नेपाल–ओमान भिड्दै : ‘विश्वकपमा छनोट भएर इतिहास रच्न चाहन्छौँ’

एन सञ्चार, फाल्गुन ६ ।।
काठमाडौं । अष्ट्रेलियामा आउँदो अक्टोबरदेखि हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले शुक्रबार आयोजक ओमानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । क्वालिफायरमा नेपालको यो पहिलो खेल हो । तर, यस खेलको नतिजाले नेपालको आगामी यात्रालाई धेरै हदसम्म निर्देशित गर्दछ ।
ग्लोबल क्वालिफायरमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ओमानमा हुने ग्लोबल क्वालिफायर ‘ए’मा आठ टोली छन् । त्यस्तै, जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’मा आठ टोली सहभागी छन् ।
ग्लोबल क्वालिफायर ‘ए’को समूह ‘ए’मा बहराइन, जर्मनी, आयरल्यान्ड र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । समूह ‘बी’मा क्यानडा, नेपाल, ओमान र फिलिपिन्स छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल जितेर फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियाको टिकट पक्का गर्नेछन् ।
प्रतियोगिता २० खेल हुनेछन् । २० खेलबाट दुई टोलीले विश्वकप खेल्नेछन् । समूह ‘बी’बाट नेपाल र आयोजक ओमानलाई बलियो प्रतिस्पर्धी मानिएको छ । त्यस्तै, समूह ‘ए’मा टेस्ट राष्ट्र आयरल्यान्ड र यूएईलाई बलियो मानिएको छ ।
शुक्रबार नेपालले ओमानलाई हराएमा समूह विजेता बन्ने आकलन गरिएको छ । त्यसकारण पनि ओमानविरुद्धको खेल नेपालका लागि महत्त्वपूर्ण छ । नेपालका लागि मात्र होइन, ओमानका लागि यस खेलको नतिजा महत्त्वपूर्ण छ ।
यद्दपि, क्यानडा, जर्मनी, बहराइन र फिलिपिन्सले पनि आश्चर्यचकित नतिजा निकाल्ने सम्भावना उत्तिकै छ । आठ टोलीमध्ये आयरल्यान्ड मात्र आईसीसीको पूर्ण सदस्य हो । क्रिकेटको विश्व मञ्चमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको जर्मनी र फिलिपिन्सले ‘अन्डर डग’का रूपमा रहेका छन् ।
समूह ‘ए’मा आयरल्यान्ड र यूएईलाई बलियो मानिएको छ । आयरल्यान्डलाई प्रतियोगिताकै उपाधि दाबेदारका रूपमा हेरिएको छ । त्यसैले आयरल्यान्ड समूह ‘ए’को विजेता बन्ने आकलन गरिएको छ । त्यस्तै, ओमान र नेपाल समूह ‘बी’मा विजेता बन्दै आयरल्यान्डसँगको सम्भावित भिडन्त टार्न चाहन्छन् । त्यसैले पनि ओमान र नेपालका लागि पहिलो खेल महत्त्वपूर्ण हुनेछ ।
ओमानले सन् २०२१ को ट्वान्टी–२० विश्वकपमा पनि प्रतिस्पर्धा गरेको थियो । पपुवा न्युगिनीविरुद्ध १० विकेटको विजय हासिल गरे पनि बाँकी खेल हारेपछि ओमान पहिलो चरणबाटै बाहिरिको थियो । नेपालले पनि २०१४ को विश्वकप खेलेको थियो । नेपाल दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान गएको छ ।
यसअघि, ओमानमै सम्पन्न चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल र ओमान आमने–सामने भएका थिए । उक्त खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । त्यसअघि, २०१९ अक्टोबरमा सम्पन्न खेलमा भने ओमान ६ विकेटले विजयी भएको थियो । फेब्रुअरी ११ देखि १४ सम्म भएको चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा यूएई र आयरल्यान्डले समान दुई खेल जिते भने ओमान र नेपालले एक/एक खेल जितेका थिए ।
चारदेशीय शृंखलामा दीपेन्द्रसिंह ऐरीले ५३ बलमा आठ चौका र एक छक्कासहित अविजित ७३ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरी अहिले उत्कृष्ट लयमा छन् । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पछिल्लोपटकको ओमान भ्रमणमा राम्रो प्रदर्शन गरेका थिए । तथापि, त्यो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो । अहिले ट्वान्टी–२० स्वरूपको प्रतियोगिता हो ।
नेपाली राष्ट्रिय टोलीले सन्दीप लामिछानेको कप्तानीमा पहिलो औपचारिक प्रतियोगिता खेल्दै छ । सन्दीप मात्र होइन, मुख्य प्रशिक्षक पुबुदु दायानायकेको पनि दोस्रो इनिङ्स सम्हाल्न नेपाल फर्किएपछि यो पहिलो औपचारिक प्रतियोगिता हो । नेपालले चारदेशीय शृंखला नाम दिइएको ‘वार्मअफ’ खेलमा धेरै प्रयोग गरेको थियो । बलिङदेखि ब्याटिङसम्म । त्यसैले ओमानविरुद्ध नेपालले कुन रणनीति अपनाउँछ भन्ने अन्योलमै छ ।
ओमानले पनि पछिल्लो समय एकनासको प्रदर्शन गर्न सकेको छैन । चारदेशीय शृंखलाअघि यूएईविरुद्ध तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ओमानले दुई खेल हारेको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो । चारदेशीय शृंखलामा पनि नेपाल र आयरल्यान्डसँग हारेको ओमानले यूएईमाथि भने सात विकेटको विजय हासिल गरेको थियो । शुक्रबार नेपालविरुद्ध खेल्दा ओमानलाई घरेलु मैदानको फाइदा भने हुन्छ ।
के भन्छन् कप्तान ?
सन्दीप लामिछाने, नेपाल
हामीले विश्वकपमा छनोट हुने सम्भावना देखेका छौं । ट्वान्टी–२० स्वरूपमा प्रतिद्वन्द्वी टिम टेस्ट राष्ट्र होस् या एसोसिएट, त्यसले केही फरक पर्दैन । नेपाली टिममा सिनियर र युवा खेलाडीको सम्मिश्रण छ । नेपाललाई हराउन जुनसकै टोलीलाई कठिन हुनेछ । कप्तानको भूमिकाले मेरो काँधमा ठूलो जिम्मेवारी थपिएको छ । र, यस प्रतियोगितालाई अविस्मरणीय क्षण बनाउने मेरो चाहना छ । विश्वकप खेल्ने हाम्रो सपना हो । म कप्तानका रूपमा युवा भए पनि मलाई सिनियर खेलाडीको पूर्ण साथ छ ।
पुबुदुको प्रशिक्षणमा खेलाडीले धेरै कुरा सिकेका छन् । हामी छनोट प्रतियोगिताका लागि तयार छौँ । खेलाडीहरू राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित छन् । २०१४ पछि फेरि एकपटक विश्वकपमा छनोट भएर इतिहास रच्न चाहन्छौँ ।
जीशन मक्सूद, ओमान
यस प्रतियोगिताका लागि जुन तयारी गरेका छौँ, त्यसबाट हामी खुसी छौँ । चारदेशीय शृंखलाको अन्तिम खेलमा यूएईलाई हराएपछि टिमको मनोबल उच्च भएको छ । हामी लगातार दुईपटक विश्वकप खेलिसकेका छौँ । र, हामी ह्याट्रिक गर्न सक्छौँ भन्नेमा म विश्वस्त छु । हामी घरेलु टोली हौँ । हामीलाई कुनै किसिमको दबाब छैन । यो त हाम्रो लागि फाइदा हो । हामीसँग अनुभवी टिम छ । यस्तो ठूलो प्रतियोगिता खेल्दा त्यसले फाइदा हुनेछ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै