युक्रेनमा रूसी आक्रमण : ५० को मृत्यु

एनसन्चारः  रूसले युक्रेनमा गरेको आक्रमणमा ५० जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन्। तीमध्ये ४० जना युक्रेनी सैनिक र १० जना सर्वसाधारण रहेका छन्।

रूसी सेना विभिन्न दिशाबाट युक्रेनमा प्रवेश गरेको छ। यसैबीच रूसी ट्यांक र ट्रकहरू बिहीबार बिहानदेखि युक्रेनी सीमामा छिर्न थालेका छन्। 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ प्रतिकार गर्ने बताएका छन्। आक्रमणसँगै सरकारले युक्रेनभर ३० दिनका लागि संकटकाल लगाएको छ।

जनतालाई अनिवार्य सैनिक सेवाका लागि अह्वान पनि गरिएको छ। हाल २ लाख युक्रेनी सैनिक छन्।   

पछिल्लो जानकारी दिँदै युक्रेनी सीमा अधिकारीहरूले रूसी सेनाको हेलिकप्टरले गोसोमेलमा आक्रमण गरिरहेको बताएका छन्। गोसोमेलमा सेनाको विमानस्थल छ। यसअघि पनि रूसी सेनाले युक्रेनी सैन्य अखडा र अन्य सैन्य विमानस्थलमा आक्रमण गरिसकेको छ।

रूसले युक्रेनमाथि आक्रमण नगरेको स्पष्ट पारेको छ। लुहान्स्क र दोनेत्स्क जस्ता पूर्वी क्षेत्रमा युक्रेनले अत्याचार गरेकाले त्यहाँका नागरिकले सहयोग मागेकाले आफूले युक्रेनी तानाशाहबाट त्यहाँका जनतालाई मुक्त गराउन यो कदम चाल्नुपरेको बताएको छ।

सुरक्षापरिषद्‌को बैठकमा रूसी प्रतिनिधिले भने, ‘रूस युक्रेनका जनताप्रति आक्रामक छैन। हाम्रो लक्ष्य त युक्रेनका तानाशाहविरुद्ध लक्षित छ।’
 

रूसको विरोध:

रूसी आक्रमण गरेपछि धेरै देशले युक्रेनको समर्थन गरेका छन्। अमेरिका, बेलायत, जर्मनी, जापान, अस्ट्रेलिया सहित विभिन्न देशले रूसी कदमको विरोध गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले युक्रेनमा अत्याचार गरेको बताएका छन्। यसअघि युक्रेनमा रूसी आक्रमण भए आफू टुलुटुलु हेरेर नबस्ने जनाएको अमेरिकाले आज भने युक्रेनमा सेना नपठाउने स्पष्ट पारेको छ।

अमेरिकी सभामुख नान्सी पेलोसीले पुटिनलाई हिटलरसँग तुलना गरेकी छन्। उनले लुहान्स्क र दोनेत्स्कलाई मान्यता दिने निर्णय हिटलरले जर्मनीको विस्तार गरेझै भएको दाबी गरेकी छन्।

कुनै वेला सोभियत संघको हिस्सा रहेको लिथुआनियाले पनि रूसले युक्रेनमा गरेको आक्रमणको विरोध गरेको छ। रूसले युक्रेनमाथि कब्जा गरेपछि लिथुआनियाले आफ्नो देशमा संकटकाल लगाएको छ।

युक्रेनमा भएको रूसी आक्रमणको इजरायलले पनि निन्दा गरेको छ। इजरायलका विदेशमन्त्री लापिडले युक्रेनमा रूसी आक्रमणको विरोध गरेका छन्।
यसैगरी जर्मनीको बर्लिनमा सयौँ मानिस सडकमा उत्रिए र युक्रेनलाई समर्थन गरेका छन्। 

सेना फिर्ता गर्न नेटोको आग्रह:

यसैगरी नेटोले पनि रूसले युक्रेनमा गरेको आक्रमणको निन्दा गरेको छ। यसका साथै नेटोले युक्रेनबाट जतिसक्दो चाँडो सेना फिर्ता गर्न रूसलाई भनेको छ।

नेटोका महासचिव स्टोल्टनबर्गले निरंकुशतामाथि लोकतन्त्रको सधैं जित हुने बताएका छन्। उत्पीडनमाथि स्वतन्त्रताको सधैं विजय हुने उनको कथन छ।
स्टोल्टनबर्गले यस संकटमा नेटो पूर्णरूपमा युक्रेनको साथमा रहेको बताएका छन्।

यो कदमपछि नेटोका साझेदारहरूले रूसमाथि धेरै प्रकारका प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। उनले युरोपेली देश र अन्य सहयोगीहरूसँग सम्पर्कमा रहेको र रूसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाउने पनि बताएका छन्।

जी-७ को बैठक आह्वान:
रूसले युक्रेनमा गरेको आक्रमणपछि जर्मन चान्सलर ओलाफ स्कोल्जले जी-७ को बैठक बोलाएका छन्। उनले यसबाहेक आइतबार जर्मन संसद्का साथ पनि बैठक गर्ने निर्णय गरेको बताए।​

पोल्याण्डसँगको सीमामा जम्मा भए युक्रेनी:

युक्रेनमा भएको आक्रमणपछि त्यहाँ बसोवास गर्ने नागरिक पलायन भएका छन्। धेरै युक्रेनी नागरिक युक्रेन र पोल्याण्डको सीमा नजिकै देख्न सकिन्छ। मानिसहरू युक्रेनको सिमाना पार गरेर पोल्याण्ड पुगेका छन्। 

युक्रेनको अफवाह:

युक्रेनमा रूसले गरेको आक्रमणको युक्रेनी सेनाले पनि निरन्तर जवाफ दिइरहेको छ।
युक्रेनी सेनाले ५० रूसी सैनिक मारेको दाबी गरेको थियो। यसअघि युक्रेनी सेनाले लुहान्स्क क्षेत्रमा रूसका ५ वटा विमान र एक हेलिकप्टर खसालेको बताएको थियो। रूसी रक्षा मन्त्रालयले पनि क्षेप्यास्त्र आक्रमणको दाबीलाई अस्वीकार गरेको थियो।

बेलारूसको सेना सहभागी नहुने:

बेलारूसका नेताले युक्रेनमा रूसको आक्रमणमा आफ्नो सेना सहभागी नहुने बताएका छन्। बेलारूसमा केही दिनदेखि संयुक्त सैन्य अभ्यासमा करिब ३० हजार युक्रेनी सैनिक सहभागी थिए। उनीहरू युद्धको तयारीमा रहेको दाबी गरिएको थियो। 

शेयर बजारमा ठूलो गिरावट:

रूसले युक्रेनमा आक्रमण गरेपछि विश्वभरका बजार ध्वस्त भएका छन्। सेन्सेक्स झण्डै २ हजार अंकले घटेको छ। निफ्टी पनि ५८० अंकभन्दा बढीको गिरावटमा कारोबार गरिरहेको छ। बीएसईमा बिहीबार १,८०० अंकको गिरावटसँगै कारोबार सुरु भएको छ।