न्युज ब्रिफिङः प्रदेश २ को नाम ‘मधेश प्रदेश’  पारित, प्रदेशको राजधानी जनकपुर, दाहाल–नेपालको दुई प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा : कि तीन तहको चुनाव एकैपटक, नभए पहिले संघीय निर्वाचन, जिल्ला प्रशासन कार्यालय नवलपरासीको सेवा एक हप्तालाई बन्द

एन सञ्चार, माघ ३ः

१. प्रदेश २ को नाम ‘मधेश प्रदेश’  पारित, प्रदेशको राजधानी जनकपुर

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको हो।

प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको छ। जुन दुई तिहाइ बहुमत हो।

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।

साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरधामलाई नै पारित गरेको थियो ।

 

२. पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता खारेज गर्न छानबिन समितिको सिफारिस

पशुपतिमा धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम आलेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानबिन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

छानबिन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति मन्त्रालयका सचिव तथा परिषद्का सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाउनुभएको हो । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुवेदीले विभिन्न कारण देखाएर सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको बताउनुभयो ।

छानबिन समितिको प्रतिवेदनले पनि अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलोमतो भएको हुनसक्ने देखिएको, सम्झौता विपरीत बेड सङ्ख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृति विना संरचनाहरू थप गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको लगायतका कारण देखाएर सम्झौता रद्द गर्न भनेको हो ।

धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । नेपाल भारत मैत्री धर्मशाला भारत सरकारको ४० करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।

३. नाम र राजधानी तय भएको खुसीयालीमा मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

नाम र राजधानी तोक्न सफल भएपछि मधेस सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

आज मतदान प्रक्रियाबाट प्रदेशको नाम मधेस र रजाधानी जनकपुरधाम तय भएको खुसीयालीमा सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

आज झण्डै चार वर्षपछि प्रदेशले स्थायी राजधानी र नाम पाएको हो ।

४. दाहाल–नेपालको दुई प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा : कि तीन तहको चुनाव एकैपटक, नभए पहिले संघीय निर्वाचन

सत्ता गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीनै तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन् ।

सत्ता गठबन्धनमा अनौपचारिकरुपमा गरिएको यो प्रस्तावले प्रधानमन्त्री अप्ठेरोमा परेको स्रोतले जानकारी दियो ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगसँगै प्रतिपक्षी दलले दबाब दिइरहेका बेला सत्ता गठबन्धनकै नेताहरुबाट यस्तो प्रस्ताव आएपछि प्रधानमन्त्री अप्ठेरोमा परेका हुन् ।

सत्ता गठबन्धनका एक नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस्तो प्रस्ताव राखिसकेका छन् ।

उनीहरुको प्रस्तावपछि स्थानीय तहको मात्र चुनाव घोषणा गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेको छ ।

“प्रचण्ड र माधवजीको प्रतिनिधिसभाबाट निर्वाचन सरु गरौँ भन्ने प्रस्ताव छ । होइन भने तीनवटै तहका निर्वाचन एकसाथ गरेर राज्यलाई कम आर्थिक भार बनाउन सकिन्छ भन्ने विकल्प पनि उहाँहरुको छ,” गठबन्धनका ती नेताले भने, “प्रधानमन्त्रीले त्यसमा निर्णय गरको अवस्था देखिएन ।”

ती नेताका अनुसार प्रधानमन्त्रीले सत्ता गठबन्धनका नेताको कुरा नमाने सरकार नै अप्ठेरोमा पर्न सक्ने अवस्था रहेकाले निर्णय गर्न प्रधानमन्त्रीलाई अप्ठेरो परेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने सत्ता गठबन्धन उल्लेख नगरी तीनवटै तहको चुनाव एकसाथ गर्ने र फरक तहको फरक फरक चुनाव गर्ने भन्ने विषयहरु आइरहेको बताउँछन् ।

