कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनीपूर्ण इमेलपछि बैंकका सबै सिष्टम बन्द, ‘देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको सालिक फुटाएर गणतन्त्रको गीत गाएर हामी बिग्रियौँ कि ?’: बास्कोटा

एन सञ्चार, १५ पुषः
१. कोरोना खोपको ‘अतिरिक्त डोज’ दिन सरकारले थाल्यो तयारी
काठमाण्डौ – सरकारले कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिने तयारी थालेको छ । खोप सल्लाहकार समितिको सुझावको आधारमा अतिरिक्त मात्रा खोप दिने तयारी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कहिलेदेखि दिने भन्नेबारे भने निर्णय हुन बाँकी छ । तर तयारी थाल्न भने सम्बन्धित सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
सहप्रवत्ता अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरूलाई अतिरिक्त डोज दिन लागिएको छ । जसमा क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गर्नेहरू र एचआईभीका बिरामी रहेका छन् ।
योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका वृद्धवृद्धालाई पनि अतिरिक्त डोज दिने भनिएको छ । अतिरिक्त डोजमा पहिले लगाएकै खोप दिइने उहाँले बताउनुभयो ।
२. ‘देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको सालिक फुटाएर गणतन्त्रको गीत गाएर हामी बिग्रियौँ कि ?’ :बास्कोटा
नेकपा ‘एमाले’ का पोलिटब्युरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरूले खेलाडीहरूलाई दुरूपयोग गर्ने गरेको बताएका छन् । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरूले बुथ कब्जा गर्न खेलाडीहरूलाई दुरूपयोग गरेको भन्दै अब त्यसो हुन नदिने बताए ।
नेपाल खेलकुद महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब खेलाडीहरूलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रूपमा प्रयोग हुन नदिने बताए । बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरूलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने पनि बताए ।
उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कतियले नेपालको मौलिकता भुल्ने गरेको पनि उनले बताए । ‘हामी यो तरिकाले बिग्रियौँ कि ? देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको सालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौँ । आफ्नो देशको मौलिकता बिर्सन्छौँ । म राजावादी भएको होइन,’ उनले भने ।
त्यसअवसरमा बास्कोटाले खेलाडीहरूको मनोबल बढाउने काम गरेको भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गरे ।
३. अष्ट्रेलियाको पूर्व संसद् भवनमा आगो लगाइयो
आदिवासी सार्वभौम अधिकारका लागि भएको विरोध प्रदर्शनका दौरान विहीवार प्रदर्शनकारीहरुले अष्ट्रेलियाको राजधानी क्यानवेरा स्थित पूर्व संसद् भवनमा एकछिन आगो लगाएको प्रहरीले जनाएको छ । सो भवनको मूलद्वार जलेर ध्वस्त भएको छ भने आगजनीमा मानवीय क्षती भएको छैन ।
विगत दुई सातादेखि सो स्थानमा प्रदर्शन हुँदै आएको हो ।
अष्ट्रेलियामा यस्तो किसिमको हिंसात्मक प्रदर्शन विरलै हुने गरेको छ । कोरोना भाइरस महामारीको समय लकडाउन र अन्य सरकारी नीति विरद्ध सामान्य झडपहरु भने हुँदै आएका थिए । प्रत्यक्षदर्शीहरुले यस पछिल्लो प्रदर्शनमा भागलिने मध्ये केहिले आफुहरुलाई सरकार विरोधि तथा ‘सार्वभौम अधिकार सम्पन्न नागरिक’ समूहहरुका सदस्य भनेर चिनाएका थिए ।
अष्ट्रेलियाली प्रधानमन्त्री स्कोट मोर्रिसनले भनेका छन्, ‘यसरी अष्ट्रेलिया चल्दैन । यस देशको यस्तो प्रजातन्त्रको प्रतीक जलाउन आउने अष्ट्रेलियालीहरुको बानीव्यहोरा देखेर मलाई वाक्कै लागिसकेको छ ।’
आगलागि शुरु हुनासाथै सो भवनभित्र कार्यरत कर्मचारीहरुलाई सुक्षित ढंगले बाहिर निकालिएको थियो । अहिले अष्ट्रेलियाली प्रजातन्त्रको संग्रहालयका रुपमा चिनिने यस भवन सामु आदिवासी प्रदर्शनकारीहरुले धर्ना दिन थालेपछि गत २० डिसेम्वर देखि यसका ढोकाहरु बन्द राख्ने गरिएको थियो ।
४. कांग्रेस वरीयता : विश्वप्रकाशभन्दा गगन थापा अगाडि, २० औं नम्बरमा शेखर कोइराला
नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ। काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।
मंसिर २४-२८ मा काठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।
कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो ।
महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् ।
सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् ।
केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमशः १४ औं र १५औं रहेको छ।
त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् । वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।
५. २ सय ४१ सङ्क्रमित थपिँदा ज्यान गुमाउने ‘शून्य’
पछिल्लो २४ घण्टामा देशभर दुई सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ९७ जनाको नमुना परीक्षण गर्दा दुई सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई सय २८ जना निको भएका छन् । योसहित नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार सात सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले चार हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५६ हजार एक सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड तीन लाख ६ सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ३९ लाख ७१ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
