प्रधानमन्त्री कार्यालयमा जात्रा– दरबन्दीभन्दा दोब्बर सरुवा, ५ सचिव नै बेरोजगार !, पोल सार्न १ लाख ४० हजार घुस, प्राधिकरणका सबस्टेसन प्रमुख पक्राउ

एन सञ्चार, पुष २९ः

१. सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैनः स्वास्थ्यमन्त्री

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

आज बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनुभएको हो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘सुरुका बेलामा आतङ्क बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन हो भनेर गर्‍यौँ । जति जानेको थियो, त्यति गर्‍यौँ । त्यसले केही मृत्यु दर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ । तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजस्व, सामाजिक क्षेत्रका अनेक कामलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्युभन्दा पनि भयावह ढङ्गले भयो । त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ । आवश्यक्ता हेरेर खास ठाउँमा विचार पुर्‍याएर हामी लकडाउन गर्नेछौँ । सजिलैसँग लकडाउनमा जाँदैनौँ ।’

मन्त्री खतिवडाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गर्नुभयो । मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि नयाँ भेरियन्टबाट बच्न सहज हुने बताएकाले आउँदो माघ पहिलो हप्तादेखि अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले माघको दोस्रो हप्तामा ६० वर्षमाथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्तादेखि आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताउनुभयो ।

मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्नुभयो । कोरोना खोप लगाउन अस्पतालमा भिड भइरहेको प्रसङ्गमा उहाँले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भिड हुन नदिने बताउनुभयो ।

२. कोरोना संक्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ। कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो। अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ। अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ।

विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईँले कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापदण्ड पालनालाई प्रभावकारी बनाइएको बताए। “विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको होइन, अत्यावश्यकबाहेकलाई प्रवेशमा कडाइ गरिएको हो, यसले केही हदसम्म विमानस्थलमा भीडभाड कम हुने र महामारीको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ।”

पछिल्ला दिनमा निरन्तर कोभिडका सङ्क्रमित बढिरहेका छन्। प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको भीड लाग्ने गरेको विमानस्थलले जनाएको छ। यस्तो समस्या अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा भएको छ। आन्तरिकतर्फ विशेषगरि हिमाली र तराईका कतिपय विमानस्थलमा बिहान उडान ढिलो हुँदा विमानस्थलको टर्मिनलमा यात्रु खचाखच हुने गरेको छन् । भीडभाड बढेपछि विमानस्थलले स्वास्थ्य मापदण्ड पालनामा कडिकडाउ गरेको छ । मास्क अनिवार्य, स्यानिटाइजरको प्रयोग र दूरी कायम गर्न विमानस्थलले कर्मचारी तथा यात्रु वर्गमा अनुरोध गरेको छ।

त्रिअविबाट हाल आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तर्राष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानस्थलका महाप्रबन्धक गुरागाइँका अनुसार अन्तर्राष्ट्रियमा १७ वटा नियमित र बाँकी चार्टर्ड गरी दैनिक २५ देखि ३० उडान हुने गरेका छन् । दुवैतर्फ गरी ५० देखि ६० उडान हुने गरेको छ । त्यस्तै आन्तरिकमा दैनिक ३०० हाराहारी उडान हुने गरेको छ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप आगामी माघ ७ गतेदेखि विमानस्थलमा पुग्ने यात्रुलाई अनिवार्यरुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा संलग्न हुने व्यवस्था मिलाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानका यात्रुले ७२ घण्टे पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु पर्ने हुन्छ । आन्तरिक उडानको हकमा माग ७ गतेदेखि हवाई यात्रुले खोप कार्ड देखाएर मात्रै हवाईयात्रा गर्न पाउनेछन् ।

कोभिड सङ्क्रमण बढेसँगै विमानस्थल कार्यालयले पुस २७ गते विज्ञप्ति जारी गर्दै अति जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको थियो। विमानस्थलमा भीडभाड हुने भएकाले जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ। हवाईयात्राका दौरानसमेत आवश्यक मापदण्ड पालना गर्न आग्रह गरेको छ।

