ब्रिफिङः स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह, लिपुलेक प्रकरणमा भारतलाई विरोध पत्र पठाउने तयारी, एमाले जिल्ला अधिवेशन : ओली पक्षको ‘पेलान’ ले कतै सन्यास, कतै विश्राम !

एन सञ्चार, ३० पुषः
१. पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ : नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ पुगेको छ ।
गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा ३ सय ६ जना निको भएका छन् । गएको २४ घण्टामा ३ लाख २० हजार २ सय ७६ जनाले कोरोनाको खोप लगाएका छन् ।
योसहित नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ पुगेको छ । जसमध्ये १ करोड ५६ लाख ६ हजार २१ जनाले एकमात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले दुई मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२. सरकारले स्थानीय तहको चुनाव पन्छाउन खोज्यो : प्रदीप ज्ञवाली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिसअनुसार सरकारले कुनै निर्णय नगरेको बताए ।
उनले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजेको आशंका पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए । समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।
‘निर्वाचन आयोगको प्रष्ट भनाइ छ– न म्याद थप गर्न सकिन्छ । न स्थानीय तहहरूले प्रयोग गर्दै आएको अधिकार अरू कसैलाई हस्तान्तरण गर्न सकिन्छ । त्यसो भएको हुनाले चुनावको विकल्प छैन । सामान्यतया निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, अहिलेसम्म सरकारले निर्वाचन आयोगको सिफारिसअनुसार कुनै निर्णय गरेको छैन । के सरकारले स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो ? फेरि ०५९ साल फर्काउन खोजेको हो कि गम्भीर आशंकाहरू पैदा भएका छन् । त्यो हुन पाउँदैन । त्यो हुन दिइँदैन । त्यो एकदमै गलत हुन्छ । समयमा स्थानीय तहको चुनाव हुनुपर्छ । नेकपा (एमाले)को प्रष्ट मान्यता छ,’ उनले भने ।
उनले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्च गरेको पनि आरोप लगाए ।सीआईबीले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरूलाई ढाकछोप गर्न खोजेको उनले बताए । सरकारी वकिलको कार्यालयले अधिकारको दुरूपयोग गरेको उनको भनाइ छ ।
३. स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्री देउवाको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगर लगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे संक्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरे ।
थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचान सहितको पर्वका रूपमा मनाइँदै आएको छ ।
हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताएका छन् ।
यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्ये माघे संक्रान्ति अर्थात माघी पनि एक हो, यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास उनले लिएका छन् ।
प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
४. हिमालयन बैंकले धोका दियो, हाम्रो डेढ वर्षको मेहनत खेर गयो– पृथ्वीबहादुर पाण्डे
नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि भएको सम्झौता करीब १० महिनापछि तुहिएको छ ।
हिमालयन बैंकका ३६ प्रतिशत शेयरधनीले नचाहँदा यसको मर्जर शुक्रवारदेखि औपचारिक रूपमै भाँडिएको हो ।
मर्जर भाँड्नमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र कर्मचारी सञ्चय कोषको भूमिका रह्यो ।
इन्भेस्टमेन्ट बैंक भने अन्तिमसम्म पनि मर्जर सम्झौताप्रति प्रतिबद्ध देखिएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माको हस्तक्षेप, मर्जरमा जान नहुने हिमालयनका अध्यक्ष श्रेष्ठको स्वार्थ र सरकारी कर्मचारी र कर्मचारी सञ्चय कोष ले मर्जर भाँड्न भूमिका खेले ।
हिमालयन बैंकका अध्यक्षले आफ्नो स्वार्थपूर्ति गर्न नौ महिनादेखि रोकिएको शेयर किनबेच, शेयर धनीले पाउने नगद लाभांश अनिश्चितकालका लागि रोकेरै मर्जर भाँडेका भाँडेका छन् ।
यी दुई बैंकले अब अर्को कुनै बैंकसँग मर्जरमा नगएसम्म शाखा विस्तार गर्न पाउने छैनन् । राष्ट्र बैंकबाट प्राप्त हुने सुविधाबाट पनि उनीहरूलाई वञ्चित गरिने छ ।
कर्मचारी सञ्चय कोषबाटै प्रतिनिधित्व गरेका व्यक्तिले गरेको सम्झौता, आफैं अध्यक्ष रहेको बोर्डले गरेको सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) प्रतिवेदनलाई अस्वीकार गरेर हिमालयन बैंकका तर्फबाट मर्जर भाँडिएको छ ।
हिमालयन बैंकले बनाएको प्रतिवेदन पन्छाएर बाहिरैबाट तयार अर्को प्रतिवेदनलाई आधार बनाउँदै सञ्चय कोषले नै आफ्नो शेयरधनीलाई धोका दिएको इन्भेस्टमेन्ट बैंकका अधिकारीहरू बताउँछन् ।
हिमालयन बैंकले गरेको र उसैले छनोट गरेको व्यक्तिबाट भएको डीडीए रिपोर्ट नमानेका कारण मर्जर भाँडिन पुगेको छ । अर्थ मन्त्रालय, अख्तियार दुरुपायोग अनुसन्धान आयोगसहितका निकायबाट दबाब दिन लगाएर मर्जर प्रक्रिया भाँडिएको बैंककै कर्मचारीहरू बताउँछन् ।
हिमालयन बैंकले धोका दियो– पाण्डे
नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले हिमालयन बैंकले धोका दिएको बताए ।
इन्भेस्टमेन्ट बैंकको कर नलाग्ने एफपीओमा अनावश्यक बहस गरेर र नक्कली डीडीए बनाएर मर्जरमा धोका दिने काम भएको उनको बुझाइ छ ।
हिमालयन बैंकसँग मर्जरका लागि डेढ वर्ष अगाडि छलफल भएको र ९ महिनाअगाडि मर्जरको सम्झौता गरिएको थियो । हिमालयनले अन्तिम समयमा आएर धोका दिँदा आफूहरूको डेढ वर्षको समय समेत खेर गएको पाण्डेले बताए ।
पाण्डेका अनुसार हिमालयनसँग मर्जर जाँदा ठूलो बैंक हुने, बैंकिङ प्रणालीको विकास गर्ने र अरू दुईवटा बैंक मर्जर गराएर दायरा बढाउने तयारी थियो ।
बैंक आफ्नो (पृथ्वीबहादुर पाण्डेको) पकडमा रहने भन्ने भ्रामक कुरा गरेर प्रचण्डबहादुर श्रेष्ठ र उनलाई साथ दिने कर्मचारी सञ्चय कोषले मर्जर भाँड्न भूमिका खेलेको पाण्डेले बताए ।
बाहिरबाट डीडीए गराएर मर्जर भाँड्ने काम भएको उनको गुनासो छ ।
‘हिमालयन बैंक आफैंले गराएको डीडीए नमान्न पनि सकिन्थ्यो, यहाँ त बाहिरबाट अर्को डीडीए गराएर मर्जर नै असफल बनाउने काम भयो,’ पाण्डेले भने, ‘हाम्रो मेहनत र समय मात्र खेर गयो । अब त सञ्चय कोषको पैसा भएको अरू बैंकसँग समेत मर्जरमा जान सोच्नुपर्छ ।’
मर्जरको पहिलो प्रस्ताव नै हिमालयनबाट आएको उनले खुलाए ।
हिमालयन बैंकले अहिले दिएको धोकाले राम्रो सन्देश नगएको उनले बताए ।
अब के हुन्छ ?
राष्ट्र बैंकका अनुसार यी दुई बैंक मर्जरमा जान जसरी सम्झौता गरेर आएका थिए, अब फेरि त्यसैगरी मर्जरमा नजाने कारण खुलाएर निवेदन दिनुपर्छ ।
मर्जरमा नजाने मनासिव कारण खुलाएको अवस्थामा मात्रै अहिलेको मर्जर सम्झौता रद्द हुनसक्ने राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल बताउँछन् ।
उनका अनुसार मर्जर भाँडिएपछि अब दुबै बैंकलाई ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्जिविसन) सम्बन्धी विनियमावली, २०७३’ अनुसार कारवाही हुन्छ ।
अब यी बैंकले मनासिव कारण खुलाएर सञ्चालक समितिको निर्णय तथा संयुक्त मर्जर वा प्राप्ति समितिको निर्णयसहित राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ ।
त्यसपछि पनि यी दुई बैंकले जति समय माग्छन्, त्यति नै समय अर्को संस्था खोजेर मर्जरमा जानुपर्छ ।
त्यतिबेलासम्म राष्ट्र बैंकले गर्ने कारवाही स्वरूप शेयर कारोबार रोक्का, लाभांश वितरण गर्न नपाउने, राष्ट्र बैंकले दिने सुविधा नदिने र शाखा विस्तारसम्म गर्न नपाउने कारवाही भने भोग्नुपर्छ ।
५. नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो
नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ। एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो।
अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो।
कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ। अनेरास्ववियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।
६. ‘ए’ डिभिजन लिगमा सातदोबाटोले मनाङ मर्स्याङ्दीलाई र एपीएफले हिमालयन शेर्पालाई हरायो
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई २–१ गोलले हराएको हो ।
सातदोबाटोका मार्टिन एडिल्फे सिलो र मार्टिन्स अजयीले एकरएक गोल गरे । मनाङका आफिज ओलावालेले एक गोल फर्काए ।
सातदोबाटोले मनाङलाई पहिलो पटक हराएको हो । जितसँगै सातदोबाटोले ९ खेलमा १२ अङ्क जोडेको छ ।
सातदोबाटो लिगको छैटौँ स्थानमा उक्लिएको छ । मनाङको ९ खेलमा १९ अङ्क छ । मनाङ दोस्रो स्थानमा छ ।
त्यसै गरी आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा एपीएफले हिमालयन शेर्पालाई १–० गोलले हराएको हो ।
एपीएफका आभाष लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै एपीएफले ९ खेलमा १० अङ्क जोडेको छ । एपीएफ अङ्कतालिकाको आठौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पाको ११ अङ्क छ । हिमालयन शेर्पा छैटौँ स्थानमा छ ।
७. लिपुलेक प्रकरणमा भारतलाई विरोध पत्र पठाउने तयारी
नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भारतीय पक्षबाट नेपाली भूमि लिपुलेकमा सडक बनाउने लागेको प्रति विरोध गरेका छन् । यसअघि यो प्रकरणमा मौन बसेको आरोप लागेका गगन र विश्वप्रकाशले लिपुलेकमा भारतीय पक्षको गतिविधि आपत्तिजनक भएको बताएका हुन् । विज्ञप्ति जारी गर्नुअघि उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गरेका थिए भने विज्ञप्ति सही भएको बताएपछि आज सार्वजनिक गरिएको हो ।
उनीहरुले विज्ञप्ति ड्राफ्ट भने दुई दिनअघि नै गरेका थिए । तर कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा देउवा परेपछि देउवासँग भेट पाएका थिएनन् । आज बिहान देउवालाई भेटेपछि उनीहरूले विज्ञप्ति सार्वजनिक गरेको एक नेताले बताए । देउवाले परराष्ट्रमन्त्री नारायण खड्कालाई यस प्रकरणमा भारतलाई विरोध पत्र पठाउन निर्देशन दिएका छन् भने देउवाकै सहमतिमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीसमेतलाई सरकारको आधिकारीक धारणा सार्वजनिक गर्न महामन्त्रीद्वयले निर्देशन दिएका छन् । सरकारले लिपुलेकबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी थालेको बताइएको छ । यसअघि यो प्रकरणमा काँग्रेस र सरकार नबोलेको भन्दै आलोचना हुँदै आएको थियो ।
८. एमाले जिल्ला अधिवेशन : ओली पक्षको ‘पेलान’ ले कतै सन्यास, कतै विश्राम !
नेकपा एमालेको जिल्ला अधिवेशनबाट सहमतिका नाममा संस्थापन पक्षले एकलौटी गरेको भन्दै असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । यस्तो असन्तुष्टिसँगै केही पुराना र त्यागी नेताहरुले सक्रिय राजनीतिबाटै सन्यास र विश्रामको घोषणा गरेका छन् । यसरी सन्यास र विश्रामको घोषणा गर्ने नेताहरुमा नवलपुर र दाङका पुराना नेताहरु अग्रपंक्तिमा रहेका छन् । नवलपुर जिल्लाका पुराना नेता जीवन श्रेष्ठलाई संस्थापन पक्षले पाखा लगाएपछि उनले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । त्यस्तै दाङका नेता टीकाराम खड्काले पनि नेतृत्वबाट सही मूल्यांकन नहुँदा विश्राम लिने घोषणा गरेका छन् । उनीहरु दुबै जिल्ला अध्यक्षको दावेदार थिए ।
किन गरे श्रेष्ठले सन्यासको घोषणा ?
नवलपुरमा एमाले जिल्ला अधिवेशनका क्रममा ५ दिन बन्दसत्र चलेपछि इन्चार्ज तिलक महतले सहमति जुटाउने नाममा चुनावी प्रक्रिया नै स्थगित गर्न पुगे । चुनावी प्रक्रिया स्थगित गरेर महतले अध्यक्षका आकांक्षी जीवन श्रेष्ठलाई ‘बाइपास’ गरेर मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरे ।
जबकी यो जिल्लामा श्रेष्ठको पक्षमा ८० प्रतिशत मतदाता रहेको एमाले कार्यकर्ताहरु नै बताउँछन् । यसरी पाण्डेलाई एमालेको अध्यक्ष घोषणा गरेपछि मतदातामा लोकप्रिय रहेका र अध्यक्षमा दाबी गरेका नेता श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यासको घोषणा गर्न बाध्य भए । श्रेष्ठ यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष समेत भइसकेका हुन् । संविधानसभा सदस्य समेत भइसकेका श्रेष्ठले सामाजिक सञ्जालमार्फत अब सक्रिय राजनीतिमा नआउने सार्वजनिक रुपमा घोषणा गरेका छन् ।
उनले लेखेका छन्!
म जीवन श्रेष्ठ २०२९ साल देखि झापा विद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रहि २०३० साल देखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा सङ्गठित भइ नेकपा (केर के) नेकपा माले हुदै एमालेमा सङ्गठित भइ २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाविस उपाध्यक्ष र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भइ संविधान घोषणा सम्म भुमिका निर्वाह गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटि, इलाका, क्षेत्रीय कमिटीको सदस्य र प्रमुख भुमिका निर्वाहा गर्दै २०५४ साल देखि पार्टी जिल्ला कमिटीको सदस्य, २०६३ मा उपाध्यक्ष र २०६९ सालदेखि सचिब पदको भुमिका निर्वाह गर्दै आइरहेको र पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनको बखत पार्टी एकता र सुदृढ गर्दै “सम्मृद्ध नेपाल सुखि नेपाली” को आकाङ्क्षा पुरा गर्ने अभियानमा अभिछिन्न लागि रहेको र हाल केहि असहज परिस्थितिको कारण आजका ९२०७८र०९र२७० मिति देखि सकृय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।
मेरो ४२ बर्षको राजनितिक सकृय जिवन यात्रामा मलाइ साथ सहयोग गर्नुहुने सम्पुर्ण जन, नेकपा एमाले पार्टी र राजनितिक शिक्षा/दीक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा , आन्दोलनमा एक्यबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पुर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रुपमा सदैव सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु।
जीवन श्रेष्ठ, कावासोती ३, नवलपुर, गण्डकी प्रदेश ।
खड्काद्वारा विश्राम घोषणा
नवलपुरका श्रेष्ठपछि सक्रिय राजनीतिबाट विश्रामको घोषणा गर्ने अर्का पात्र हुन्, दाङ एमालेका निवर्तमान अध्यक्ष टीकाराम खड्का । पुराना कम्युनिष्ट नेता खड्कामाथि नेतृत्वले न्याय गरेको भए उनी यतिवेला एमालेको स्थायी समिति सदस्य बनिसकेका हुने थिए । तर, नेतृत्वले पछिल्लो समय उनलाई जिल्ला अध्यक्षको जिम्मेवारी समेत दिन उचित ठानेन र महासचिव शंकर पोखरेलका विश्वासपात्र हुकुम बस्नेतलाई अध्यक्ष घोषणा गर्यो ।
आफूभन्दा धेरै जुनियरलाई अध्यक्ष बनाएपछि अन्ततः उनले सक्रिय राजनीतिबाटै विश्राम लिने घोषणा गर्न पुगे । पुस २३ गते सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमार्फत खड्का पुन जिल्ला अध्यक्ष बन्न चाहन्थे । तर, उनलाई अध्यक्ष केपी शर्मा ओली पक्षले अध्यक्ष बनाउने संकेत सम्म देखाएन । कारण थियो खड्का विगतमा माधव नेपाल निकट भनेर चिनिन्थे । यद्यपी माधव नेपालले पार्टी विभाजन गर्दा उनी पार्टी विभाजनको विपक्षमा उभिदै एमालेमै रहेका थिए ।
यति हुँदा हुदै पनि नेतृत्वले आफूमाथि न्याय नगरेपछि उनले कुनै औपचारिक दावी विरोध गर्नुभन्दा, बरु सहजै राजनीतिबाट विश्राम लिने बाटो रोज्न पुगे । २० वर्षको उमेरदेखि नै विद्यार्थी संगठनमार्फत कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील खड्काले राजनीतिक आन्दोलनका क्रममा ८ महिना जेल जीवन समेत बिताएका थिए ।
खड्काको प्रश्न : जताततै सिन्डिकेट भएपछि किन बस्ने ?
खड्कालाई कसरी यस्तो निर्णयमा पुग्नुभयो ? भनेर राखेको जिज्ञासामा ‘नेतृत्वको एकाधिकारवादी निर्णय’ नै प्रमुख कारण रहेको बताए ।
‘नेतृत्वको एकाधिकारवादी निर्णय पहिलो कारण हो’, खड्काको भनाइ छ । उनले आफु केपी ओली र वामदेव गौतमसँगै पार्टीमा केन्द्रीय सदस्य भएर लामो समय काम गरेपनि त्यसको मुल्यांकन नहुँदा सक्रिय राजनीतिमा रहिरहनु उचित नहुने ठानेर विश्रामको घोषणा गर्न पुगेको बताए । उनले आफु घनश्याम भुसाल, दलबहादुर राना, खगराज अधिकारी, भीम आचार्य र प्रकाश ज्वालाको व्याजी भएपनि जिल्ला कमिटीमा समेत आफूलाई स्थान नदिएकोमा स्वभाविक रुपमा चित्त दुखेको बताए ।
‘जिल्ला कमिटीमा पनि सिन्डिकेट, प्रदेश कमिटीमा पनि सिन्डिकेट हुन्छ भने किन बस्नुपर्यो ?’, खड्काको भनाइ छ ।
९. शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक
पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणीस्थित विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ।
पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो।
पछिल्लो केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाइएको गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिए।
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा हरेक वर्षको माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजन आउने गर्दछन् ।
गाउँपालिकाले सूचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे सङ्क्रान्तिको नियमित मेला, महोत्सवलगायत अन्य भीडभाड हुने कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ।
केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि आज राति १२ बजेदेखि २५ जनाभन्दा बढी भेला नहुने आदेश जारी गरेको छ।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै