नवलपुर।जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व)ले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा ११ हजार ३ सय २५ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।कार्यालय प्रमुख लालप्रसाद भूसालका अनुसार गत मङ्सिर १७ गतेदेखि पुस १९ गतेसम्म सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत ११ हजार ३ सय २५ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
अभियान अन्तर्गत गैँडाकोट नगरपालिकामा २ हजार ९ सय २३ जना, देवचुली नगरपालिकामा १ हजार ६ सय ७७, मध्यविन्दु नगरपालिकामा २ हजार ८ सय २२ जनाले नाम दर्ता गराएका छन् । यस्तै हुप्सेकोट गाउँपालिकामा ११४०, विनयीत्रिवेणी गाउँपालिकामा १६६२, बौदीकाली गाउँपालिकामा ६५९ र बुलिङटार गाउँपालिकामा ४४२ जना मतदाताले नाम दर्ता गराएका छन् ।
अभियानलाई कार्यालयले दुई चरणमा विभाजन गरेको थियो ।पहिलो चरणमा विनयीत्रिवेणी, हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकामा नामावली सङ्कलन गरिएको थियो । त्यसैगरी गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा दोस्रो चरणमा मतदाता नामावली संकलन गरिएको भूसालले बताउनुभयो ।
स्थायी बसोबास अन्य जिल्ला भई जिल्ला निर्वाचन कार्यालय नवलपुर आएर मतदाता नामावली सङ्कलन गराउने ७२ जना छन् । अभियानका क्रममा नामावली दर्ता गराउन आउने अधिकांश १८ वर्षभन्दा माथिका रहेको निर्वाचन कार्यालयले जनाएको छ ।मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्तालगायत कागजपत्र अनिर्वाय गरिएको थियो ।