ती विकल्पहरुको आ–आफ्ना तर्क रहेको भन्दै सरकारले निर्णय गरिनसकेको उनको भनाई छ ।

“तीनवटै तहको निर्वाचन एकसाथ गर्दा उपयुक्त हुन्छ । त्यसले महामारीले कमजोर पारेको अर्थतन्त्रलाई थप कमजोर हुनबाट जोगाउँछ भन्ने तर्क आएको छ,” कार्कीले पत्रकारहरुसँगको अनौपचारिक भेटमा भने, “हरेक तहको आफ्नै महत्व रहेकाले छुट्टाछुट्टै गर्नुपर्छ भन्ने तर्क पनि आएको छ ।”

उनले सरकारले त्यसमा निर्णय गरिनसकेको भन्दै यथोचित समयमै निर्णयमा पुग्ने बताए ।

 

५. आयल निगमको सञ्चिति बचत शून्य, मूल्य समायोजन नभए ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने

नेपाल आयल निगमको सञ्चिति बचत सकिएको छ । सोमबार एक विज्ञप्तिमार्फत निगमले सञ्चिति बचत शून्यमा पुगेको जनाएको हो ।

निगमले इन्डियन आयल कर्पोरेसनलाई यही २३ जनवरीमा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ नपुग्नेसमेत बताएको छ । निगमले इन्डियन कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगरेमा आगामी १५ दिनमा निगमले थप दुई अर्ब २४ करोड घाटा हुने माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने बताएको छ।

जसअनुसार मूल्य समायोजन नभए अबको ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन् ।

निगमले अहिले पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको जनाएको छ ।

मट्टीतेलबाट प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको निगमको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी हवाई इन्धनबाट पनि प्रति लिटर १४.७३ औसत नाफा नाफा भइरहेको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा भने प्रति सिलिन्डर ६४६.१६ रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ ।

 

६. परासी र सुनवल औद्योगिक क्षेत्रको विद्युत् आपूर्तिको समस्या समाधान, अब आलोपालोमा चलाउनु नपर्ने

नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल)  ३३ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

दुवै प्रसारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘प्रसारण क्षमताले नधानेर पर्याप्त विद्युत् आपूर्ति हुन नसक्दा त्यस क्षेत्रका उद्योगले गर्मी मौसमका दिनमा केही समय आलोपालो चलाउनु पर्ने बाध्यात्मक अवस्था थियो, अब यस्तो अवस्थाको अन्त्य भई उद्योगलाई मागअनुसार पर्याप्त विद्युत् सकिन्छ,’कार्यकारी निर्देशक घिसिङले भने ।

‘सुनवल क्षेत्रमा सञ्चालित उद्योगहरूलाई विद्युत् आपूर्तिका लागि १३२र३३ केभी सुनवल सब स्टेसन निर्माणाधीन छ, सबस्टेसनको निर्माण आगामी चैतरवैशाखभित्रमा सकिने छ, त्यसपछि त्यहाँबाट थप ९० मेगावाट विद्युत् उद्योगहरूलाई दिन सकिन्छ भने आपूर्ति पनि अझै विश्वसनीय र गुणस्तरीय हुने छ ।’

केही महिना अघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रसारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिएका थिए । १९ किलोमिटर सिंगल सर्किट प्रसारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताए ।

सुनवल क्षेत्रमा लक्ष्मी स्टील्स्,पाल्पा सिमेन्ट, सर्वोत्तम सिमेन्टलगायतका उद्योगहरू सञ्चालित छन् । ती उद्योगहरूले आफ्नो क्षमता वृद्धिका लागि थप विद्युत् माग गरेका छन् भने त्यस क्षेत्रमा अन्य नयाँ उद्योगहरू खुल्ने क्रममा रहेका छन् ।

