निकै आलोचना भयो, झुपडीमा बस्न तयार छु : प्रचण्ड, भोलि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै, उडिरहेको विमानमा कोरोना पुष्टि भएपछि ‘५ घण्टा शौचालयमा आइसोलेशन’

एन सञ्चार, १६ पुषः

१. माओवादी महाधिवेशन : विधान मस्यौदामाथि उठेका प्रश्नको शनिबार देव गुरुङले जवाफ दिने

नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा शनिबार नेता देव गुरुङले आफूले पेस गरेको विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका छन् ।

शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देव गुरुङले जवाफ दिने नेता कृष्णबहादुर महराले जानकारी दिए ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ।

दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार विश्लेषणका लागि बहसको थालनी गरेको निष्कर्ष बताउँदै प्रचण्डले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव महाधिवेशन समक्ष राखेका छन् ।

माओवादी महाधिवेशनबाट प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो। तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले केही बोलेनन्।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए।

तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो। जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ।

२. निकै आलोचना भयो, झुपडीमा बस्न तयार छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो बसाइका सम्बन्धमा निकै आलोचना भएको बताउँदै आफू झुपडीमा बस्न तयार रहेको बताएका छन् ।

जारी महाधिवेशनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएको एक सदस्यले जानकारी गराए ।

“मेरो बसाइका सम्बन्धमा निकै प्रश्न उठ्ने गरेको छ,” उनको भनाइ थियो, “म डेरा सर्न तयार छु । झुपडीमा बस्न म तयार छु ।”
उनले आफू काठमाडौं छाडेर गाउँ जाने सोचमा रहेको उल्लेख गर्दै केन्द्रीय सदस्यहरुलाई पनि त्यही मनस्थिति बनाउन आग्रह गरेका थिए ।

३. भोलि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

नेपाली युवाहरुले विगत ८ वर्षदेखि मनाउँदै आएको अंग्रेजी महिनाको जनवरी १ को अवसरमा यस वर्ष प्नि टोपी दिवस मनाउने तयारी गरिएको छ ।

अध्यक्ष शंकर बञ्जाडेले एक विज्ञप्तिमार्फत यस्तो जानकारी गराएका छन् ।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिनमा मनाएर विश्वभर फैलिएका नेपाली नागरिक र नेपाली भाषीहरुको पहिचान स्थापित गराउन लागिएको जनाइएको छ ।

यस संस्थाका संस्थापक अभियन्ता डा। लेखनाथ काफ्ले र शंकर बञ्जाडेले सामाजिक सञ्जालबाट यो अभियान सुरु गरेका थिए ।
अहिले ३९ देशमा यो नेपाली टोपी प्रतिष्ठान नामक संस्था पनि गठन भएको छ ।

४. उडिरहेको विमानमा कोरोना पुष्टि भएपछि ‘५ घण्टा शौचालयमा आइसोलेशन’

संयुक्त राज्य अमेरिकाको शिकागो राज्यमा उडिरहेको विमानभित्र एक अमेरिकी शिक्षकमा कोरोना पुष्टि भएपछि यात्रा अवधिभर शौचालयमा एक्लिएर बसेको घटना सार्वजनिक भएको छ । ती महिलाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड–१९ पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा बसेको बताएकी छिन् । शिकागोबाट आइसल्यान्डका लागि उडेको विमानमा यात्रा अवधिभर ती महिला स्वेच्छिक रूपमा शौचालयमा आइसोलेशनमा बसेकी हुन् ।

अमेरिकी राज्य मिशिगनकी एक महिला शिक्षिका मरिसा फोटियोले गएको डिसेम्बर २० मा विमानमा यात्रा गरिरहँदा घाँटीमा दुख्न थालेपछि र्‍यापिड कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइन् । ‘रिपोर्ट आएपछि म शौचालयमा गएँ र यात्रा अवधिभर त्यहीँ बसेँ’, उनले भनिन् ।

