न्युज ब्रिफिङः घ्यू, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति, देवघाट र त्रिवेणीधाममा तिर्थालुको घुइचो, संकटमा फसेको अफगानिस्तानलाई नेपालले सहायता सामग्री पठाउँदै, वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू समुदायले माघी

एन सञ्चार, १ माघः

१. खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य गरिँदै, लुम्बिनीमा अझै ४३ प्रतिशतले पूर्ण मात्रा खोप लगाउन बाँकी

सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्यको घोषणा गरिसकेको छ । तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रुपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ ।

भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रंगशालाजस्ता स्थानमा पनि खोपकार्ड अनिवार्य गर्ने व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निकायले निर्देशन दिइसकेको छ । तर, दुबै खोप लगाउन नपाएकाहरु सार्वजनिक सेवा लिनबाट बन्चित हुनसक्ने देखिएको छ ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको लुम्बिनी प्रदेशमा खोपको गति सुस्त छ । प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १९ लाख २१ हजार २६८ मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सीमा क्षेत्रबाट ठूलो संख्यामा आउजाउ गर्ने प्रदेशमा खोपको गति भने सुस्त देखिएको छ । हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या ३१ लाख २९ हजार ३६० रहेको छ भने दुवै मात्रा लगाउनेको संख्या १९ लाख २१ हजार २६८ रहेको छ ।

प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिकाबाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । केहीले दोस्रो मात्रा पर्खिरहेका छन् । केहीमा छुटेकाले स्वास्थ्य संस्थामा गए पनि सहजै खोप लगाउन पाएका छैनन् ।

रूपन्देहीको देवदह नगरपालिकाले खोपका लागि योग्य ४३ हजार जनाको तथ्यांक संकलन गरेकोमा ४० हजारले पूर्ण खोप लगाइसकेको स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए । अन्यलाई समेत खोप उपलब्ध गराएर छिट्टै पूर्ण खोप लगाउन सफल पालिका घोषणा गरिने उनले दाबी गरे । १८ वर्षभन्दा मुनिका कसैले पनि खोप नलगाएको उनले जनाए ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा हालसम्म ७१ हजारले पहिलो चरणमा खोप लगाएका छन्, जसमध्ये ५६ हजार जनाले पूर्ण खोप लगाएको स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए । पहिलो मात्रा लगाउने काम पुस १५ गते सकिएको उनले बताए । अझै चार साता पर्खने र अर्को मात्रा लगाइदिने उनले बताए ।

८० हजार जनसंख्या रहेको उक्त पालिकामा खोप लगाउने सुरुवाती दिनमा अत्यन्तै भीड भए पनि अहिले चाप नभएको पौडेलले बताए । १ लाख जना बसोबास रहेको वाणगंगामा पाँच देखि ११ वर्षका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले दिएपछि र छुटेका व्यक्तिलाई लगाइदिन पालिका तयारी अवस्थामै रहेको उनको भनाइ छ । बाहिरदेखि आएका स्थानीयको एन्टिजेन परीक्षण गरिरहेको उनले जानकारी दिए ।

प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकामा खोपको दोस्रो डोज लगाउने अभियान जारी छ । स्वास्थ्य कार्यालयमा पहिलेजस्तो भीडभाड छैन । पहिलो डोज करले लगाए पनि दोस्रो लगाउन आउन छोडेको स्वास्थ्य संयोजक सुरेन्द्र यादवले बताए । उनका अनुसार लक्षित संख्या १५ हजार रहेकामा बालबालिका र छिटफुट गरी संख्या बढ्दै जाने अपेक्षा गरिएको छ । पालिकामा भेरोसेल र कोभिसिल्डको पहिलो डोज ११ हजार ५२३ जनाले लगाएका छन् । दोस्रो डोज लगाउने पाँच हजार ३७३ जनामात्रै रहेको यादवले बताए । पहिलो डोज लगाएका मध्ये केही काठमाडौं, केही भारत र केही विदेश नै गइसकेको र गाउँमा भएकाले पनि चासो नदिएको उनले बताए । पालिकामा चैतभित्र सबैलाई खोप लगाइदिने गरी आफूहरू लागिपरेको भन्दै यादवले जनता नै भागेपछि आफूहरूको केही उपाय नलागेको बताए ।

 

२. छापा सञ्चार माध्यमहरुको भेलाबाट नवलपुर घोषणापत्र–२०७८ जारी

 

नेपाल पत्रकार महासंघ छापा सञ्चारमाध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा २०७८ पुस २६ र २७ गते अमलटारीमा सम्पन्न गण्डकी प्रदेश स्तरीय छापामाध्यम सञ्चार माध्यमका समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा नवलपुर घोषणापत्र–२०७८ जारी गरिएको छ । उक्त घोषणापत्रमा २८ बुँदाहरु समाविष्ट गरिएका छन् ।

१. नेपालको संविधानको प्रस्तवनामै रहेको पूर्णप्रेस स्वतन्त्रता मौलिक हक विपरीत पछिल्लो समय सञ्चार विधेयकको नाममा संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारले समेत आमसञ्चारमाध्यमलाई अंकुश लगाउने गरी विधयक ल्याउने तयारी गरेकोले ती विधयकहरु खारेज गर्नुपर्ने र सरोकारवालाहरुसँगको सहकार्य तथा छलफलबाट मिडिया मैत्री कानुन बनाउनुपर्ने ।

२. ठूला कम्पनीबाट सञ्चालित पत्रिका र साना स्वरोजगारको रुपमा स्वयं पत्रकारबाट सञ्चालित पत्रिकालाई हेर्ने दृष्टिकोण एउटै रहेकाले स्वरोजगारको रुपमा सञ्चालित पत्रिकाहरुलाई थप सुविधाका लागि नीतिगत व्यवस्था गर्नुपर्ने,

३. राजधानीबाट प्रकाशित पत्रिकाभन्दा मोफसलबाट प्रकाशित पत्रिकाहरुले धेरै समस्या भोग्नु परेकाले मोफसलबाट प्रकाशित पत्रिकालाई थप सुविधाका लागि विशेष प्राथमिकता दिने व्यवस्था गर्नुपर्ने,

४. पत्रकारिता सेवामुखी व्यवसाय भएपनि राज्यले अन्य नाफामुखी व्यवसाय जस्तो व्यवहार गर्ने गरेकाले भ्याट लगायतका सबै पनि करछुटको व्यवस्था हुर्नुपर्ने,

५. हुलाकमा दर्ता भएका पत्रिकाहरुलाई समेत हुलाक सेवा लिंदा प्रत्येक पत्रिकामा रु. २ को टिकट टाँस अनिवार्यता गरी छापासञ्चारलाई थप आर्थिक भार सिर्जना गरिएकोमा यस अघि भएको निःशुल्क कानुनी व्यवस्थालाई निरन्तरता दिइनुपर्ने ।

६. कोरोना जस्ता महामारीमा अन्य नाफामूलक व्यवसायीहरुलाई राज्यले ऋण व्याजमा सहुलियत दिएता पनि सेवामूलक सञ्चारमाध्यमका ऋणव्याजमा सहुलियत नदिएकोले सहुलियतको व्यवस्था गर्नु पर्ने,

७. सरकार स्वयम्ले दिंदै आएको लोककल्याणकारी विज्ञापनमा कर काटेर भुक्तानी दिने गरेकोमा कर नकाट्ने व्यवस्था गर्नु पर्ने,

८. प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणको नतिजा हरेक वर्ष नियमित गर्नुपर्ने, पहुँचको आधारमा वर्गीकरणमा गरिने विभेद अन्त्य गरिनुपर्ने, पत्रिका वर्गीकरणमै परेको बर्षौदेखि राज्यले दिने हरेक सेवा सुविधाहरु उपलब्ध गराइनुपर्ने,

९. स्थानीय पत्रिका प्रवद्र्धनको लागि हरेक स्थानीय निकायले प्रर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने र स्थानीय तहका सरकारी टेन्डर, सामाजिक सूचनाहरु स्थानीय पत्रिकामा अनिवार्य छाप्नु पर्ने व्यवस्था गर्नुपर्ने,

१०. हरेक स्थानीय तह, वडा कार्यालय तथा जिल्ला तथा स्थानीय स्तरमा रहेका सरकारी कार्यालयहरु स्थानीय पत्रिकाको अनिवार्य ग्राहक बन्नुपर्ने,

११. कतिपय स्थानीय सरकार (स्थानीय तह) ले सामाजिक सञ्जाल वा सूचना पार्टीमा मात्र सूचना प्रकाशन गरेको भरमा कामकारवाही अगाडि बढाउने गरेकोले यस्ता सूचनाको भरमा कानुनी वैद्यता दिन नहुने र स्थानीय पत्रपत्रिकामा सूचना अनिवार्य प्रकाशन गर्नुपर्ने,

१२. छापासञ्चारलाई समय सापेक्ष मल्टिमिडिया सम्बन्धी सञ्चालन तालिम बनाइनुपर्ने,

१३. सञ्चारमाध्यमले वर्गीकरणको श्रेणी अनुसार ग्राहक तथा विज्ञापन शुल्कमा एकरुपता कायम गरी स्वस्थ प्रतिप्रर्धीको नीति अवलम्बन गर्नुपर्ने,

१४. अनलाइन समाचारलाई हुबहु प्रकाशन गर्नुको सट्टा त्यसलाई सूचनाको स्रोतको रुपमा मात्र लिई पत्रिकाले आफैले खोजी गरी मौलिक प्रस्तुति दिनु पर्ने र खोजमूलक समाचारहरुलाई प्राथमिकता दिनुपर्ने,

१५. राज्यको हरेक निकाय, सरकारी कार्यालय सबैमा समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने,

१६. सञ्चारमाध्यमको वर्गीकरण अनुसारको अवस्था हेरेर न्यूनतम पारिश्रमिक उपलब्ध गराएकाहरुले न्यूनतम पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गर्ने,

१७. छापा सञ्चारमाध्यमलाई प्रविधिमैत्री बनाउँदै लैजाने, आम्दानीका अन्य माध्यमहरु पहिचान गर्दै जाने,

१८. छापा सञ्चारमाध्यमको हकहितका लागि नेपाल पत्रकार महासंघले छाता संगठनको रुपमा अभिभावकत्व ग्रहण गर्नुपर्ने,

१९. कोभिडका कारण स्मार्ट लकडाउन, लकडाउन आदिको समय पत्रिका प्रकाशन गर्र्नै नसक्ने अवस्थामा पत्रिका प्रकाशन नहुँदा राज्यले दिने सेवासुविधा कटौती गरेको अवस्थामा सहुलियत दिनुपर्ने,

२०. विज्ञापन बोर्डले झण्झटिलो नितीहरु बनाएको कारण त्यसलाई छलफल गरी सहज र सरल नीति बनाउने र सबै सञ्चारमाध्यमलाई विज्ञापन बोर्डले सबै सञ्चारमाध्यमलाई समेट्ने गराउने,

२१. सञ्चारमाध्यमहरु मर्जर नीति ल्याएर, मर्जरको व्यवस्था गर्नुपर्ने,

२२. पहुँच र कमिशनको आधारमा दिइने विज्ञापनको अन्त्य गरिनु पर्ने,

२३. सरकारी कार्यालयले एजेन्सीमार्फत पत्रपत्रिकालाई विज्ञापन दिइने कार्य बन्द गरी, कमिसनको नाममा हुने भ्रष्टचार अन्त्य गर्नुपर्ने,

२४. जिल्लाका स्थानीय तहले जिल्ला भित्रका सञ्चारमाध्यमहरुलाई प्राथमिकतामा राखेर सूचना, विज्ञापन, टेन्डर सूचना उपलब्ध समानुपातिक ढंगले उपलब्ध गराउनु पर्ने,

२५. स्थानीय तह तथा सरकारी कार्यालय, विद्यालय, सरकारी तथा सामाजिक संघसस्थाबाट हुने निर्माण कार्य, सूचना जारी, कर्मचारी भर्ना सूचना आदि स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमबाट अनिवार्य सूचना जारी गर्नु पर्ने व्यवस्था गर्ने,

२६. पत्रिकाहरुलाई छापाखाना, पेपर, ल्यापट, कम्प्युटर, क्यामरा आदि खरिदमा अनुदान वा भन्सार छुटको व्यवस्था गर्नु पर्ने

२७. गण्डकी प्रदेश भित्रका पत्रकारहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने,

२८. गण्डकी प्रदेश भित्रका पर्यकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने

३. घ्यू, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति, देवघाट र त्रिवेणीधाममा तिर्थालु भक्तजनहरुको घुइचो

माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए । देवघाटको मुख्यस्थलमा शुक्रबारदेखि नै प्रहरीले आउजाउ निषेध गरेको थियो ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाए पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलको मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरीजस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्य राम्रो हुने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । यस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए । कोरोनाको कहरका बाबजुदपनि स्थानिय प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै त्रिवेणीधाम, देबघाटधाम लगायतका नदी, तलाउ र घाटहरुमा बिहान सबेरैदेखि नुहाउने र दर्शन गर्ने तिर्थालु भक्तजनहरुको भिंड लागेको थियो ।

४. बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध

नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउन सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आ–आफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका घटना हुने गरेको बताए । उनका अनुसार हालैमात्र सङ्गम महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट एक बालिकालाई साथी बनाइ जबर्जस्ती करणी भएको घटना बाहिर आएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगजबाट कानुनी कारवाही थालिएको जनाइएको छ ।

प्रहरीका अनुसार सुरुमा ती व्यक्तिले बालिकालाई बारम्बार भिडियो कल गरी संवेदनशील अङ्ग देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथी तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए ।

पुस २७ गते राति काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बोलाइ जबर्जस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा उनले यसरी नक्कली फेसबुक एकाउन्ट बनाएको खुलेपछि पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीले यसरी सामाजिक सञ्जालमा नक्कली फेसबुक एकाउन्ट खोली अपराधजन्य कार्य बढ्दो रहेकाले प्रहरीले सचेत हुन अपिल गरेको हो ।

५. पाल्पाको रानीमहल सङ्ग्रहालयमा परिणत

नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका यो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो । १५ लाख रुपैयाँ बाट थालनी भएको काम हाल करिब ३५ देखि ४० लाख रुपैयाँ खर्च भइसकेको बताउनुहुँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा बजेट बढाउँदै जाने बताउनुभयो । उहाँले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित १० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताउनुहुन्छ ।

नगरपालिकाका अधिकृत शङ्कर भण्डारीले करिब दुई महिनाको निरन्तर मेहनतले दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्न सकिएको बताउनुभयो । उहाँले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई सङ्ग्रहालयमा राखिएको बताउनुभयो ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ । विसं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए । चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ ।

तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीयरुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ ।

६.सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीसँग पराजित फ्रेण्ड्सलाई थप रेलिगेसनको चिन्ता

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ अन्तरले पराजित फ्रेण्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पटक रेलिगेसन संघारमा रहेको छ।

शनिबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीसँग पराजित हुँदा फ्रेण्ड्सले छैटौं हार ब्यहोर्‍यो। जुन हारले फ्रेण्ड्स थप रेलिगेसनको नजिक रहेको हो।

यता, विजयी आर्मी भने तेस्रो स्थानमा उक्लिएको छ। आज नै हुने दोस्रो खेलमा संकटा क्लब थ्रीस्टार क्लबलाई कम्तीमा २–० ले पराजित गरे तेस्रो स्थानमा उक्लने छ। यदि सो नतिजा संकटाको पक्षमा नआए आर्मीले नवौं चरणमा तेस्रो स्थानमा रहेर टुंगाउनेछ।

खेलको १०औं मिनेटमा जगजित श्रेष्ठले आर्मीको अग्रता दिलाए। मैदानको बायाँ भागबाट जगजितले गरेको क्रस दोस्रो बारमा लाग्दै अप्रत्याशित रूपमा जाली चुमेको थियो। उनको प्रहार रोक्न फ्रेण्ड्सका भारतीय गोलरक्षक राहुल रामचन्द्र यादवले कुनै प्रयास नै गरेनन्।

२२औं मिनेटमा आर्मीले अग्रता २–० को बनायो। जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका दीनेश हेम्जनले ‘वान टच’ मा गोल गरे।

दोस्रो हाफको सुरुआतमै फ्रेण्ड्सले अग्रता २–१ मा झार्‍यो। विदेशी खेलाडी जमोउल एन्थोनी पाउलले गोल गरे। आर्मीका गोलरक्षक विकेश कुथुले राम्ररी क्लियर नगरेको बललाई एन्थोनीले खाली पोस्टमा गोल गरे।

७१औं मिनेटमा आर्मीले अग्रता ३–१ को बनायो। जगजित श्रेष्ठले प्रहार गरेको कर्नरलाई बक्स भित्रबाट हेड गर्दै सुमन अर्यालले सहज जित दिलाए।

यस अगि दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। अघिल्ला खेलहरूको तुलनामा दुवै टोलीले औसत सुधारिएको प्रदर्शन गरेका थिए। यद्यपि आर्मी स्कोर निकाल्न सफल भयो।

जितसँगै आर्मीले महत्त्वपूर्ण तीन अंकसहित गोल अन्तरको भने सुधार गरेको छ। आर्मी ९ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।

पराजित फ्रेण्ड्स भने ९ खेलबाट ३ अंक सहित पुछारमा रहेको छ। हारसँगै फ्रेण्ड्सलाई रेलिगेसनको थप दबाब बढेको छ। फ्रेण्ड्स पहिलो पटक शीर्ष डिभिजन लिगबाट रेलिगेसन हुने संघारमा छ।

७. संकटमा फसेको अफगानिस्तानलाई नेपालले सहायता सामग्री पठाउँदै

ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराएका हुन् ।

उनले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारको तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे। मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावीसमेत गरे । उनका अनुसार भोलि नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ। नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधि उपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन् ।

मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे। उनले नेपालले विपदमा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए।

नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको पनि मन्त्री खड्काले बताए। उनले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदूतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गरे।

संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ। लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ।

८. भरतपुर अस्पतालले भन्यो- कोभिड संक्रमणको प्रकोप उच्च, सामान्य प्रकृतिका बिरामी नआउनु

चितवनको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा।कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका बिरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् ।

अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत) मा कोभिड पुष्टि भएको पौडेलले बताए ।

‘यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ ।

तत्कालै अस्पताल पुग्नुपर्ने बिरामी र बिरामी कुरुवाले पनि हेलचेक्रयाई नगरी जनस्वास्थ्यका मापदण्ड (सहि तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दुरी कायम गर्ने र बारम्बार हात धुने) पालना गर्न अस्पतालले आग्रह गरेको छ ।

९. वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू समुदायले माघी

तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघी पर्व मनाएका छन्।

थारू समुदायले नयाँ वर्षमा स्नान, दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेरसमेत माघी पर्व मनाउने परम्परा बसालेका छन्।

स्थानीयस्तरमा लोकतन्त्रको अभ्यास हुनुअघिदेखि थारू समुदायमा लोकतान्त्रिक विधिबाट मुखियालगायत वर्षभर समुदायबाट नेतृत्व गर्ने विभिन्न पदको चयन हुन्छ।

परापूर्वकालदेखि थारू समुदायले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै आएका छन्।

यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ। यसैले आजका दिन नयाँ नेतृत्व चयन गर्ने परम्परा बसालिएको हो।

माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रूपमा रहेको पाइन्छ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रूपमा माघी पर्व मनाएका छन्।