न्यूज ब्रिफिङ्ः दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय ,स्थानीय निर्वाचनसम्बन्धी आयोगले गर्‍यो यी १० निर्णय, चितवनमा हाडजोर्नी विशेषज्ञहरुको दुई दिने राष्ट्रिय सम्मेलन सुरु, कस्तो छ नेपालमै उत्पादित क्यान्सरको औषधि ?

एन सञ्चार, फागुन ५ ।।

१. दुई अर्ब अमेरिकी ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

 

काठमाडौं । सरकारले अमेरिकाबाट प्राप्त हुने दुई अर्ब रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले अमेरिकी ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको एकमन्त्रीले सञ्चारकर्मीलाई जानकारी दिए ।

ती मन्त्रीकाअनुसार अमेरिकाले कोरोना नियन्त्रणका लागि भनेर दुई अर्ब ऋण उपलब्ध गराउन लागेको हो ।
“आजको बैठकले अमेरिकाले उपलब्ध गराउने भनेको २ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय भयो,” ती मन्त्रीले भने,“यो रकम अमेरिकाले कोभिड नियन्त्रण सहायता ऋणको रूपमा उपलब्ध गराएको हो।”

२. कस्तो छ नेपालमै उत्पादित क्यान्सरको औषधि ?

 

विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक ‘क्यान्सर’को औषधि नेपालमा पनि उत्पादन हुन थालेको छ । नेपाली औषधि उत्पादक कम्पनी टिजिग फार्मा प्रालिले स्पाइनललगायतका क्यान्सरको उपचारमा प्रयोग हुने ती प्रकारका औषधिको उत्पादन तथा वितरण सुरु गरेको हो ।

औषधि व्यवस्था विभागकाअनुसार टिजिग फार्मा नेपालमा क्यान्सरको औषधि उत्पादनका लागि अनुमति पाउने पहिलो नेपाली कम्पनी हो ।

कस्तो छ नेपालमै उत्पादित क्यान्सरको औषधि ?

हाल नेपालमै उत्पादन भएको क्यान्सरको औषधि ट्याब्लेट र क्याप्सुलका रूपमा बजारमा आएको छ । टिजिग फार्माका कार्यकारी निर्देशक शैलेस वैद्यकाअनुसार इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने कम्पनीको योजना छ । सकेसम्म बढी प्रकारका क्यान्सरविरुद्ध प्रयोग हुने औषधिहरू उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको पनि वैद्य बताउँछन् ।

सो औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ, मेसिन, उपकरण आदिका लागि भने भारतको एसपी एक्युर ल्याब (एसपीएएल) सँग सहकार्य गरिएको र औषधि उत्पादन गुणस्तर नियन्त्रणका लागि समेत एसपीएएलका प्राविधिकहरूको नियमित उपस्थिति रहेको वैद्यको भनाइ छ ।

स्वदेशी उत्पादनले कति राहत ?

टिजिग फार्माले हाललाई क्यान्सरको उपचारमा प्रयोग हुने तीनवटा औषधिका लागि मात्रै औषधि व्यवस्था विभागको अनुमति पाएको छ । विभागका प्रवक्ता सन्तोष केसीकाअनुसार क्यान्सरको उपचारमा प्रयोग हुने अन्य औषधिका लागि पनि टिजिग फार्माले अनुमति प्रक्रिया अघि बढाएको छ । प्रक्रिया पूरा हुनासाथ सो कम्पनीलाई अन्य प्रकारका औषधि उत्पादनको अनुमति दिइनेछ । हाललाई नेपाली बजारलाई लक्षित गरी उत्पादन गरिएका औषधि निर्यातका लागि टिजिगले थप एउटा औषधि निर्यातको अनुमतिसमेत पाइसकेको निर्देशक वैद्यले जानकारी दिए ।

क्यान्सरबारे अध्ययन गर्ने विश्व स्वास्थ्य संगठनको संस्था ग्लोबोक्यानकाअनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी क्यान्सरका रोगी थपिने गरेका छन् भने १३ हजार जनाको मृत्यु हुने गरेको छ । औषधि व्यवस्था विभागकाअनुसार नेपालमा हाल क्यान्सको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधिले प्रयोग अनुमति पाएका छन् । ती औषधि भारत र बंगलादेश र तेस्रो मुलुकबाट आयात हुने गरेको विभागका प्रवक्ता केसी बताउँछन् ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे क्यान्सरको औषधि नेपालमै उत्पादन सुरु हुनुलाई स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने उदाहरण भएको बताउँछन् । पछिल्लोपटक क्यान्सरको औषधि उत्पादन हुनुले स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा इट्टा थपेको पाण्डे बताउँछन् ।

वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. मदनकुमार पियाले प्रविधि र लगानी भित्र्याई स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन हुनु नेपालीका लागि आशाको किरण भएको र टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

स्वदेशमा उत्पादित औषधिको मूल्य कस्तो छ ?

कम्पनीका कार्यकारी निर्देशक वैद्य टिजिग फार्माबाट उत्पादन हुने एन्टीक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने बताउँछन् ।

‘स्वदेशमै उत्पादन भएको हिसाबले केही न केही सस्तो नै पर्छ,’ उनी थप्छन्, ‘हामीले अहिले उत्पादन गरेका औषधि यसअघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हट्नेछ । उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौँ । अर्को कुरा नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुनेछ । औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन,’ उनले भने ।

 

३. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ देखि व्यावसायिक उडान हुने

 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमाको दिनदेखि व्यावसायिक उडान हुने भएको छ । विमानस्थलमा भोली क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसका लागि एरोथाईको विशेष विमान काठमाडौं आइसकेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी जेठ २ गते अर्थात् बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान सुरु हुने जानकारी दिए ।

अधिकारीकाअनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।

क्यालिब्रेसन फ्लाइटपछि परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यावसायीक उडान हुने प्राधिकरणले जनाएको छ ।

४. बेलायत सरकारद्वारा नेपाललाई २१ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो । भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

५. हाम्रो लक्ष्य विश्वकप पुग्ने हो : कप्तान सन्दीप

 

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको लक्ष्य विश्वकपमा स्थान बनाउनु भएको बताएका छन् ।

आईसीसी टी–२० विश्वकप छनोटको ग्लोबल छनोटको पूर्वसन्ध्यामा बोल्दै कप्तान सन्दीपले नेपाली टोलीको लक्ष्य नै विश्वकप छनोट हुनु भएको र त्यसका लागि टोलीको तयारी पुरा भएको बताए ।

‘विश्वकप छनोटको लक्ष्य लिएर आएका छौं । खेलाडीको प्रदर्शन हेर्दा विश्वकप छनोटका लागि हामी सक्षम छौं । सबैको अल्टिमेट टार्गेट भनेको विश्वकप पुग्नु हो ।’ २१ वर्षीय सन्दीपले भने ।

नेपालले प्रतियोगितामा भोलि बिहीबार घरेलु टोली ओमानविरुद्ध खेल्दै सुरुआत गर्नेछ । खेल नेपाली समय अनुसार अल अमेरात क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरुहुनेछ ।

समूह ‘बी’ मा नेपाल सहित आयोजक ओमान, क्यानडा र फिलिपिन्स छन् । समूहको शीर्ष दुईमा रहे नेपाल ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

नेपाल दोस्रो पटक विश्वपकमा छनोट हुने लक्ष्यमा छ । जसका लागि नेपाली टोलीले ओमानमै चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो ।

यस शृंखलालाई नेपालले आफ्नो तयारीका लागि महत्त्वपूर्ण मानेको थियो । यस खेलबाट खेलाडी र टिम समेट सन्तुष्ट छन् ।

‘चारदेशीय शृंखला विश्वकपको ग्लोबल छनोट तयारीका लागि महत्त्वपूर्ण थियो । यसले खेलाडीको व्यक्तिगत प्रदर्शन र ग्राउन्डको अवस्थाका लगायत सबै कुरामा प्रभावकारी भयो ।’ सन्दीपले भने ।

यस्तै सन्दीपले नेपाली टोलीको बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा बिस्तारै राम्रो भइरहेको र खेलाडीको प्रदर्शन अनुसार छनोट हुन नेपाल सक्षम रहेको बताए ।

यता, टोलीका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय शृंखलाबाट धेरै कमजोरी सुधार भएको र योजना अनुसार प्रदर्शन भइरहेको बताए ।

‘चारदेशीय शृंखला खेल्यौं । त्यसबाट टोलीको कमजोरी सुधार्ने मौका पायौं । यसबाट म खुसी छु र तीन खेलको लागि पुरा टिम आत्मविश्वासी छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका श्रीलंकन नागरिक पुबुदुले भने ।

 

६. २४ घण्टामा ५ सय ७० जनामा कोरोना पुष्टि, झन्डै २ हजार जना निको

 

पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नौ हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक हजार नौ सय ९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित अहिलेसम्म निको हुनेको सङ्ख्या नौ लाख ४६ हजार तीन सय ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ११ जना पुगेको छ ।

यस्तै थप दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

७. स्थानीय निर्वाचनसम्बन्धी आयोगले गर्‍यो यी १० निर्णय

 

निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मिति विभिन्न १० वटा निर्णय गरेको छ । त्यसक्रममा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरेको छ । योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०६ पुगेको छ । निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि आयोगले जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।

उक्त निर्देशिकामा सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको आयोगले जनाएको छ । त्यस्तै मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेशन र लागत अनुमान स्वीकृत गरी इ–विडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाएको पनि आयोगले जनाएको छ ।

मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेसन स्वीकृत गरेको आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्यायपरिषदसँग परामर्श गरी तथा न्याय सेवाका राजपत्रांकित अधिकृतहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनको लागि न्याय सेवा आयोगसँग परामर्श गरेको छ । त्यसका लागि आगामी फागुन १५ सम्ममा आयोगमा नामावली उपलब्ध गराउन नेपाल सरकार, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ ।

त्यस्तै कानूनमा भएको व्यवस्था बमोजिम निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरुको नामावली पनि फागुन १५ भित्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि,२०७८ तयार गरी सहमतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाएको आयोगले निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था अनुसार फागुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरेको छ ।

आयोगले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ । निर्वाचनमा प्रचार हुने यस्ता सामग्रीहरुको तयारीमा सहभागिता जनाई निर्वाचनको काममा सहयोग गर्न पनि आयोगले सबैलाई आग्रह गर्दै उत्कृष्ट रचनाहरुलाई नगद पुरस्कार एवम् प्रमाणपत्रको व्यवस्था गरेको जनाएको छ ।

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा फागुन ४ गते छलफल गरेको छ । छलफलमा गरेको जनाएको छ । उक्त छलफलमा विभिन्न २० वटा कुटनीतिक नियोगहरू एवं विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको जनाउँदै आयोगद्वारा पहिचान गरिएका मतदाता शिक्षा, सूचना प्रविधि, भौतिक सामग्री तथा विज्ञ परामर्श सेवा लगायतका सम्भावित सहायताका क्षेत्रहरुको बारेमा जानकारी गराइएको थियो ।

८. कांग्रेसको जिल्ला अधिवेशन १६ जिल्लामा फागुन १५ गते हुने

नेपाली कांग्रेसले फागुन १३ गतेका लागि पूर्व निर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन समितिको बिहीवार बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट केन्द्रीय निर्वाचन समितिको बिहीवार बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो ।
यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १३ गतेका लागि निर्धारण गरेको थियो ।

उल्लेखित १६ जिल्लाबाहेक अन्य जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित फागुन १० गतेभित्रै हुने समिति सचिव केशव रिजालले जानकारी दिए ।

पार्टीको विधानको व्यवस्था र सिद्धान्तलाई आत्मसात् गर्दै पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार हुन नमिल्ने निर्णय समेत समितिले गरेको छ ।

महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा, जिल्ला कार्यसमितिको सभापतिबाहेक अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछ ।

विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिले मनोनीत गर्ने बढीमा ७/७ क्षेत्रीय प्रतिनिधिले पार्टीको १४औं महाधिवेशनअन्तर्गत हुने जिल्ला अधिवेशनमा भाग लिन र जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्न नमिल्ने व्यवस्था गरिएको छ ।

९. चितवनमा हाडजोर्नी विशेषज्ञहरुको दुई दिने राष्ट्रिय सम्मेलन सुरु

 

नेपालका नसा तथा हाडजोर्नी विशेषज्ञहरुको दुई दिने राष्ट्रिय सम्मेलन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ ।
भौतिक र अनलाइन उपस्थितिमा ५ सय बढी अर्थोपेडिक सर्जनहरुको सहभागितामा सम्मेलन सुरु भएको हो । आज (बिहीबार) २७औं वार्षिक सम्मेलनको नेपाल अर्थोपेडिक एशोसियसनका केन्द्रीय अध्यक्ष प्रोफेसर डा. रवीन्द्रलाल प्रधानले समुद्घाटन गरे । सम्मेलनमा भौतिक रुपमा ९० जना चिकित्सकहरुको उपस्थिति रहेको छ भने बाँकी सर्जनहरु भर्चुअल माध्यमबाट सहभागिता जनाएका छन् ।

सम्मेलनका सदस्य सचिव डा. प्रमोद लामिछानेले वर्षभरमा विभिन्न अनुसन्धानबाट पत्ता लागेका निश्कर्ष र सोधपत्ररुको प्रस्तुती सम्मेलनमा हुने भन्दै यसले नयाँ चिकित्सकहरुलाई आउने दिनमा काम गर्न थप सहयोग पुग्ने बताए ।

सम्मेलनमा ७ जना भारतीयसहित एक सय भन्दा बढी विशेषज्ञले अनुसन्धान तथा शोधपत्रहरु प्रस्तुत गर्ने नेपाल अर्थोपेडिक एशोसियसन चितवनका अध्यक्ष डा. सुरेश पाण्डेले जानकारी दिए । उनका अनुसार हाल चितवनमा ४५ जना अर्थोपेडिक विशेषज्ञ छन् भने देशभर ५६० जना विशेषज्ञ छन् । यस्तै कार्यक्रममा डा.पाण्डेले एमडी र एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई लक्षित विश्वविद्यालयको पाठ्यक्रम अनुसार तयार पारेको शैक्षिक किताब समेत सार्वजनिक गरिएको छ ।

नेपाली लेखकद्धारा लेखिएको यो पहिलो अर्थोपेडिक किताब हो ।