ती महिला शिक्षिका फोटियोले उडानअघि कोभिड–१९ परीक्षण गरेको बताइन् । दुई आरटी–पीसीआर र पाँच र्यापिड परीक्षणपछि पनि कोरोना रिपोर्ट नेगेटिभ आएको र उडानमा डेढ घण्टा बिताएपछि घाँटी दुख्न थालेपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताइन् । त्यसपछि उनले शौचालयमा आइसोलेशनमा बस्ने बताएकी थिइन् । शौचालयको बाहिर एक सूचना पनि टाँसिएको थियो । उडान अवतरणपछि फोटियो सबैभन्दा अन्तिममा बाहिर निस्किइन् ।

आइसल्यान्डएअर विमानको शौचालयबाट उनले टिकटकमा एउटा भिडियो राखेकी छिन् जसलाई ४० लाखभन्दा धेरै पटक हेरिएको छ । साथै उनले आफूलाई सहयोग गर्ने विमान परिचारिकाको प्रशंसा पनि गरेकी छिन् । विमान परिचारिकाले आफूलाई बेलाबेला चाहिने खाना, पिउने पदार्थ र आवश्यक सामाग्रीको बन्दोबस्त गरेको उनले बताइन् ।

फोटियोले कोरोनाविरुद्धको खोप लगाएकी थिइन् । यति हुँदा पनि उनी कोरोना सङ्क्रमित भइन् । शिक्षक भएको नाताले उनी खोप नलगाएका मान्छेका बीचमा पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा उनले पटक–पटक कोरोना परीक्षण गरिरहनुपर्छ ।

आइसल्यान्डमा अवतरण गरेपछि उनी रेडक्रसको होटलमा आइसोलेशनमा बसिरहेकी छिन् ।

५. २४ घण्टामा २ सय ३५ जनामा कोरोना पुष्टि, ४ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ८४ जनाको नमुना परीक्षण गर्दा दुई सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय १२ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार नौ सय ५८ पुगको छ ।

यही अवधिमा चार जना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार पाँच सय ९४ जनाले ज्यान गुमाएका छन् । अहिले नेपालमा चार हजार आठ सय ७९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

यसैबीच नेपालमा कोरोना भाइरसविरुद्धको कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ४० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार एक सय ५२ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४० लाख ३६ हजार ६ सय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

६. प्रधानमन्त्री देउवा र डा. केसीबीचको सम्झौतामा ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई पठाएर कारोबार चलाउनेहरूलाई साथ दिएको टिप्पणी गर्नुभएको छ ।

आज शुक्रवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेको गम्भीर आरोपसमेत लगाउनुभयो ।

उहाँले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाइदा पुर्‍याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गर्नुभयो । उहाँले स्कुल, कलेज बन्द गर्न त्यो सम्झौता भएको र त्यसबारे बुद्धिजीवीहरू मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सरकारकै कारण देशको को अर्थतन्त्र ध्वस्त भएको र बैंकमा तरलताको अभाव देखिएको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग नौ बुँदे सम्झौता गरे रे । सात वटा माग पूरा गर्न नौ बुँदे सम्झौता । त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन नदिने उद्देश्य हो । नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरू बर्बाद हुन्छन् । त्यस कारण विदेश पढ्न पठाउनलाई यहाँ खोल्न नदिने । सक्नेले पैसा र छोराछोरी बाहिर पठाऊ, नसक्ने बर्बाद होऊ । विदेशमा विद्यार्थी पठाउने कारोबार चलाउनुपरेको छ यहाँ । स्कुल, क्याम्पस बन्द गर्नुपरेको छ । बुद्धिजीवीहरू मौन छन् । अर्थतन्त्र ध्वस्त छ ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डप्रति सङ्केत गर्दै इज्जत नभएकाहरू सधैँ सरकारमा रहने अवस्था रहेको भन्दै व्यङ्ग्य पनि गर्नुभयो । उहाँले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले माओवादी जनयुद्धका कारण रोजगारीको खोजीमा धेरैजसो युवा विदेश जानुपरेको औँल्याउँदै अब त्यस्तो अवस्थाको अन्त्य भएको पनि बताउनुभयो ।

७. ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए। सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

८. नेपाली क्रिकेटको हविगत: लक्ष्य विश्वकप, बन्द प्रशिक्षण हुनै लाग्दा पनि टिम लथालिङ्ग

सन् २०२२ को अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा आइसिसी टी २० विश्वकप आयोजना हुँदैछ। १६ टिमबीच प्रतिस्पर्धा हुने विश्वकपका लागि १२ टिमको टुंगो लागिसकेको छ। ४ टिमको टुंगो लाग्न बाँकी छ।

टी २० विश्वकपमा छनोट हुन बाँकी ४ टिमका लागि १६ टिमबीच विश्व छनोटमा प्रतिस्पर्धा हुँदैछ। आइसिसीले १६ टिमलाई पनि दुई समूहमा विभाजन गर्दै एक समूहमा ८ टिमलाई समावेश गरेको छ। ८ टिम सम्मिलित समूहबाट शीर्ष २/२ टिम गरी ४ टिमले १० महिनापछि अस्ट्रेलियामा हुने विश्वकपको टिकट काट्नेछन्।

नेपाल आइसिसी टी २० वरीयताको आधारमा यसअघि नै विश्व छनोटमा पुगिसकेको छ। नेपाल छनोटको समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुने छनोटमा नेपाल शीर्ष दुईमा पर्न सके विश्वकप खेल्नेछ। छनोटमा आयरल्यान्ड र ओमान नेपालका बलिया प्रतिद्वन्द्वी हुन्। बाँकी ५ टिमलाई हराएर ओमान वा आयरल्यान्ड मध्ये एकलाई पराजित गर्न सके नेपाल टी २० विश्वकपमा पुग्ने प्रबल सम्भावना छ।

विश्वकप छनोटअघि नेपाली टिम विवादको भूमरीमा फसेको छ। खेलाडी वर्गीकरणबाट सुरू भएको विवाद अहिले कप्तान परिवर्तनसम्म पुगिसकको छ। राष्ट्रिय टिमका कतिपय खेलाडीले कप्तान परिवर्तनको सामाजिक सञ्जालमा विरोध जनाइसकेका छन्। नयाँ कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानले आफू कप्तान बनेकोमा खुसी व्यक्त गरे पनि विवादको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

९. सर्लाहीमा हट्यो निषेधाज्ञा, पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति

सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटाइएको छ।

मंगलबार दिउँसो ३ बजेदेखि जारी गरेको निषेधाज्ञा आज बेलुकी ७ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए।

प्रहरी भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर नगरपालिका-७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३० वर्षीय व्यापारी रामकुमार महतोको मृत्युको घटना विरोधमा आन्दोलन उग्र रूप लिएपछि निषेधाज्ञा जारी गरिएको थियो।

प्रहरीले घटना लुकाउन खोजेको र शंकास्पद देखिएको भन्दै स्थानीयले टायर बालेर प्रहरी प्रशासनविरूद्ध नाराबाजी गर्दै आन्दोलन गरेका थिए।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने, जागिरका लागि पहल गर्ने र छानबिन समिति गठन गरी निष्पक्ष अनुसन्धान गर्ने र परिवारका एक जना सदस्यलाई स्थानीय तहमा जागिरका लागि पहल गर्ने निर्णय भएपछि आन्दोलन रोकिएको छ।

सहमतिपश्चात महतोको शव ५ दिनपछि परिवारले बुझेको छ।

सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

घटनाको निष्पक्ष छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्र फुँयालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए।

समितिमा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार, २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाई कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोद कुमार साह सदस्य छन्।

समितिलाई उक्त दुर्घटनाको सम्बन्धमा वास्तविक सत्य-तथ्य बुझेर अबिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।