६. कप्तान सन्दीप नै रहन्छन्, परिवर्तन हुँदैन : पुबुदु
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णय उसको अधिकार भएको बताएका छन् ।
आज बिहीवार आयोजित पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुले ुसेन्ट्रल कन्ट्रयाक्टु को विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन् । नेपाल फर्किएपछि क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने उनले बताए ।
क्यानले गएको महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो । मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो । जसअनुसार सन् २०२२ को केन्द्रीय सम्झौताबाट सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको थियो । अन्तरक्रिया कार्यक्रममा पुबुदुले आफूसँग २०११ देखि २०१५ सम्म काम गरेको अनुभव भएको भन्दै नेपाली टोली खुसी बनाएर नेपालका लागि खेलाउने प्रतिबद्धता जनाए । त्यसका लागि सुरुवातमा ३० खेलाडीभन्दा बढीलाई बन्द प्रशिक्षणमा बोलाउने उनले बताए ।
प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । क्यान र खेलाडीबीचको तिक्ततालाई समाधान गर्दै अगाडि बढाउन सक्ने प्रशिक्षक हुन सक्ने भन्दै क्यानले दोस्रो पटक पुबुदुलाई मौका दिएको हो । पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । त्यही कारण पनि दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रूपमा लिइन्छ ।
७. कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनीपूर्ण इमेलपछि बैंकका सबै सिष्टम बन्द
अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ। बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने सहितको चेतावनी आएको बैंकले जनाएको छ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिए। उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो। आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ।
धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ। बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ। धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ।
कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिए। “हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उनले भने। यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो।
८. वायुसेवा निगमको वाइडबडी ए ३३० ग्राउन्डेड
नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजको आन्तरिक इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको छ । गत डिसेम्बर २८ मा काठमाडौं–नारिता नियमित उडानको तयारी गर्ने क्रममा विमानमा प्राविधिक समस्या देखिएपछि आपतकालिन ग्राउन्डेड भएको निगमले जानकारी दिएको छ । ग्राउन्डेड विमानको अहिले रिपियरिङ भैरहेको निगमले जनाएको छ ।
विमानको आवश्यक चेक जाँच गर्दा इलेक्ट्रिक कन्ट्राक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको र श्रीलंकाबाट आवश्यक पार्टपुर्जा भित्र्याई निगमकै दक्ष ईन्जिनियरिङ्ग टिमबाट मर्मत गरी ३० डिसेम्बर २०२१ को दिउँसो २ बजे विमानलाई उडानयोग्य बनाउने तयारी भैरहेको छ । सोही विमानबाट काठमाडौं–दिल्ली नियमित उडान समेत गर्ने निगमले जानकारी दिएको छ ।
न्यारोबडी ए ३२० विमान (एन–एकेडब्लू) बाट गत २८ डिसेम्बर २०२१ मा काठमाडौं–दोहाको नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा इन्जिनमा प्राविधिक समस्या देखिन गएको थियो । दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँ तर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेको छ ।
उक्त इन्जिनको उत्पादनकर्ता पीडब्लूरआइएईसँग निगम व्यवस्थापनले आवश्यक परामर्श लिँदा इन्जिनलाई रिप्लेस गरि रिपियर गर्न सुझाब दिएको छ । सोही बमोजिम विमानलाई यथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन आवश्यक प्रक्रिया समेत अघि बढाइएको निगमले जनाएको छ ।
९. भारतमा दुई दिनमै दोब्बर बढे कोरोना संक्रमित
छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ।
इन्डियन एक्प्रेसका अनुसार बुधबार भारतमा १३ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार भारतमा ९ हजार १ सय ९५ जनामा संक्रमण देखिएको थियो। यो अघिल्लो दिनको तुलनामा ४४ प्रतिशत बढी हो। सोमबार भारतमा ६ हजार ३ सय ५८ जनामा कोरोना संक्रमण भएको थियो।
कोरोना संक्रमणसँगै भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण पनि फैलिँदै गएको छ। राजधानी दिल्ली र अर्को प्रमुख सहर मुम्बईमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ। अहिले भारतभरि ९६१ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ भने तीमध्ये दिल्लीमा २६३ र मुम्बईमा २५२ जना संक्रमित पुगेका छन्।
गत मेमा भारतमा एकैदिन कोरोनाका ४ लाख १४ हजार संक्रमित थपिएका थिए। त्यतिबेला भारतमा डेल्टा भेरियन्टको संक्रमण थियो। डेल्टा भेरियन्ट भारतमै पहिलो पटक पत्ता लागेको थियो। त्यो दर घट्दै गएर डिसेम्बर २० मा ५ हजार ३ सय २६ पुगेको थियो। त्यसपछि भारतमा फेरि संक्रमण बढ्न थालेको हो।
संक्रमण बढेपछि दिल्ली र महाराष्ट्रका अधिकारीहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै