एनसञ्चार अनलाइन || Nsanchar Online

Advertisment

SKIP THIS

फेरि हिउँदे वर्षा सुरु, ‘अबका चार दिन सचेत रहौँ’, के होला धुर्मुस सुन्तलीले बनाउन सुरू गरेको रंगशालाको भविष्य ?

एन सञ्चार, पुष २१ः

१. फेरि हिउँदे वर्षा सुरु, ‘अबका चार दिन सचेत रहौँ’

हिजो मङ्गलवार राति नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ । देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधवार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने र आउने शनिवारसम्म नै वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आइतवारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ ।

पश्चिमबाट भित्रिएको प्रणाली कमजोर बन्दै जाने भएकाले प्रदेश १ र २ मा भने अरू प्रदेशको तुलनामा वर्षा कम हुने महाशाखाले जनाएको छ । हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात र दैनिक जनजीवनमा बढी असर पर्नेछ ।

अबका आउँदो चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

२. मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन– जनअपेक्षाअनुसार काम गर्नू

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् ।बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा संयुक्त बैठक बोलाएर प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन् ।

उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरूलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

‘बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउनुभयो । समग्रतामा प्रधानमन्त्रीजीले मुलुकको अपेक्षा र जनताको अपेक्षाअनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनुभयो,’ सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने ।

प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जनसेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताएका थिए ।

३. मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई अनुमोदन गरेको हो ।

गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । त्यसक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ। पुस २३ गते सेवा अवधिका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो। बैठकले भारतसँग मल खरिद सम्झौता गर्ने निर्णय गरेको जनाइएको छ।

४. भारतमा छेकियो मोदीको बाटो, कार्यक्रममा नगई फर्किए बीचबाटै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार एउटा कार्यक्रममा जाने बाटो नपाएपछि फर्किएका छन्।

समाचार पत्र द हिन्दुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा गएका थिए। केही महिनापछि विधान सभा चुनाव हुन लागेको पन्जाबको राष्ट्रिय शहिद मेमोरियल जान लाग्दा उनलाई अवरोध भएको हो।

मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए। त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरे। तैपनि मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टाको सडक मार्गबाट जाने निर्णय गरे।

गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी अघि बढ्न सकेन। मोदी भ्रमणको विरोध गरिरहेका किसानहरूले आन्दोलन गरेर सडक बन्द गरेका थिए।

मोदीको सवारी १५/२० मिनेट त्यहाँ रोकियो तर बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किए।

पन्जाबका किसानले मोदी सरकारले ल्याएका कृषिसम्बन्धी तीन वटा कानुनको चर्को विरोध र आन्दोलन गरेका थिए।

उनीहरूले नै आज मोदीको बाटो रोकेका हुन्।

भारतको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको भन्दै घटनाको विस्तृत विवरण मागेको छ।

मोदीले सडकबाट यात्रा गर्न लागेकोबारे प्रोटोकलअनुसार सबै जानकारी दिँदा पनि बाटोको अवरोध हटाउन नसकेको भन्दै केन्द्रीय गृह मन्त्रालयले प्रदेश सरकारसँग असन्तुष्टि पोखेको हो।

पन्जाब कंग्रेस आई नेतृत्वको सरकार छ। मोदी पूर्वनिर्धारित कार्यक्रममा जान नसकेर फर्किएपछि अहिले यो विषयले भारत चर्चा पाएको छ।

सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले प्रदेश सरकार चलाइरहेको कंग्रेस आईको आलोचना गरेका छन्।

५. के होला धुर्मुस सुन्तलीले बनाउन सुरू गरेको रंगशालाको भविष्य ?

धुर्मुस–सुन्तली फाउन्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानबाट हात झिकेपछि सरकारी निकायले उक्त रंगशालामा भएको कामको मूल्यांकन गर्न सुरू गरेको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणको काम अघि बढाउन नसक्ने जानकारी गराएर स्वामित्व ग्रहण गरिदिन महानगरपालिकालाई पत्र लेखेपछि मूल्यांकनको प्रक्रिया अघि बढेको बताइन्।

‘फाउन्डेशनको पत्र पाएपछि महानगरले सघन सहरी तथा भवन निर्माण आयोजनालाई पत्र लेखेर रंगशालाको समग्र अवस्थाको मूल्यांकन गर्न भन्यौं। उहाँहरूले काम सुरू गरिसक्नुभएको छ,’ मेयर दाहालले भनिन्, ‘प्राविधिक मूल्यांकनपछि हामी चार्टर्ड एकाउन्टेन्ट लगाएर आर्थिक मूल्यांकन पनि गर्छौं।’

मेयर दाहालले ठूलो गुरूयोजनासहित बन्न लागेको उक्त रंगशाला निर्माण गर्नका लागि धेरै बजेट आवश्यक पर्ने भएकाले महानगर एक्लैले बनाउन नसक्ने बताइन्।

‘रंगशाला निर्माणका लागि संघीय सरकारसँग कुरा भइरहेको छ। युवा तथा खेलकुद मन्त्रीले छिटो सरकारी मूल्यांकन गरेर पठाउन भन्नुभएको छ,’ उनले भनिन्, ‘यहाँबाट मूल्यांकन प्रतिवेदन पठाएपछि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कुरा छ।’

मेयर दाहालका अनुसार युवा तथा खेलकुद मन्त्रीले धुर्मुस(सुन्तली फाउन्डेशनले काम गर्दा लागेको ऋण तिर्ने र बाँकी काम वहुवर्षीय योजनामा अघि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने जानकारी गराएका छन्।

सबै कागाजपत्र पुस २५ गतेसम्म तयार पारेर २६ गते काठमाडौं पठाउने तयारी भइरहेको दाहालले बताइन्। उनले अब गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला युवा तथा खेलकुद मन्त्रालयले निर्माण गर्ने गरी पहल भइरहेको बताइन्।

‘हामीले जग्गा हामी दिन्छौं, आवश्यक सहजीकरण गर्छौं, प्रदेश र संघीय सरकारसँग बजेटका लागि पहल गरिदिन्छौं तर आवश्यक स्रोत जुटाउने जिम्मा धुर्मुस(सुन्तली फाउन्डेशनकै हो भनेर सम्झौता गरेका हौं,’ उनले भनिन्, ‘तर उहाँहरूले सम्झौताअनुसार स्रोत जुटाउन सक्नुभएन। यो अवस्थामा सरकार यतिकै गैरजिम्मेवार भएर रहन सक्दैन र रहनु पनि हुँदैन।’

उनले फाउन्डेशनले नसके पनि रंगशाला निर्माणको अभियानबाट महानगर नपन्छने बताइन्।

६. फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण, २४ घण्टामा चार सय ३५ सङ्क्रमित थपिए

नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार दुई सय ६७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव २३ प्रतिशत अर्थात् चार सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १३ हजार एक सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४६ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड आठ लाख चार हजार चार सय १३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।यस्तै एक करोड ४७ लाख १७ हजार दुई सय २६ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

७. केएमसीले बढी शुल्क लिएको भन्दै विद्यार्थीको प्रदर्शन

काठमाण्डौ मेडिकल कलेज ९केएमसी० ले चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएसमा अध्ययनरत विद्यार्थीले आज बुधवार काठमाण्डौको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यबद्धता जनाएका छन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘अतिरिक्त शुल्क खारेज गर’, ‘आयोगको नियम लागू गर’, ‘विद्यार्थीको भविष्य सुनिश्चित गर’ लगायतका नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

८. बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै शिक्षा मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

बुधबार मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क) मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ ।

विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
चिकित्सा शिक्षाको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ ।

मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरुले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिनै बञ्चित गराउँदै आएका छन् ।

९. सरकारले गर्‍यो उखुको मूल्य निर्धारण

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधवारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ निर्धारण गरेको छ ।

उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो ।

किसानले ६५० रुपैयाँ प्रतिमेट्रिक टन माग गरेका थिए भने उद्योगीहरूले ५८० रुपैयाँ मेट्रिकटन हुनुपर्ने माग गरेका थिए ।

उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिलमा उधारोमा आफ्नो उखु दिन शुरू गरेका थिए ।


© 2022 एनसञ्चार अनलाइन || Nsanchar Online All right reserved Site By : A1soft International Pvt.ltd