न्यूज ब्रिफिङ्ः अटो चालक हत्या आरोपी युवक झापाबाट पक्राउ, सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण, एमसीसीमा केपी ओली पनि प्रचण्डकै लाइनमा !, रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

एन सञ्चार, २६ माघ ।।
१. पशुपति मन्दिर शुक्रबारदेखि खुल्ला गरिने
बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि दर्शनार्थीका लागि खुल्ला हुने भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको माघ २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरि पूजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुल्ला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुल्ला गर्ने निर्णय भएको विकास कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ।
२. विद्युतीय मतदानको सम्भाव्यता कति ?: आयोगका मेसिनले गर्दैनन् काम
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदानको सम्भाव्यता अध्ययनका लागि छलफल थालेको छ । आयोगले आज आईटी विज्ञहरूसँग छलफल गरेको हो ।
सम्भाव्यता अध्ययनका लागि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तको नेतृत्वमा कार्यदल गठन भएको छ । कार्यदलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको आयोगका प्रवक्ता शालिग्रामशर्मा पौडलले जानकारी दिए ।
आयोगसँग भएका मेसिनले काम गर्दैनन्
भोटिङ मेसिनको तयारी गरिए पनि आयोगमा भएका मेसिन प्रयोग गर्न नमिल्ने भएको छ । आयोगमा भएका मेसिन पुराना भएकाले त्यसले काम नगर्ने प्रवक्ता पौडेलले बताए ।
२०६४ को निर्वाचनमा भारत सरकारबाट विद्युतीय मेसिन अनुदान स्वरूप प्राप्त भएका थियो । प्रतिनिधिसभाको काठमाडौं क्षेत्र नम्बर र कतिपय उपनिर्वाचन ती मेसिन प्रयोग भएका थिए ।
आयोगले आफूसँग रहेको मेसिन प्रयोग गर्न नमिल्ने भएपछि त्यसबारे पनि छलफल गरेको छ । आयोगमा बुधबार रामलक्ष्मण भोटिङ मेसिनको (डेमो) प्रस्तुत गरिएको छ । रामलक्ष्मण इनोभेसनका एक अनुसन्धानकर्ता राम रिमालले आफूहरूले मेसिन प्रयोग गर्न तयार रहेको बताएको जानकारी दिए ।
“आज डेमो प्रस्तुत गरेका छौँ । हामीले मतदानका लागि तयार रहेको बताएका छौँ,” उनले भने ।
आफूहरूसँग हाल १०० वटा मेसिन रहेको र आवश्यक परे हजारदेखि १५ सयसम्म मेसिन तयार गर्न सकिने उनले बताए ।
“हामीसँग १०० वटा मेसिन छ । बनाउन परे हजारदेखि १५ सयसम्म मेसिन तयार गर्न सक्छौँ,” उनले भने ।
राम लक्ष्मण मेसिन गएको मंसिर भएको एमालेको महाधिवेशनमा पनि प्रयोग भएको थियो ।
३. सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण
सरकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ।
सरकारको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसको आधारमा माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयहरुले पछिल्लो पटक माघ २३ गते बिभिन्न आदेश तथा निषेधाज्ञाहरु हटाउने निर्णय गरेका थिए । त्यसयता कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ २२ गते पीसीआर विधिबाट ५ हजार २२५ र एन्टीजेन विधिबाट ३ हजार २८८ गरि कूल ८ हजार ५१३ जनाको कोरोना परीक्षण गरिएको थियो । उक्त दिन १ हजार ७ १४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको थियो भने ९ जनाको मृत्यु भएको थियो।
माघ २३ गते पीसीआर विधिबाट ६ हजार ४४३ र एन्टीजेन विधिबाट २ हजार ८०८ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३८६ जनामा संक्रमण पुष्टी भएको थियो । उक्त दिन कोरानाका कारण ११ जनाले ज्यान गुमाएका थिए ।
माघ २४ गते ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन विधिबाट गरि कूल ११ हजार ३६५ जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १ हजार ५७० जनामा संक्रमण पुष्टी भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार माघ २५ गते देशभर १ हजार ९५७ जना नयाँ संक्रमित थपिएका थिए। पीसीआर विधिबाट ८ हजार ५८७ र एन्टीजेन विधिबाट ४ हजार १०५ जना गरि कूल १२ हजार ६९२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको थियो। माघ २५ गते कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो ।
आज माघ २६ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ। सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरि कूल १६ हजार ३५६ जनाको कोरोना परीक्षण गरिएको थियो।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले पछिल्ला प्रत्येक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको देखाएको छ। सरकारले कोरोना नियन्त्रणमा आएको जनाउँदै जारी गरेका निषेधाज्ञाहरु खुकुलो बनाएपछि संक्रमण बढ्दै गएको हो।
४. नेपालले एमसीसी अनुमोदन नगरे सहायता रोक्न अमेरिकी ‘लबिङ’
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन नगरे नेपाललाई अन्य बहुपक्षीय र द्विपक्षीय सहायता रोक्न अमेरिकाले लबिङ थालेको छ । करिब ५५ अर्ब रुपैयाँको सहायता सम्झौता अनुमोदन मामिलालाई लिएर अमेरिका आक्रामक बनेपछि परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् ।
‘नेपालमा एमसीसी गिजोलिएपछि अमेरिकाले अग्रेसन (आक्रामकता) देखाउन थालेछ,’ दाताहरूसँग निकट सम्बन्ध राखिरहेका आर्थिक कूटनीतिका जानकार एक अधिकारीले भने, ‘आर्थिक नाकाबन्दी नै लगाउँदा आलोचित हुने हुनाले अमेरिकाले भित्री कदम चाल्न खोजेको छ, केही राजदूृतहरूसँग कुरा गर्दा द्विपक्षीय र बहुपक्षीय साझेदारहरूलाई नेपाललाई दिँदै आएको सहायताबारे विचार गर्न अमेरिकाले अनौपचारिक आग्रह गरेको बुझियो ।’
नेपाल सरकारका अधिकारीहरूलाई भने अमेरिकाले औपचारिक या अनौपचारिक रूपमा सहायता रोक्ने कदम चाल्नेबारे कुनै चेतावनी दिएको छैन । तर, एमसीसी सम्झौता मामिला पेचिलो बन्दै गएपछि काठमाडौँस्थित अमेरिकी दूतावासमा तारन्तार पुगिरहेका आफू पक्षधर केही व्यक्तिहरूलाई पनि अमेरिकाले नेपालमा हुने गरेको सहायता प्रवाहबारे अन्तर्राष्ट्रिय मञ्चहरूमै ‘कुरा गर्ने’ बताइरहेको छ । बाहिर यस्तै सन्देश प्रवाह गरिदिन आफूहरूलाई आग्रह भएको उनीहरू बताउँछन् ।
‘विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिका लागि दिइएको अनुदान सहायता उपयोग गर्नुको साटो सम्झौताका बुँदाहरूलाई अनेक अर्थ लगाएर आफूलाई बदनाम गर्न खोजेको महसुस अमेरिकाले गरेको बुझियो,’ अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका एक पूर्वअधिकारीले भने, ‘नेपालमा अनुदान सहायता दिँदा भोगेको सास्तीलाई अमेरिकाले बदला लिएर क्यास गर्न खोजिरहेको छ, यस्तो भयो नेपाल चरम आर्थिक संकटमा फस्न सक्छ ।’ कर्जा र अनुदान प्रदायक निकाय एवम् श्रम सम्बन्ध भएका मुलुकहरूलाई पनि अमेरिकाले नेपाल प्रतिकूल बनाउन सक्ने उनले बताए ।
एमसीसी मामिलामा नेपालसँग ‘इगो’ साँधे अमेरिकाले आफूसहित अधिकांश विकास साझेदारलाई नेपाल मामिलामा प्रभावित पार्न सक्ने एमसीसी सम्झौता पक्षधर अरुणकुमार सुवेदीले बताए । यो संकेत अमेरिकाले औपचारिकरअनौपचारिक रूपमा आफूहरूलाई दिइसकेको उनले दाबी गरे ।
स्रोतका अनुसार अमेरिकासँग मित्रवत सम्बन्ध रहेका अधिकांश पश्चिमा र एसियाका दक्षिण कोरिया, जापान, खाडी राष्ट्रहरू र भारतका राजदूतहरूलाई अमेरिकाले नेपाल मामिलामा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ । जापानलगायत केही देशका नेपालस्थित राजदूतहरूले पनि अमेरिकाबाट यस्तो आग्रह आएको बताइरहेका छन् ।
एमसीसी अनुमोदन नभए संयुक्त राष्ट्रसंघका प्रमुख अंग र विशिष्ठीकृत संस्थाहरू, राष्ट्रसंघ सम्बन्धित अन्य संस्थाहरू, विश्व बैंकजस्ता बहुपक्षीय र अमेरिकासँग निकट रहेका द्विपक्षीय दातासम्मलाई नेपाल मामिलामा अमेरिकाले प्रभाव पार्न सक्छ । वैदेशिक सहायता मामिलामा नेपाल यी बहुपक्षीय र द्विपक्षीय दातामै निर्भर छ । साथै, अध्ययन र रोजगारी क्रममा अमेरिका तथा उसका पक्षधर मुलुकमा रहेका नेपाली नागरिकले पनि सास्ती खेप्नुपर्ने स्थिति निम्तिन सक्छ ।
