुनै युद्धका लागि निस्केझैं देखिने गरेका छन् ।

मधेस मामिलाका जानकार इन्जिनियर सत्यनारायण साह भन्छन्, ‘सीके राउतको आन्दोलन हिंसातर्फ बढ्दैछ, यसले आउने दिनमा कस्तो रुप लिन्छ भन्ने थाहा छैन तर त्यसले सबैलाई क्षति गर्छ ।’

सीके राउत कहिले प्रहरी प्रशासनलाई धम्की दिएका हुन्छन्, कहिले मन्त्रीलाई धम्की दिन्छन्, कहिले पार्टी विशेषका नेतालाई धम्की दिँदै आन्दोलनलाई हिंस्रक बनाउने प्रयासमा देखिने गरेका छन् । उनले यो आन्दोलनलाई चुनावसम्म लैजाने योजना बनाएका छन् । उनले आफ्ना नेता तथा कार्यकर्तालाई आन्तरिक सर्कुलर पठाउँदै भनेका छन्, ‘यो आन्दोलनलाई कुनै पनि हालतमा रोक्नु हुँदैन, चुनावसम्म लग्न सफल भयौं भने त्यसैमा जनमत पार्टीको जित हुनेछ ।’

८. कोरोना सुरू भएदेखिकै विश्वभरको दैनिक संक्रमण सबैभन्दा उच्च

ओमिक्रोन भेरियन्टका कारण विश्वभर कोरोनाभाइरसको संक्रमण अहिलेसम्मकै उच्च भएको छ।

वर्ल्डोमिटरका अनुसार पुस १३ गते संसारभर एकैदिन १२ लाख २२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न मुलुकमा कोरोनाको संक्रमण ह्वात्तै बढेको हो। मंगलबार अमेरिका ३ लाख १२ हजार, बेलायतमा १ लाख २९ हजार, फ्रान्समा १ लाख ७९ हजारमा संक्रमण भएको छ। स्पेन, इटाली र जर्मनीलगायत मुलुकमा पनि संक्रमण बढेको छ।

अमेरिका र युरोपमा अहिले कोरोनाको चौथो लहर चलिरहेको छ। यसअघिका तीन लहरको ‘पिक’ हुँदा पनि एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्। यसअघि ८ जनवरी २०२१ मा एकैदिन ८ लाख ४४ हजार संक्रमित थपिएका थिए। त्यसपछि घटेको संक्रमण अप्रिलमा फेरि बढेको थियो। अप्रिल २९ मा संसारभरि ९ लाख ४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। जुलाईमा घटेर एकदिनमा चार लाखभन्दा मूनि पुगेको संक्रमण अगस्टमा फेरि बढेको थियो। अगस्ट २० मा विश्वभरि ७ लाख २३ हजार मानिस संक्रमित भएका थिए। त्यसयता लगातार घटेको संक्रमण गत अक्टोबरदेखि बढ्न थालेको हो। नोभेम्बर अन्तिम साता दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट फेला परेको थियो। त्यसपछि संक्रमण लगातार बढिरहेको छ।

डेल्टा भेरियन्टले निकै क्षति पुर्‍याएको छिमेकी भारतमा पनि फेरि कोरोना संक्रमण बढ्न थालेको छ। बिबिसी हिन्दीका अनुसार बुधबार ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। मंगलबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो।

संक्रमण बढे पनि ओमिक्रोनका कारण मृत्युदर भने बढेको छैन। २०२० को अप्रिलमा संसारभर दैनिक ७(८ हजार कोरोना संक्रमितले ज्यान गुमाएका थिए। २७ जनवरी २०२१ मा एकैदिन १७ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको थियो। अप्रिल २९ मा १५ हजार ८ सय ७६ मानिसले ज्यान गुमाएका छन्। अगस्ट २५ मा ११ हजार ८ सय ७० संक्रमितको मृत्यु भएको थियो।

९. स्व. राजा वीरेन्द्रको शालिक अनावरण

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको छ । बुधबार स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक ठड्याएको हो । राज वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर सालिक राखिएको जनाइएको छ ।

राजाको प्रतिमा निर्माण गरिएको उक्त चोकमा राजा वीरेन्द्रको शालिक राखिएको थियो । तर, २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो । वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक भने राखेको थिएन । पुनःनिर्माण भएको लामो समयसम्म सालिक राख्ने वा नराख्ने विषयमा विवाद भैरहेको थियो । तथापि नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखिदिएको हो ।

राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनक सिंहले राजाको शालिक कूनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको जानकारी दिए । उनले भने, ‘राजाको इतिहास चिनाउका लागि आवाश्यक थियो । हाम्रो इतिहास भन्ने कुरा केहो बुझ्नुपर्छ । त्यसैले राखिएको हो ।’

साथै उनले यो शालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे ।
तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर वीरेन्द्रनगरको गुरुयोजना बनाउन लगाएका थिए । २०४४ सालमा राजा वीरेन्द्रका दम्पती नै सुर्खेतमा आएर यो चोक अनावरण गरेका थिए ।

त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो । राजा वीरेन्द्र २०२३ सालमा पहिलोपटक सुर्खेत आएको बेलामा उनले उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाएको बुझिन्छ । त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामकरण गरिएको थियो ।

०६२र०६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक नराखेर गमला राखिएको थियो । नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको थियो ।

सुर्खेत स्व। राजा वीरेन्द्रको मनपर्ने ठाउँ भएको र यहाँको विकासमा स्व। राजाको कदम योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुनःस्थापना गरिएको छ।