प्राधिकरणले गण्डकमा रहेको १३२र३३ केभी सब स्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको हो । ‘अब गण्डक परासीमा रहेको पुरानो र अहिले निर्माण गरिएको दुईवटा सहित ३३ केभीका तीनवटा सर्किटबाट विद्युत् आपूर्ति दिन सकिने छ, विद्युत् अभावमा परासी क्षेत्रका उद्योग अब आलोपालोमा चल्नु पर्दैन’, निर्देशक ओझाले भने । बर्दघाटबाट १३२ केभी प्रसारण लाइनका साथै आवश्यक परेमा भारतबाट समेत गरी गण्डक सबस्टेसनमा विद्युत् आपूर्ति हुन्छ ।

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको छ ।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सब स्टेसन निर्माण सुरु गरिने छ ।

७. एमालेको सर्कुलर जारी : ‘२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्नु’

एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो।

साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ।

यस्तो छ सर्कुलर

नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ। साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ।

८. मुग्लिन–पोखरा सडक विस्तारको काम सुरु

पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ । एशियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो ।

पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ। पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय स्थापना गरिएको छ ।

यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय हाल गुणादीमा रहेको छ । योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम सुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ ।

जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० वटा कटान गरिएको छ । सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ । यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान सुरु गरिने योजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

योजना प्रमुख श्रेष्ठले भने, “पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भए पनि अहिले पहिलो चरणमा रुख कटान सुरु गरेका छौँ । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गछौँ ।” पश्चिम खण्डको तुलनामा पूर्वी खण्डको काम केही अघि बढेको बताइन्छ । रुख कटानसँगै विद्युत्का पोल हटाउनका लागि प्राधिकरणले लगत सङ्कलनको कार्य अगाडि बढाएको बताइन्छ ।

यसका साथै राजमार्ग विस्तारका क्रममा सडक मापदण्डमा पर्ने घरटहरा हटाउने कार्यसमेतसँगै अघि बढाउने योजनाको तयारी छ । अहिले घरटहराको लगत लिने काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहे पनि पश्चिम खण्डको सबै केही स्थानमा भने छ लेन बन्ने भएको छ । योजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ ।

तल्लो गगनगौँडादेखि गाछेपानी (हलेदी झोलुङ्गेपुल) चार लेन, गाछेपानी–खैरेनीटार बजार छ लेन र खैरेनीटारदेखि जामुनेसम्मको खण्ड चार लेनको बन्नेछ । विस्तार गरिएको छ लेनको सडक फुटपाथसहित ४३ मिटरको हुनेछ । जसमा बीचमा डेढ मिटरको डिभाइडर रहने योजना कार्यालयका प्रशासन प्रमुख जीवनाथ शर्मा मरासिनीले जानकारी दिए। उनका अनुसार डिभाइडरमा फूल रोपेर सडकको सौन्दर्य वृद्धिको योजना छ ।

पश्चिम खण्डलाई रु सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गत वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ । योजना आगामी ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको उनले बताए । सम्झौतामा पोखराको विजयपुर पुल, कोत्रे नदी पुल, कुम्लेखोला पुल र म्याग्देखोलामा नयाँ पुल निर्माणसमेत समेटिएको बताइन्छ । पोखराको सेती नदी पुल र दमौलीस्थित मादी नदी पुलका लागि थप बोलपत्र आह्वान गरेर काम अघि बढाइने योजनाले जनाएको छ ।

९. जिल्ला प्रशासन कार्यालय नवलपरासीको सेवा एक हप्तालाई बन्द

कर्मचारीहरुमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको छ ।अधिकृतसहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्धारा जारी सूचनामा उल्लेख छ ।

कार्यालयबाट प्रदान गरिने नागरिकता, नागरिकताको प्रतिलिपि, पासपोर्ट र राष्ट्रिय परिचय पत्रका काम माघ ९ गतेसम्मका लागि बन्द गरिएको हो । प्रशासनमा दैनिक २ सय देखि ३ सय जना सेवाका लागि आउने गरेका छन् । यसैबीच पछिल्लो पटक कोरोना संक्रमण दर बढ्दै गएको छ । १५ दिनअघि शुन्यजस्तै रहेको जिल्लामा अहिले दैनिक १० देखि १२ जनामा पोजेटिभ देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिए ।