न्यूज ब्रिफिङ्ः अमेरिकाको धम्कीले एमसीसी चीनविरुद्ध रहेको झन् प्रष्ट भयो : केसी, प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : सभामुख हटाउन खोजेको हो ?, भूराजनीतिक चेपुवामा एमसीसी, अन्योलमा राजनीतिक दल

एन सञ्चार, २९ माघ, नवलपुर ।।

१. भोलिदेखि सिनेमा हल खुल्ने

 

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनबाट खुल्ला हुने भएका छन्।

जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन्।

सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुनेछन्।

२. ८३६ संक्रमित थपिए, एक हजार ८२६ निको

 

नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ८३६ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार २६० नमुनाको पीसीआर परीक्षण गर्दा ४९१ र दुई हजार ३९४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर चारजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ८२६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ३४ हजार ६४८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

३. जयनगर–कुर्था रेल भोलिदेखि चलाइने

 

जयनगर–कुर्था रेलमार्गमा आइतबार (भोलि)देखि रेल सञ्चालन गरिने भएको छ । तत्कालका लागि यात्रुबिनाको रेल चलाउन लागिएको हो ।

भोलिदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
रेलवे लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ । भोलिदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ ।

अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । गेट म्यान कर्मचारी भोलि बिहानैबाट काममा खटिने झाले बताए ।

६० नेपाली र १४ भारतीय कर्मचारी भोलिदेखि काममा खटिनेछन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ ।

जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।

०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको थियो । अहिले रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

४. युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

 

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दाबी छ ।

“युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टिकोणले अत्यन्त खतरा छ । त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ,” प्रधानमन्त्री मोरिसनले भनेका छन् ।

उनले युक्रेनमा अशान्ति नहोस् भन्ने आफूले चाहेको भए पनि द्वन्द्वको अवस्था सिर्जना हुने खतरा देखिएको उल्लेख गरेका छन् ।

युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ ।

५. यूएईसँग २५ रनले पराजित भयो नेपाल

 

चार देशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको हो । १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रनमा समेटियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए । ३३ बल खेलेका उनले पाँच चौकाको मद्दतमा ४१ रन जोडेका हुन् ।

त्यस्तै लोकेश बमले २१ बलमा ३३ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । आसिफ शेखले २९ बलमा ३४ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

६. भूराजनीतिक चेपुवामा एमसीसी, अन्योलमा राजनीतिक दल

 

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार बालुवाटारमा सत्ता गठबन्धनका दुई शीर्ष नेतालाई बोलाएर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता आगामी संसद बैठकमा पेश गर्ने प्रस्ताव दोहोर्‍याएका छन् ।

अमेरिकाले निरन्तर दबाब बढाएकाले एमसीसीमा अल्झिएर बस्नुभन्दा चाँडो संसदमा लगेर कार्यान्वयनमा जानु राम्रो हुने देउवाको प्रस्ताव थियो । तर, सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने पुरानै अडान दोहोर्‍याएका छन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, यथास्थितिमा एमसीसीलाई अगाडि बढाउन नहुने भन्दै एमसीसीमा जोडबल नगर्न दुई नेताले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

अमेरिकाको निरन्तर ताकेता

अमेरिकाले भने जतिसक्दो चाँडो नेपालमा एमसीसी कार्यान्वयन गराउन चाहन्छ । पछिल्लो ६ महिनायता अमेरिकाले एमसीसी कार्यान्वयनका लागि निरन्तर दबाब बढाइरहेको छ ।

एमसीसीको सन्दर्भमा चीनले सार्वजनिक रूपमा मुख खोलिसकेको त छैन तर, कूटनीतिक माध्यमबाट एमसीसीलाई कुनै पनि हालतमा अस्वीकार गर्न दबाब दिइरहेको छ ।
भदौ २४–२८ मा एमसीसी परियोजनाको पूर्वाधार क्षेत्रको उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आएर सबैजसो दलका शीर्ष नेतासँग भेटवार्ता गरेकी थिइन् । नेपालमा एमसीसी अनुमोदनको वातावरण बनाउन उनी काठमाडौंमा सक्रिय भएकी थिइन् ।

त्यसपछि मंसिर १ देखि ३ गतेसम्म अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं उत्रिएर राजनीतिक नेताको घरदैलो चहारेका थिए । उनै सहायक विदेश मन्त्रीले अहिले गत बिहीवार बिहान ‘अन्तिम चेतावनी’को रूपमा एमसीसी अघि बढाउन भनेका छन् ।

डोनाल्ड लुले प्रधानमन्त्री देउवा, सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वासिङटनबाट टेलिफोन गरी फागुन १६ भित्र एमसीसी अनुमोदन नभए नेपालसँगको सम्बन्ध पुनर्विचार गर्ने चेतावनीसमेत दिएका छन् ।

त्यतिमात्रै होइन, गत मंसिरमा नेपाल आउँदा लुले एमसीसी सम्झौता अनुमोदन नभए अमेरिकी सहयोग फिर्ता लैजाने चेतावनी मात्रै दिएका थिएनन् १४ डिसेम्बरमा बस्ने एमसीसीको कार्यकारी बोर्ड बैठकअघि सम्झौता अनुमोदन गर्न दबाब नै दिएर फर्किएको राजनीतिक दलका नेताहरू बताउँछन् ।

तर, लुले चाहेजसरी नेपालका राजनीतिक दलहरू बीच एमसीसीबारे सहमति जुट्न सकेन । एमसीसी बोर्ड बैठकले नेपाललाई एमसीसी अनुमोदनको लागि केही समय दिने निर्णय गर्‍यो । त्यसको केही समयपछि मिलेनियम च्यालेन्ज कर्पोरेसनले विज्ञप्ति प्रकाशन गरेर एमसीसी सम्झौता अनुमोदन नभए सहयोग फिर्ता लैजाने चेतावनी दिएको थियो ।

त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका सम्बन्धमा राजनीतिक दलहरू बीचमा समझदारी बनाउन भन्दै संयुक्त रुपमा एमसीसीलाई पत्र लेखेर फागुन १६ सम्मको समय मागेका थिए । विदेशमन्त्रीले शीर्ष नेतालाई फोन गरेर सोही पत्रको डेडलाइन सम्झाएका थिए ।

चीनको सुषुप्त चासो

पछिल्लो समय एमसीसी नेपालका राजनीतिक दलहरूबीचको विवादको मात्र विषय नभई भूराजनीतिक रूपमा पिसिएको छ ।

अमेरिकाले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गराउन चाहन्छ भने उत्तरी छिमेकी मुलुक चीनले नेपालमा अमेरिकाको उपस्थिति जसरी पनि रोक्न चाहन्छ ।

एमसीसीको सन्दर्भमा चीनले सार्वजनिक रूपमा मुख खोलिसकेको त छैन तर, कूटनीतिक माध्यमबाट एमसीसीलाई कुनै पनि हालतमा अस्वीकार गर्न दबाब दिइरहेको छ ।

संवादको क्रममा लुले चीनको नाम उल्लेख नगरी नेपालबाट एमसीसी फिर्ता भए अन्य विदेशीको प्रभावमा परेको रुपमा अमेरिकाले बुझ्ने र सम्बन्धमा पुनर्विचार हुने धम्की दिएका थिए । तसर्थ एमसीसी पारित नहुँदा अमेरिकाले असहयोग गर्ने र पारित हुँदा छिमेकी मुलुक चीन रूष्ट हुने अवस्थामा एमसीसीले सिर्जना गरेको छ ।
माघ १४ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग भिडिओ संवाद गरेका थिए । उनीहरूबीचको संवाद गोप्य राख्न खोजिएको भए पनि चिनियाँ कम्युनिष्ट पार्टीले सार्वजनिक गरिदिएको थियो ।

उक्त संवादको क्रममा ताओले प्रचण्डलाई कुनै हालतमा एमसीसी स्वीकार नगर्न दबाब दिएको माओवादी केन्द्रका नेताहरूले पुष्टि गरेका छन् ।

भू-राजनीतिक विषय

चीनले नेकपा माओवादी केन्द्रलाई साथमा लिएर नेपालमा एमसीसीको विरोध गरिरहेको बुझाई अमेरिकी अधिकारीहरूको छ । सोही बुझाइको आधारमा नेताहरूसँगको टेलिफोन वार्तामा डोनाल्ड लुले एमसीसी अस्वीकार भए नेपाल चीनको प्रभावमा परेको बुझ्ने आशयको अभिव्यक्ति दिएका थिए ।

संवादको क्रममा लुले चीनको नाम उल्लेख नगरी नेपालबाट एमसीसी फिर्ता भए अन्य विदेशीको प्रभावमा परेको रुपमा अमेरिकाले बुझ्ने र सम्बन्धमा पुनर्विचार हुने धम्की दिएका थिए । तसर्थ एमसीसी पारित नहुँदा अमेरिकाले असहयोग गर्ने र पारित हुँदा छिमेकी मुलुक चीन रूष्ट हुने अवस्थामा एमसीसीले सिर्जना गरेको छ ।

कानूनका विज्ञ एवं राजनीतिक विश्लेषक डा। युवराज संग्रौला भन्छन्, ‘चीन अहिले अमेरिकासँग प्रतिस्पर्धामा रहेको देश हो र उनीहरूको बीचमा तनाव छ । एमसीसीकै कारण नेपालले चीन र अमेरिकासँगको सम्बन्ध सन्तुलनमा समस्या आउने देखिएको छ ।’

अर्कोतर्फ नेपालले एमसीसी अनुमोदन गर्दा नेपालले पञ्चशीलको आधारमा तय गरेको परराष्ट्र नीतिको अस्तित्व नरहने उनी बताउँछन् ।

‘एमसीसी पास हुँदा नेपाल अमेरिकाको सुरक्षा नीतिभित्र स्थानान्तरित हुन्छ । अमेरिकाको सुरक्षा छाताभित्र नेपाल स्थानान्तरण भयो भने नेपालको परम्परागत पञ्चशीलमा आधारित परराष्ट्र नीति प्रभावित हुन्छ । त्यो भनेको नेपालले असंलग्न नीति छाडेको हुन्छ,’ संग्रौलाले भने, ‘असंलग्न नीति छाडेपछि नेपालले भारत र चीनसँग कसरी सम्बन्ध सन्तुलित राख्छ । अमेरिकासँग सहकार्य गरे पनि भारतका सबै कुरा त अमेरिकासँग मिल्दैनन् । नेपाल अमेरिकाको सुरक्षा रणनीतिभित्र बसेर अमेरिकाको सहयोगी देश बन्ने कुरा भारतलाई पनि स्वीकार्य हुँदैन ।’

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने एमसीसीसँगको सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा जानुपर्नेमा स्पष्ट छ । तर, एमसीसीका बारेमा जनमत भने विभाजित छ ।
एमसीसी पारित हुँदा नेपालले अमेरिका, भारत र चीन तीनवटै देशसँगको सम्बन्ध सन्तुलित गर्न नसक्ने संग्रौला बताउँछन् ।

अन्योलमा राजनीतिक दलहरू

एमसीसी परियोजना भूराजनीतिक विषय बनिसक्दा पनि नेपालका राजनीतिक दलहरूले भने स्पष्ट बाटो तय गर्न सकेका छैनन् ।

एमसीसीको विपक्षमा रहेका दलहरू अमेरिकालाई रिझाउने प्रयासमै छन् । एमसीसीमा भएका प्रावधान संशोधन भए मान्य हुने माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य साना कम्युनिष्ट पार्टीहरूको मत छ । तर, संसदको सबैभन्दा ठूलो दल एमालेले भने एमसीसीलाई राजनीतिक हतियार बनाइरहेको छ ।

नेपालको राजनीतिमा आफ्नो हात माथि पार्ने साधनको रुपमा एमालेले एमसीसीलाई लिइरहेको एकीकृत समाजवादी पार्टीका एक नेता बताउँछन् ।

उनी भन्छन्, ‘एमालेका कारण एमसीसी अन्योलमा परेको हो । उसले आफ्नो कित्ता क्लियर गर्नासाथ एमसीसी के हुने टुंगो लाग्छ । किनकी, एमालेले पक्ष वा विपक्षमा जता लाग्यो त्यही निर्णय हुने अवस्था छ । कांग्रेस एक्लै पारित गर्न सक्दैन, एकीकृत समाजवादी र माओवादी पार्टीको मतले मात्रै अस्वीकृत हुन पनि सक्दैन ।’

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने एमसीसीसँगको सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा जानुपर्नेमा स्पष्ट छ । तर, एमसीसीका बारेमा जनमत भने विभाजित छ ।

गठबन्धनमै रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा भने चुनावसम्म एमसीसी स्थगित गर्ने र चुनावी एजेण्डा बनाउने दाउमा छन् ।

७. झापाको चाउचाउ कारखानामा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा

 

झापाको मेचीनगर नगरपालिका-१४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा आएको छ ।

आगो निभाउन झापा, मोरङ, सुनसरी र इलामका १२ वटा भन्दा धेरै दमकलको प्रयोग गरिएको थियो ।

मनषा थाइफुड्सले उत्पादन गर्दै आएको चाउचाउ उद्योगमा आज बिहान झण्डै साढे ४ बजेदेखि विद्युत् सर्ट भएर आग्लागी भएकोमा अहिले बेलुका साढे ४ बजेतिर मात्रै नियन्त्रणमा आएको हो ।

अहिले पनि नियन्त्रणका क्रममा प्लाष्टिकतिर झिल्काहरु छुटेको हुन सक्ने र त्यसले आगलागी हुन सक्ने भन्दै तीन वटा दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण सिङ्गो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक बुद्धि घिमिरेले बताउनुभएको छ ।

आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको प्रहरीले जनाएको छ ।

१ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने सञ्चालकले अनुमान गरेको भए पनि यकिन तथ्याङ्क भने आइसकेको छैन । मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो।

८. प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : सभामुख हटाउन खोजेको हो ?

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो रु भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका उनी निकट एक नेताले जानकारी दिए ।

प्रचण्डको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि साथ दिएका थिए । सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका प्रचण्डनिकट नेताले बताएका छन् ।

‘यो (सभामुख हटाउने विषय) सोच्नै सकिँदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका ती नेताले भने ।

प्रचण्ड र नेपालले फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेलाई सार्न उपयुक्त हुने बताएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले २ गतेको बैठक सार्न सभामुखलाई आग्रह गरिसकेको छ । जवाफमा प्रधानमन्त्री देउवाले सभामुखसम्म सन्देश पुर्‍याउने बताएका ती नेताले बताए ।

देउवाले भने : संसदमा पेश गर्न दिनुस्

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन आग्रह गरेका थिए । एमसीसी संसदमा लैजाँदैमा गठबन्धन नटुट्टे पनि उनले बताए ।

‘एमसीसी संसदमा टेबुल हुँदैमा गठबन्धन टुट्दैन । बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस् वा उपस्थित भएर के गर्नुहुन्छ त्यो निर्णय आफैं लिनुस् । तर, संसदमा टेबुल गर्नुपर्‍यो’ देउवाको भनाइ उधृत गर्दै एक नेताले भने ।

एमसीसी टेबुल गरेपछि बाँकी प्रक्रिया रोक्ने वा नरोक्ने जे का लागि पनि आफू तयार रहेको देउवाको भनाइ छ ।

‘टेबलु गर्ने दिन उपस्थित हुने वा नहुने रु पास वा फेलको प्रक्रियामा जान दिने वा नदिने रु यसमा हामी संयुक्त वा स्वतन्त्र दुबै ढंगले निर्णय गर्न सक्छौं’ देउवाले प्रस्ताव छ, ‘यही कारण गठबन्धन टुट्दैन, म यसमा प्रतिवद्ध छु ।’

‘जबर्जस्ती गरे चुनाव बिथोलिन्छ’

प्रधानमन्त्री देउवाको आग्रहलाई प्रचण्ड र नेपालले भने अस्वीकार गरे । उनीहरुले स्थानीय तह निर्वाचनअघि एमसीसी अगाडि बढाउन नहुने अडान दोहोर्‍याए ।

नेताहरुका अनुसार माधव नेपालले जबरजस्ती एमसीसी संसदमा टेबुल गर्न खोजे आगामी वैशाख ३० गतेलाई तय भएको स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिने बताए ।

‘जबर्जस्ती एमसीसी अगाडि बढाउँदा चुनावी वातावरण बिथोलिन्छ । तोकिएको मितिमा चुनाव नहुन सक्छ । यसका लागि तपाईं तयार हुनुहुन्छ रु’ प्रधानमन्त्री देउवालाई माधव नेपालले सोधेका थिए ।

तर, देउवाले माधव नेपालको यो प्रश्नको जवाफ भने दिएनन् । बरु आफ्नो मनसाय गठबन्धन भत्काउने नभएको भन्दै भूराजनीतिक दबावलाई अन्यथा नलिइदिन आग्रह गरे ।

माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अगाडि बढाउनेबित्तिकै पनि चुनावी वातावरण असहज बन्ने बताए ।

जनतामा एमसीसीबारे गढेको चुरो निकाल्नका लागि थप प्रष्टता आवश्यक रहेको र त्यो प्रष्टता चुनाव अगाडि संभव नरहेको भन्दै उनले एमालेलाई साथमा लिएर एमसीसीलाई चुनाव पछाडि लैजानु नै उपयुक्त विकल्प रहेको दोहोर्‍याए ।

‘तपाईंले विपक्षीसंग कुरा गरेर एमसीसीलाई चुनाव पछाडि लैजाने वातावरण बनाउनेतिर ध्यान दिनु उपयुक्त देख्छु’ प्रचण्डले भनेका उनको ब्रिफिङ सुनेका एक नेताले बताए ।

९. अमेरिकाको धम्कीले एमसीसी चीनविरुद्ध रहेको झन् प्रष्ट भयो : केसी

 

राष्ट्रिय जनमोर्चाले एमसीसी पारित नगरे नेपाल नीतिमा पुनर्विचार गर्ने भनी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई धम्की दिएकोप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका नेताहरुलाई टेलिफोन गरेर धम्की दिनु कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।

गत बिहीबार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाव दिएका थिए । उनले एमसीसी पारित नभए चीनका कारण पारित नभएको ठान्ने पनि बताएका थिए ।

त्यसको विरोधमा केसीले भनेका छन्, ‘अमेरिकाको उक्त धम्कीबाट एमसिसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको छ । त्यसका साथै अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसिसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको छ ।’

कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र रहेको भन्दै केसीले मुलुकको अहित हुने विकास परियोजनालाई अस्वीकार गर्दा कुनै पनि मुलुकले बाध्य पार्न वा धम्क्याउन नमिल्ने बताएका छन् ।

उनले नेपाल अमेरिकाको पक्ष लिएर चीनका विरुद्द वा चीनको पक्ष लिएर अमेरिकाको धुरीमा संलग्न हुने मुलुक नभएको पनि बताएका छन् । एमसीसी सम्झौता पारित गराउन अमेरिकाले दबाव बढाएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले अमेरिकाको धम्कीविरुद्ध देशभक्तहरुले विरोध गर्नुपर्ने बताएका छन् ।