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको माघ ११ गते सम्म विश्व बैंकले नेपाललाई १६० मिलियन डलर अर्थात १९ अर्ब २० करोड रुपैयाँ ऋण सहायता प्रतिवद्धता जनाइसकेको छ । आइएमएफले पनि १९५.९ मिलियन अमेरिकी डलर (४६ अर्ब ६३ करोड रुपैयाँ) एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) स्वीकृत गरेको छ । इसीएफको साँवा र ब्याज नेपालले १० वर्षसम्म तिनुपर्ने छैन । विश्व बैंक र आइएमएफ दुवैमा अमेरिकाले १६ प्रतिशतभन्दा धेरै भोटिङ सेयर छ ।
२०१० देखि २०२२ को हालसम्म नेपालले प्राप्त गरेको कूल वैदेशिक सहायतामा अमेरिकी प्रभुत्वको विश्व बैंकबाट मात्रै २७.१ प्रतिशत सहायता प्राप्त भएको छ । यस्तै, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) बाट ६.३ प्रतिशत सहायता प्राप्त भएको छ ।
५. एमसीसीमा केपी ओली पनि प्रचण्डकै लाइनमा !
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण मुलुकको राजनीति गिजोलिनुका साथै अन्तराष्ट्रिय जगतसामु नेपालको छविसमेत धमिलिन थालेको छ ।
एउटा विदेशी सहयोग लिने या नलिने भन्ने विषयकै कारण जनप्रतिनिधिहरुको सर्वोच्च संस्था संसद बैठकसमेत लगातार स्थगित हुँदै आएको छ । जसको सन्देश राम्रो जान सकेको छैन । अर्कोतिर, आगामी बैशाखमा तोकिएको स्थानीय तह निर्वाचन पनि एमसीसीकै लफडाले नहुने त होइन रु भन्ने आशंका प्रवल बन्दै गएको छ ।
खासगरी एमसीसीमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी ओलीको समेत दोहोरो चरित्रका कारण यस्तो अन्योलको अवस्था सिर्जना भएको हो । एमसीसीको पक्ष–विपक्षमा राजनीतिक दलहरुको ध्रुवीकरण हुन थालेपछि पाँच दलीय सत्ता गठबन्धन नै रहने कि नरहने भन्नेसम्मका अड्कलबाजी हुन थालेका छन् ।
नेपालका प्रमुख राजनीतिक दलहरुबीच एमसीसी प्रकरणमा सुरुबाटै विभाजित मत प्रकट भएका हुुन् । खासगरी नेकपा हुदै र पछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार रहँदाका बखत एमसीसीबारे भएका छलफल र बहसमा पनि दलहरूको मत विभाजित बनेका हुन् ।
सिंगो नेकपा हुँदा ओली एमसीसी अनुमोदन गर्ने पक्षमा उभिएका बेला अन्य नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र भीम रावलहरु विपक्षमा उभिन पुगेका थिए । जसले गर्दा संसदमा दर्ता भएको एमसीसी सम्झौता अघि बढ्नबाट रोकिएको थियो । त्यसपछि २०७८ असार २९ गते प्रचण्ड माधवसहित पाँच दलीय गठबन्धनका बलमा देउवा नेतृत्वको सरकार बन्यो । जब देउवा नेतृत्वको सरकार बन्यो त्यसपछि एमसीसी मुद्दा थप पेचिलो बन्दै आयो ।
एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण होस् या एमसीसीले पटक–पटक काटेको पत्र नै किन नहोस् अमेरिकाले देउवा नेतृत्वको सरकारमार्फत एमसीसी छिटो अनुमोदनका लागि दवाव बढाउँदै लग्यो ।
सरकारमै भए पनि विगतमा एमसीसीको विपक्षमा रहेका प्रचण्ड र माधव नेपाल संशोधनविना अनुमोदन गर्न हुँदैन भन्ने पक्षमा उभिए । देउवा नेतृत्वको सरकार बनेपछि अमेरिकाले लगातार एमसीसी अघि बढाउन दवाव दिदै गयो । जुन दाववको पटाक्षेप गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकालाई एमसीसी अनुमोदन गर्न केही समय लाग्ने भएकाले चार पाँच महिना समय मागेको पत्र सार्वजनिक हुन पुग्यो, तब एमसीसीमा प्रचण्डले देखाएको दोहोरो चरित्रको व्यापक आलोचना हुन पुग्यो ।
६. अटो चालक हत्या आरोपी युवक झापाबाट पक्राउ
नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।
कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काँकडभित्ताबाट बुधबार साँझ पक्राउ परेका हुन् । बिहीबार साँझसम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीले जनाएको छ। भुजेल घटना लगत्तै फरार थिए ।
गिरी र भुजेल घटना भएको दिन राति सँगै बसेर मदिरा पान गरेको र पछि भुजेलले नै गिरीको हत्या गरेको प्रहरीको दावी छ । गिरीको हत्यापछि फरार रहेका भुजेलविरुद्ध गिरीको परिवारले किटानी जाहेरी समेत दिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नवलपुर प्रहरीको विशेषटोलीले उनलाई पक्राउ गर्न सफल भएको स्रोतले बताएको छ ।
५२ वर्षका अटो चालक माधवप्रसाद गिरीको हत्या गरी शव घोलको हिलोमा गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा भेटिएको थियो ।
७. एमसीसीमा खसी देखाएर फर्सी खुवाउन खोजिएको छ : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।
बुधबार राष्ट्रिय जनमोर्चासहितका विभिन्न राजनीतिक दलले एमसीसीको विरोधमा प्रदर्शनपछि आयोजित सभामा बोल्दै केसीले अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको टिप्पणी गरे ।
नेपाली जनता के भेडा हुन् ? बेबकुफ हुन् र ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपथ्र्यो । होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो अमेरिकाको’ उनले भने ।
अध्यक्ष केसीले दुई वर्षयता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताए । उनले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएको समेत टिप्पणी गरे ।
८. रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।
आगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो ।
जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार राख्ने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
‘रेल्वे लिकमै हाटबजार लगाउँदै आएका छन्, जसका कारण हामीलाई रेल सञ्चालनको तयारीमा समस्या भइरहेको छ’, महाप्रबन्धक झाले भने, ‘हाटबजार रेल्वे लिकबाट अन्यत्र सार्ने विषयमा यहाँका जनप्रतिनिधि, व्यापारी र स्थानीयसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजीसमेत भइरहेको छ ।’
हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाको भनाइ छ ।
खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ ।
‘हामीले आगामी महिनाको पहिलो वा दोस्रो सातामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा जयनगर–कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ’, महाप्रबन्धक झाले भने, ‘फागुन १ गतेदेखि उद्घाटन नहुँदासम्म बिना यात्रु प्रत्येक दिन एक पटक जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म रेल चलाउँछौँ, उद्घाटन भएपछि यात्रुको टिकट काटेर नियमित रेल सेवा सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’
उद्घाटनको मिति एक दुई दिनभित्रै टुङ्गो लाग्ने भएकाले रेल सेवा नियमित सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए । रेल उद्घाटनपछि सुरुका १५ दिन दिनको एक पटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २र३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए ।
गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । लामो समयदेखि त्रिपालमुनि थन्किएका रेलको गत पुस २४ गते जयनगरदेखि कुर्थासम्म परीक्षण गरिएको थियो ।
९. कमल थापापछि उद्वव पौडेलले पनि त्यागे राप्रपा, भन्छन्: दु:खी र भावुक भएको छु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्वव पौडेलले पार्टी परित्यागको घोषणा गरेका छन्। पूर्वअध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको भोलिपल्ट पौडेलले पनि पार्टी छाडेका हुन् ।
उनले आफूले राप्रपालाई एकताबद्ध बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेकोमा दु:खी र भावुक भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ुराप्रपालाई एकताबद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ। असफल विद्यार्थीको रुपमा अत्यन्तै दुःखी र भावुक छु। राप्रपामा बस्दाको पल सदैब अबिष्मरणिय रहेछ। आजैदेखि राप्रपासङ्गको संलग्नता अन्त्य गरेको छु। सबैलाई शुभकामनासहित धन्यवाद ब्यक्त गर्दै बिदा हुन्छु। जय होस् १ु
अध्यक्ष हुँदा थापाले पौडेललाई राप्रपाको कोषाध्यक्षमा नियुक्त गरेका थिए । तर महाधिवेशनमा जित हात पारेका राजेन्द्र लिङ्गदेनले चुनावी प्रतिस्पर्धा नगरेका पौडेललाई कार्यसमितिमा मनोनियत गरेका थिएनन्।

सोमवार, मंसिर ११, २०८०

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै