आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने, राम्रोसँग पानी नपर्दासम्म मौसम पूर्णरुपमा नखुल्ने

एन सञ्चार, माघ २ः

तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ।

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ। आज वर्षा र हिमपातको सम्भावना छैन।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ।

भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमापात हुने सम्भावना छ।

राम्रोसँग पानी नपर्दासम्म मौसम पूर्णरुपमा नखुल्ने

केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् । ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ ।

दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन । छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ , मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि दिउँसोको समयमा हुस्सु कुहिरो हटी घामसँगै बादल लाग्ने सम्भावना छ । राम्ररी पानी नपरेका कारण मौसम पूर्णरुपमा खुल्न नसकेको उहाँले बताउनुभयो ।

विशेषगरी राम्ररी पानी नपरेका बेला र राति आकाश सफा भएका बेला त्यसको भोलिपल्ट बिहान बाक्लो हुस्सु, कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । ‘रातभरि बादलले ढाकेको भए आकाश गुम्सिन्थ्यो, जसले गर्दा बिहान धेरै चिसो हुने र बाक्लो हुस्सु कुहिरो लाग्ने थिएन,’ उहाँले भन्नुभयो– ‘राति आकाश सफा रहँदा बिहान र बेलुका चिसो बढ्छ ।’ केही दिनयता बेलुकाको समयमा चिसो सिरेटो समेत चल्न थालेको छ । हिउँदमा  पश्चिमी वायुमार्फत हिमालबाट सिरेटो चल्ने भएकाले हावा चिसो हुन्छ ।

मौसमविद् मानन्धरले राम्ररी पानी नपर्दासम्म मौसम यस्तै रहने पनि बताउनुभयो । यसैबीच, आज काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो बिहान ५ दशमलव ७ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।