माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा, निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्षसहित १४ जना जुवाखालबाट पक्राउ

एन सञ्चार, पुष १८ः
१. माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा
नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।
आइतबार जारी बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरूलाई सुनाएका हुन्।
‘खुला तर्फ १४५ जना हुने भए, दुई वटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदै छन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने ।
यी हुन् प्रचण्डले घोषणा गरेका केन्द्रीय सदस्य
खसआर्य युवा पुरुष
विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।
खसआर्य महिला
आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा, कुँवर लुम्बिनी गौतम, हरिमाया शर्मालगायत ।
खसआर्य युवा महिला ६ जना
यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह ।
युवा ४० वर्ष मुनिका
दलित पुरुष
विष्णु विक, यमबहादुर परियार, जगत पार्की ।
दलित महिला ११ जना
अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेललगायत रहेका छन् ।
२. डिएपी मल खरिदमा १ अर्ब भ्रष्टाचार, अख्तियारद्वारा १२ जनामाथि मुद्दा दायर
गुणस्तरहीन रासायनिक मल आयातमा १ अर्ब बढि भ्रष्टाचार भएको छ । एक अर्वभन्दा बढि भ्रष्टाचार भएको कसुरमा कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक सञ्चालकसहित कर्मचारी र ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ ।
कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनीले खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले गरेको अनुसन्धानमा नेपाल सरकारलाई १ अर्ब नोक्सानी गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्वा दायर गरेको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए। उनका अनुसार कृषि कम्पनीका प्रवन्ध सञ्चालक भण्डारीसहित १२ जना र आपूर्तिकर्ता दुई कम्पनी कर्मचारीलाई विपक्ष बनाएर मुद्वा दायर भएको छ।
योगीले मल खरिद प्रकरण १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ बहत्तर पैसा विगोसहित भ्रष्टाचार ऐन २०५९ को उपदफा १७ बमोजिम सजायको माग भएको बताए। उनका अनुसार १ अर्बभन्दा माथिको भ्रष्टाचार भएको तथा सरकारी सेवामा कार्यरत कर्मचारी भएकाले ऐनको दफा २४ अनुसार ३ वर्ष सजाय थप गरी ८ देखि १३ वर्ष कैद हुन सक्ने उनले बताए।
अख्तियारले गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट आयातित मल तोकिएको स्पेशिफिकेशन भन्दा कम गुणस्तरको रहेको भेटिए कृषि सामाग्री कम्पनीले स्पेशिफिकेशन बमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन पनि बनाएको ठहर गरेको छ । अख्तियारमा २०७८ जेठ १८ गते उजुरी परेको थियो। त्यही अनुसार अख्तियारले अनुसन्धान गर्दा कृषि कम्पनीले आपूर्तिकर्तालाई कूल रकमको ९० प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ५३ लाख रूपैयाँ भुक्तानीसमेत दिएको देखाएको हो ।
३. निमित्त प्रशासकीय अधिकृत, वडाध्यक्षसहित १४ जना जुवाखालबाट पक्राउ
जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति सशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए ।
ती प्रहरी अधिकृत अनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । उनीहरूले जुवा खेलमा मोबाइल बैकिङको प्रयोग गरेका कारणले थप रकम खेल भएको जानकारी दिए । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन ।
४. क्यान र खेलाडीबीच सहमति : ज्ञानेन्द्र मल्ल नै कप्तान, खेलाडीमाथिको कारबाही फिर्ता
नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय फिर्ता लिने भएको छ ।
यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएको मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । यस्तै चार जनालाई ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय भएको थियो ।
कप्तान परिवर्तन र खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आजदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन् । विवादका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नै प्रभावित हुने भएपछि क्यानले कप्तान परिवर्तन र कारबाही फिर्ता गर्ने निर्णय गरेको हो ।
५. २४ घण्टामा २ सय १६ जनामा कोरोना पुष्टि, २ सय ९ जना सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय ३१ जनाको नमुना परीक्षण गर्दा दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई सय नौ जना निको भएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार चार सय १९ जना पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९६ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार आठ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड चार लाख ९६ हजार जनाभन्दा धेरैले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ४१ लाख १८ हजार २७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
६. मच्छिन्द्रले पुलिसलाई हरायो, एएफसी कप छनोट खेल्ने पक्का
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । आज आइतवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले पुलिसलाई एक–शून्य गोलले हराएको हो ।
मच्छिन्द्रका लागि २१ औँ मिनेटमा सुनिल बलले गोल गरे । आजको जितसँगै मच्छिन्द्रले एएफसी कपको छनोट खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिगको सातौँ चरणमा शीर्ष स्थानमा रहने टोलीले छनोट खेल्ने गरी एसियाली फुटबल महासङ्घलाई प्रस्ताव पठाएको थियो । सातौँ चरणसम्म मच्छिन्द्र १७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको १६ अङ्क रहेको छ । पुलिस ६ खेलमा ६ अङ्कसहित दशौँ स्थानमा छ ।
७. राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेमा तीन गुणा बढी आकांक्षी, कांग्रेसमा मात्रै ४०
आउँदो माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । गण्डकी प्रदेशबाट तीन बहालवाला राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदै छ ।
उक्त स्थान पूर्तिका लागि निर्वाचन हुन लागेको हो । त्यसको मनोनयनपत्र दर्ता यही पुस २० गतेलाई तोकिएको छ । पुस १७ गते जिल्ला निर्वाचन कार्यालय कास्कीको भवनमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन कार्यालयसमेत स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला अदालत कास्कीका न्यायधीश श्रीकृष्ण भट्टराईलाई तोकिएको छ ।
एमालेमा तीन गुणा बढी आकांक्षी
रिक्त हुने तीन क्लष्टरका लागि हालसम्म एमालेले मात्रै उमेदवारको सूची तयार पारेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि एमाले गण्डकी प्रदेश कमिटीको यही पुस १३ गतेको बैठकले तीन उमेदवारका लागि नौजनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । एमाले गण्डकीका सचिव धनञ्जय दवाडीका अनुसार राष्ट्रियसभा सदस्यको चुनावका लागि दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार सिफारिस भएका छन् ।
महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरकी लीला थन्नेत सिफारिस भएका छन् ।
अन्यका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका लीलबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका छन् ।
नौमध्येबाट तीन क्लष्टरका लागि तीनजनाको नाम केन्द्रले अनुमोदन गर्ने दवाडीले जानकारी दिए । “केन्द्रमा आज सचिवालय बैठक बस्दै छ । त्यही बैठकले उमेदवारको नाम तय गर्नेछ,” उनले भने ।
कांग्रेसमा मात्रै ४० आकांक्षी
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट मात्रै तीन पदका लागि ४० जना आकांक्षी छन् ।
कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेले बैठक दिनहुँ बसिरहेको तर केही निर्णय भने नभएको बताए । उनका अनुसार हरेक जिल्लाबाट दुईदेखि तीनभन्दा बढी आकांक्षीको नाम आइरहेको उनले सुनाए ।
अर्कातर्फ, गठबन्धनमा भएका कारण कांग्रेसले कुन क्लष्टर पाउँछ भन्ने यकिन छैन । त्यसकारण पनि उमेदवार चयनमा ढिलाइ भएको उनको भनाइ छ ।
कांग्रेसको प्रदेश समितिले हरेक जिल्लाबाट आकांक्षीको नाम मागिरहेको र आइतबार साँझसम्म सबै आकांक्षीको नाम आइपुग्ने प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
तर, पहिला कुन पार्टीले कुन क्लष्टर पाउने निश्चित नभएसम्म प्रदेशले नाम सिफारिस नगर्ने उनले बताए । “माथि नेताहरू बसेर क्लष्टर टुंग्याएपछि हामीले पाउने क्लष्टरमा एक उमेदवार बराबर तीनजनाको नाम सिफारिस गर्नेछौँ,” उनले भने ।
गठबन्धनका कारण उमेदवारी चयनमा ढिलाइ भइरहेको छ । सत्तासाझेदार दल माओवादी केन्द्र आफ्नै महाधिवेशनमा व्यस्त छ ।
सत्ताको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले एउटा क्लष्टर माग गरिरहेको छ । तर, केन्द्रबाटै सबै टुंगो लाग्ने हुँदा प्रदेशलाई खासै जानकारी नभएको जसपाका नेता तथा प्रदेशका मन्त्री हरिशरण आचार्यले बताए ।
प्रदेशमा सरकारलाई सहयोग गरेर सत्ताबाहिर बसेको राष्ट्रिय जनमोर्चाले पनि गठबन्धनसँग एउटा क्लष्टर माग गरेको छ । राजमो गण्डकी संसदीय दलकी नेता पियारी थापाले एउटा क्लष्टर माग गरेको तर सहमति नभए एकल भए पनि तीनवटै क्लष्टरमा उमेदवारी दिन सकिने बताइन् ।
गठबन्धनको निर्णय आएपछि एक्लै निर्वाचन लड्ने वा सहमतिमा जाने टुंगो लाग्ने उनले जानकारी दिइन् ।
गण्डकीमा जनमोर्चाबाट प्रत्यक्ष र समानुपातिक एकरएक गरी दुई प्रदेशसभा सदस्य, स्थानीय तहमा प्रमुख एक र उपप्रमुख दुई गरी पाँच मतदाता छन् ।
गण्डकीमा ६० मध्ये हाल ५९ जना (राजमोका कृष्ण थापा पार्टीको कारबाहीपछि पदमुक्त) प्रदेशसभा सदस्य छन् । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई, जनमोर्चाका दुई र एक स्वतन्त्र सांसद छन् ।
त्यसमध्ये सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार १८ कायम हुन्छ ।
८. सिके राउतका पाँच कार्यकर्ता प्रहरीको गोली लागेर घाइते, दुई जनाको अवस्था गम्भीर
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा जनमत पार्टीका पाँच जना कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सञ्जय साह छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । दुई जनाको गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
राजमार्ग अवरुद्ध गरेकाले गोली चलाउनुपरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले भने, ‘राजमार्ग अवरुद्ध गर्न पाइँदैन । उनीहरूले राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गोली चलाउन बाध्य भयो ।’ स्थिति नियन्त्रणमा लिन ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रुग्यास प्रहार गरिएको बस्नेतले बताए ।
९. पाल्पा बस दुर्घटना : ज्यान गुमाएका ७ जनाकै सनाखत
पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका सात जनाकै सनाखत भएको हो । सनाखत हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् । त्यस्तै रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।
बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस सडकबाट ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएको बस दुर्घटना भएको थियो ।
दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रामेश्वर त्वातीले बताउनुभयो ।
ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा तीव्र गतिले गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेलाई स्थानीयवासी र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो । बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै