जसपाद्वारा तीन सदस्यीय मुख्यालय समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टीले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ ।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको हो ।

मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यस्तै जसपाले १ र २ असारमा काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन रणनीतिक अभियानमा जुटेको बताउनुभयो । उहाँले चुनावमा मतदाता प्रभावित गर्ने काममा सक्रिय हुन नेता कार्यकर्तालाई आव्हान गर्नुभयो ।

अध्यक्ष यादवले प्रत्येक केन्द्रीय सदस्यलाई आफ्नो कार्य क्षेत्रमा सशक्त भएर अघि बढ्न आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य अर्जुन थापाले बैठकले पारित गरेको निर्देशिकाअनुसार आगामी चुनावमा सहभागी हुने बताउनुभयो ।

प्रचार विभाग प्रमुख डम्बर खतिवडाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हरेक गाउँपालिकामा एकजना केन्द्रीय नेता खटाउने योजना रहेको जानकारी दिनुभयो ।