भदौ ३, नवलपुर : नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीका अनुसार देवचुली नगरपालिका –११ का २० वर्षीय मंगलसिंह पुलामी नारायणीमा माछा मार्न जाँदा शनिबार दिउँसो साढे १२ बजे बेपत्ता भएका हुन । माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेपछि बेपत्ता भएको स्थानीयको भनाइ छ । लोकाह खोला र नारायणीको दोभानमा ती युवक डुबेका हुन् ।
जिल्ला प्रहरीका अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए । स्थानीयको सहयोगमा आइतबार बिहान पनि पुलामीको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दियो । खोजी कार्यमा हात्ती समेत परिचालन गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार गत जेठयता जिल्लाका यहाँका खोला र नदीमा बेपत्ता हुनेको संख्या ६ जना पुगेको छ ।