यता अध्यागमन विभागले पनि अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न सबैमा अनुरोध गरेको छ। विभागले पुस २८ गते ट्राभल एडभाइजरी जारी गर्दै नयाँ भेरियन्टको सङ्क्रमणको जोखिम भएका मुलुकहरूमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको हो।

३. नेपालमा कोरोना : पुस १ गते १८४ नयाँ सङ्क्रमित, पुस २९ मा ३,५५३ जना

नेपालमा गत पुस १ गते झन्डै ११ हजार १८ नमुना परीक्षण गर्दा नेपालमा १८४ जना नयाँ सङ्क्रमित थपिएका थिए।

त्यस बेला ३ हजार ७८८ वटा परीक्षण एन्टिजन विधिबाट गरिएको थियो। त्यसमध्ये केवल २४ वटा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणले देखाउँछ।

तर पौष २९ गते बिहीवारसम्म आइपुग्दा १५ हजार ८१ वटा नमुना परीक्षण गर्दा ३,५५३ थपिएका छन्। सोही अवधिमा पीसीआर विधिबाट गरिएका १० हजार ४९८ वटा परीक्षणमा करिब २८ प्रतिशतमा सङ्क्रमित पाइएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा झन्डै ८,४०० सक्रिय सङ्क्रमित छन्। आईसीयूमा ११० जना र भेन्टिलेटरमा २५ जना बिरामी गराइरहेका छन्।

विगत २४ घण्टामा काठमाडौंमा १४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० जना सङ्क्रमित थपिएका छन्।

बिहीबार कति थपिए ?

गत २४ घण्टाभित्र नेपालमा थप ३,५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार १,४४६ जना संक्रमित थपिएका थिए। मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जना थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १० हजार ४९८ जनाको पिसिआर परीक्षण र ४ हजार ५८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख ४१ हजार २९७ र एन्टिजेन परीक्षणबाट ९९ हजार २२५ रहेको छ।

निको हुनेको संख्या २७१ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ।

संक्रमणबाट सोमबार १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० रहेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १४ हजार ३४० जना पुगेको छ। यो संख्या पुस १ गते ५ हजार ५२६ जना रहेको थियो । गत २४ घण्टामा ३ लाख ५६ हजार ४ खोप लगाइएको छ।

४. प्रधानमन्त्री कार्यालयमा जात्रा– दरबन्दीभन्दा दोब्बर सरुवा, ५ सचिव नै बेरोजगार !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवबाहेक ६ जना सचिवहरूको मात्र दरबन्दी छ तर अहिले थप ४ जना सचिव समेतलाई सरुवा गरेर ल्याई जगेडामा राखिएको छ । उपयुक्त जिम्मेवारी नपाए पछि सरुवा भएर पुगेका ती सचिवहरू घाम तापेर दिन बिताउने र तलब पकाउने काममा सीमित भएका छन् ।

कार्यालयमा अहिले मुख्यसचिव शंकरदास बैरागी, सचिवहरू शिशिरकुमार ढुंगाना, यामकुमारी खतिवडा, लक्ष्मण अर्याल, डा. रमेशप्रसाद सिंह, रामप्रसाद थपलिया, सूर्यप्रसाद गौतम, धनराज ज्ञवाली, खगेन्द्रप्रसाद नेपाल कार्यरत छन् । त्यसबाहेक त्यहाँ सरुवा गरिएका सचिव मधुसुदन बुर्लाकोटी अहिले हाजिर भइसकेका छैनन् ।

प्रधानमन्त्रीले लिखित रूपमा सचिवलाई कामको अख्तियारी दिने प्रचलन छ । त्यसअनुसार शिशिरकुमार ढुंगानालाई आर्थिक तथा पूर्वाधार विकास, लक्ष्मण अर्याललाई प्रशासन र नतिजा व्यवस्थापन, रामप्रसाद थपलियालाई प्रादेशिक समन्वय र सामाजिक विकास, सूर्यप्रसाद गौतमलाई राष्ट्रिय सुरक्षा र सुशासन, धनराज ज्ञवालीलाई कानून तथा मानवअधिकार शाखाको जिम्मेवारी दिइएको छ ।

दरबन्दी अनुसार ती ५ जना सचिवले मात्र प्रधानमन्त्रीबाट लिखित रूपमा कामको अख्तियारी पाएका छन् । बाँकी सचिवहरूलाई त्यसै व्यवस्थापन गरिएको छ ।

जस्तैः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएकी सचिव यामकुमारी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेर्ने जिम्मेवारी दिइएको छ । जबकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको रूपमा डा। रोशन पोखरेल कार्यरत छन् । पोखरेलले नेतृत्व गरिरहेको मन्त्रालयमा खतिवडाले प्रधानमन्त्री कार्यालयबाट के कस्तो काम हेर्ने भन्ने कुरा प्रस्ट भएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार खगेन्द्रप्रसाद नेपाल फरक क्षमताको व्यक्ति भएका कारण उनको लागि विशेष दरबन्दी सिर्जना गरिएको हो । ‘उहाँले काम गर्न असमर्थ भएका कारण उहाँको लागि विशेष दरबन्दी नै सिर्जना गरिएको हो,’ उनले भने ।

शहरी विकास मन्त्रालयबाट सरुवा भएर पुगेका रमेशप्रसाद सिंहलाई विशेष प्राविधिक क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ तर के प्राविधिक हेर्ने भन्ने कुरा प्रस्ट छैन । ‘उहाँलाई पनि प्राविधिक क्षेत्र हेर्ने जिम्मेवारी दिइएको हो,’ पन्थले लोकान्तरसँग भने, ‘मधुसुदन बुर्लाकोटी अहिलेसम्म हाजिर हुनुभएको छैन, यहाँ हाजिर भइसकेपछि उहाँलाई पनि कुनै न कुनै शाखा हेर्ने जिम्मेवारी दिइन्छ होला ।’

दरबन्दीभन्दा बढी सचिव किन सरुवा गरिएको हो भन्ने विषयको जवाफ दिन नसकिने उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत एक सचिवका अनुसार जगेडामा राखिएका सचिवहरूलाई सरकारले उचित जिम्मेवारी दिन नसक्दा भद्रगोल देखिएको छ । ‘नचाहिँदो काम भएको छ, हेर्दै नहुने लाजमर्दो काम गरिएको छ,’ ती सचिवले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले हस्तक्षेप नगरेर पनि त्यस्तो बेथिति बढेको हो, विभिन्न स्वार्थ समूहहरूले चलखेल गरेर सचिवहरूको सरुवा गराइरहेको हुनाले पनि अहिलेको स्थिति उत्पन्न भएको हो ।’

बढी सचिव थन्किएर कामविहीन भएको कुरा मुख्यसचिवले पनि हेर्नुपर्ने उनले बताए । ‘कस्तोसम्म भएको छ भने थपिएका सचिवहरूको भेट प्रधानमन्त्रीज्यूसँग विरलै हुने गरेको छ,’ ती सचिवले भने ।

नेपाल सरकारका अवकाश प्राप्त पूर्व मुख्यसचिव विमल कोइराला पनि प्रधानमन्त्री कार्यालयमा १० जनासम्म सचिव थुपार्नु भनेको विकृतिको नमूना नै भएको बताउँछन् । त्यहाँ धेरै जना सचिवको कुनै काम नै नभएको उनले बताए । २०६२ सालमा उनी मुख्यसचिव भएको बेला ३ जना सचिवको दरबन्दी थियो ।

‘त्यतिबेला पनि ३ जना सचिवको दरबन्दी बढी भयो भनेर मैले १ जना सचिवको दरबन्दी हटाउन लगाएको थिएँ,’ पूर्व मुख्यसचिव कोइरालाले लोकान्तरसँग भने, ‘तर त्यसपछि पनि ४, ५, ६ हुँदै अहिले १० जनासम्म सचिव राखिनु भनेको विकृतिको नमूना नै हो ।’

नियतवश कसैलाई बढुवा गर्नुपर्‍यो वा कतै राम्रो ठाउँमा व्यवस्थापन गर्नुपर्‍यो भने पनि बढी सचिव राखिएको हुनसक्ने उनले बताए ।

नेपाल सरकारका पूर्व सचिव विमल वाग्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ३ जनाभन्दा बढी सचिवहरूको कामै नरहेको बताउँछन् । ‘त्यसै पनि त्यहाँ मुख्यसचिव हुने हुनाले काम गर्ने सचिवहरू एक किसिमले सहसचिवसरह जस्तो मात्र हुन्छ,’ उनले थपे, ‘त्यसमा पनि १० जनासम्म सचिवहरू राख्नु भनेको काम नगराएर तलब दिनु मात्र हो ।’

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीकै विभिन्न क्षेत्रका सल्लाहकारहरू नियुक्त भएका हुन्छन् । वाग्लेका अनुसार ती सल्लाहकारहरूले नै सचिवले गर्नुपर्ने काम गरिरहेका हुनाले पनि मुख्यसचिव समेत गरेर कूल ३ जना सचिवको भन्दा बढीको काम नै छैन ।

सहसचिव, उपसचिव जस्तोलाई अहिले पनि कुनै जिम्मेवारी नहुँदा अतिरिक्त समूहमा राख्ने गरिन्छ । ‘तर विशिष्ट श्रेणीको सचिवलाई अतिरिक्त समूह भनेर राख्दा नमज्जा हुन्छ, बाहिर राम्रो सन्देश पनि जाँदैन,’ वाग्लेले  भने, ‘त्यसैले अतिरिक्त समूह नभने पनि अहिले त्यहाँ थुपारिएका सचिवहरूलाई अतिरिक्त समूहजस्तै राखिएको छ ।’

११ जना सहसचिवको मात्र दरबन्दी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले १३ जना सहसचिवहरू कार्यरत छन् । यसअघिका प्रवक्ता कृष्णबहादुर राउत सचिवमा बढुवा भएपछि रिक्त भएको शाखामा एक जना तोकिनेछन् तर पनि २ जना सहसचिवको जिम्मेवारी हालसम्म तोकिएको छैन ।

सहसचिवहरूमध्ये महादेव पन्थलाई प्रादेशिक समन्वय तथा योजना महाशाखा, कौशलचन्द्र सुवेदीलाई मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धिसम्झौता महाशाखा, ध्रुव घिमिरेलाई लगानी, उत्पादन तथा रोजगार प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइएको छ ।

सहसचिवहरू शंकर नेपाललाई सामाजिक विकास तथा रूपान्तरण महाशाखा, बुद्धबहादुर गुरुङलाई मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय, शिवादेवी दाहाललाई नतिजा व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

मदन दहाललाई प्रशासन महाशाखा, राजेन्द्र पराजुलीलाई राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, तीर्थराज चिलुवाललाई पूर्वाधार विकास महाशाखाको जिम्मेवारी दिइएको छ । त्यसबाहेक केही सहसचिवहरू भने जिम्मेवारी विहीन भएर बेकामे भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थ भने सबै सहसचिवको जिम्मेवारी तोकिन बाँकी नै रहेकाले केही दिनपछि मात्र कति जना जिम्मेवारीविहीन छन् भनेर भन्न सकिने बताउँछन् ।

५. गएको साउनदेखि मङ्सिरसम्ममा मूल्य वृद्धि सात प्रतिशत नाघ्यो

चालु आर्थिक वर्षको मङ्सिर महिनामा मूल्य वृद्धि सात प्रतिशत नाघेको छ । अघिल्लो आर्थिक वर्षको मङ्सिर महिनामा दुई दशलमव ९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर सात प्रतिशत नाघेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष मङ्सिरको तुलनामा २०७८ मङ्सिरमा घिउ तथा तेलको मूल्य २८ दशमलव ५२ प्रतिशतले बढेको छ । यस्तै यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्य वृद्धि भएको छ ।

बढ्दो मूल्य वृद्धि, उच्च आयात र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र थप अप्ठ्यारोमा परेको देखिएको छ । चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मङ्सिरसम्ममा रेमिट्यान्स ६ दशलमव आठ प्रतिशतले घटेको छ । मङ्सिरसम्म तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिकमा रेमिट्यान्स वृद्धि दर सात दशमलव ५ प्रतिशतले घटेकोमा मङ्सिरमा केही सुधार देखिएको हो ।

यस्तै मङ्सिरसम्ममा देशको शोधनान्तर स्थिति अर्थात् भित्रिने र बाहिरिने रकमबीचको अन्तर एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको मङ्सिरसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँले बचतमा थियो ।

यस्तै देशको चालु खाता घाटा तीन खर्ब रुपैयाँ नाघेको छ । गएको वर्षको मङ्सिरसम्ममा १९ करोड ६६ लाख रुपैयाँ मात्रै घाटामा थियो । साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा विदेशी मुद्राको सञ्चिति एक अर्ब ७२ करोड डलरले घटेको छ । मङ्सिरसम्म आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँको वस्तु आयात भएको छ । निर्यात भने एक खर्ब दुई अर्ब ९२ करोड रहेकाले पाँच महिनामा व्यापार घाटा सात खर्ब ३५ अर्ब पुगेको छ ।

६. दाङमा आज रातिदेखि:  स्मार्ट लकडाउन

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दाङमा ‘स्मार्ट’ लकडाउनु गर्ने निर्णय भएको छ । आज बिहीवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) को बैठकले आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो । यो निर्णय अर्को सूचना नभएसम्मका लागि लागू हुनेछ ।

दाङमा स्मार्ट लकडाउन अन्तर्गत होटल, रेस्टुरेन्ट, पार्टी–प्यालेसहरू बेलुकी ७ बजे सम्म मात्र खाल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरैको जमघट गर्न प्रतिबन्ध लगाएको छ । साथै माघको अवसरमा कुनै पनि मेला, महोत्सव सञ्चालन नगर्ने निर्णय भएको छ ।

यस्तै दाङमा आउँदो माघ ७ गतेदेखि खोप कार्ड भए मात्रै सार्वजनिक ठाउँमा प्रवेश गर्न पाइने भएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गदै सार्वजनिक ठाउँहरू– कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई मार्ग लगायतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागू गर्ने निर्णय भएको हो ।

साथै दाङका पालिकामा बढ्ने कोरोना सङ्क्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिइ पालिकाले थप कडा लकडाउन गर्न सक्ने निर्णय पनि भएको प्रजिअ रेग्मीले जानकारी दिनुभएको छ ।

७. पोल सार्न १ लाख ४० हजार घुस, प्राधिकरणका सबस्टेसन प्रमुख पक्राउ

बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ ग्रिड महाशाखा सब(स्टेसन पाटन ललितपुरमा कार्यरत सब-स्टेसन प्रमुख सुपरभाइजर सोम प्रसाद पहाडी छन् ।

नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग १ लाख ४० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ । प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

८. टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना

महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए।
उनले अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको जानकारी दिए। ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ।

स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको निर्देशक काफ्लेले बताए। ‘धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य सेवासमेत प्रभावित भएको छ। आजै पनि हामीले खाली भएको ठाउँहरूमा कसरी ड्यूटी मिलाउने भनेर छलफल गरेका छौं।’

उनले अहिले अस्पतालमा संक्रमणको जोखिम बढेसँगै भर्ना हुन आउने विरामीमध्ये शंकास्पदलाई होल्ड गरेर राख्न थालिएको बताए।

त्यसरी होल्ड गरिएका विरामीको पिसिआर नेगेटिभ आएको अवस्थामा मात्र ननकोभिड वार्डमा पठाइने, अन्यथा संक्रमण पुष्टि भए कोभिड वार्डमा राखेर उपचार गर्ने गरिएको निर्देशक काफ्ले बताउँछन्।

स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरेको छ।

९. स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्बदलीय बैठक आब्हान गरेको छ ।

राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘भोलिको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानिय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा सर्वदलीय बैठकमा कुराकानी हुनेछ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।