नारायणगढ – बुटवल सडक विस्तार ,सात वटा पुल सञ्चालनमा आउदै । ( फोटो फिचर)

 ज्ञानु पंगेनी,  नवलपुर २२ फागुन  : नारायणगढ – बुटवल सडक विस्तारको क्रममा बनेका ७ वटा पुल (माईनर ब्रिज ) सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।
यी पुल निर्माण सकेर अहिले माटो फिलिङ्ग गर्ने काम चलिरहेको छ । आयोजनाका ईन्जिनियर प्रविन थापाले दिनुभएको जानकारी अनुसार पुल अब छिट्टै सञ्चालन गर्ने तयारी गरिएको छ । आउने वर्षामा डाईभर्सनका कारण नागरिकले दुःख नपाओस् भन्नका लागि ठेकेदारसंग समेत ताकेता गरिरहको थापाको भनाई छ । थुम्सि जंगल क्षेत्रमा निर्माणाधिन सबै पुलहरु आउने वर्षा अघि नै सम्पन्न गर्ने उहाँले बताउनुभएको छ । यहाँ निर्माण गरिएका पुल १६ मिटरभन्दा मुनिका हुन् । थुम्सिको एउटा पुल सञ्चालनमा आईसकेको उहाँले जानकारी दिनुभयो ।
सडक विस्तारको पूर्वी खण्ड अन्तरगत २२ वटा साना पुल ( माईनर ब्रिज ) निर्माण हुनेछन् । जसमध्ये अहिले १५ वटा निर्माणाधिन अवस्थामा छन् । १२ वटा ठूला पुल ( मेजर ब्रिज निर्माण गरिनेछ । जसमध्ये ६ वटा निर्माणाधिन छन् । यस्तै २१५ वटा कल्भर्टमध्ये ११५ वटा निर्माणाधिन अवस्थामा रहेको योजना प्रमुख रमेश कुमार दिष्टीले जानकारी दिनुभयो । यस वर्ष वर्षामा र आसेज महिनामा समेत ठूला वर्षा हुँदा थुम्सि जंगल क्षेत्रमा डाइभर्सन भत्किदा यात्रुले निकै सास्ति भोग्नु परेको थियो । त्यसैले पनि आउदो वर्षा अगावै थुम्सि क्षेत्रमा पुल निर्माण सम्पन्न गर्न प्राथमिकतामा राखेर काम भईरहेको उहाँको भनाई छ ।


शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपुुरले कावासोतीमा आयोजना गरेको अर्ध वार्षिक प्रगति समिक्षा गोष्ठिमा आयोजनाबारे जानकारी दिदै योजना प्रमुख दिष्टीले सडक विस्तारको काम १२ दशमलब ४४ प्रतिशत सम्पन्न भएको बताउनुभयो । रुख कटानको काम ९० प्रतिशत सम्पन्न , माटो भर्ने काम २२ प्रतिशत सम्पन्न , माटो काट्ने काम १४ प्रतिशत सम्पन्न भएको दिष्टीले जानकारी दिनुभयो । कोभिड संक्रमण , रुख कटान विवाद , विद्युत्को लाईन सार्न समस्या , पाईल टेस्ट गर्न भारतबाट दक्ष जनशक्ति ल्याउनुपर्ने हुँदा कोभिडका कारण आउनमा ढिलाई हुँदा सडकको काममा प्रगति न्यून भएको उहाँको भनाई थियो ।
पछिल्लो समय सडक विस्तारको कामले केहि गति लिएकाले छ । चोरमारा , अरुणखोला जंगल क्षेत्रमा पनि माटो फिलिङ्ग र पुल निर्माणको काम सुरु भएको छ । दाउन्ने पहाडको माटो कटान गर्ने काम पनि सञ्चालन भईरहको छ । सडक विस्तारका लागि ३३ जना चिनिया , ७२८ जना नेपाली गरेर ७६१ जना कामदार खटिएका छन् । २१३ वटा मेसिन औजार काममा प्रयोग भएको दिष्टीले बताउनुभयो ।

डण्डा बजार चार लेन विवाद

कावासोतीको डण्डा बजारमा चार लेन मात्रै बन्ने कुरा आएपछि स्थानीय आन्दोलित समेत भएका छन् । डण्डा बजार क्षेत्र भएकाले ६ लेन बन्नुपर्ने स्थानीयको माग छ । योजना प्रमुख दिष्टीका अनुसार सडक विस्तारको प्रकृया सुरु गर्दा डण्डा क्षेत्र ग्रामिण क्षेत्रमा परेको कारण चार लेन मात्रै बनाउने कुरा आएको हो । विस्तार गर्ने प्रकृष सातआठ वर्ष पहिले सुरु भएको र त्यो समयमा डण्डा , बजार नभई ग्रामिण क्षेत्रमा राखिएकाले ६ लेन बन्न नुसक्ने उहाँले जानकारी दिनुभयो । अब आयोजनाले डिजाईन परिवर्तन गर्न नसक्ने तर , पछि सडक डिभिजनबाट काम गर्न सकिने उहाँले बताउनुभयो ।
आयोजना अन्तरगत सहरी खण्डमा ६ लेन , ग्रामिण खण्डमा चार लेन र दाउन्ने खण्डमा तिन लेन सडक विस्तारको काम हुनेछ ।