दीपेन्द्र रेग्मी, जेठ ११, कावासोती । स्थानीय उत्पादनको प्रवद्र्धन र उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नवलपुरको हुप्सेकोटमा’ स्थानीय वस्तु प्रवद्र्धनका लागि प्रदर्शनी मेला’ आयोजना हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको साझेदारीमा सञ्चालित ’वृद्धिमुखी उद्यमशीलता तथा रोजगार प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत यो मेला आयोजना गर्न लागिएको हो ।
मेलामा उक्त कार्यक्रममार्फत छनौट भएका हुप्सेकोटका उत्कृष्ट १० उद्यमहरूका उत्पादनहरूलाई प्रदर्शनीमा राखिने दायित्व संस्थाका हुप्सेकोट प्रतिनिधि लक्ष्मण ठाडा मगरले रेडियो कावासेतीलाई जानकारी दिनुभयो ।
यहि जेठ १२ गते मंगलबार देखि जेठ १७ गते आईतबार सम्म हुप्सेकोट ४ झ्यालबासको दशहरा मेला स्थानमा प्रदर्शनी मेला आयोजना गरिने मगरले बताउनुभयो ।
स्थानीय स्तरमा उत्पादित सामग्रीहरूको बजारिकरणमा टेवा पुर्याउने र नयाँ युवाहरूलाई उद्यमशीलता तर्फ आकर्षित गर्ने उद्येश्य सहित मेलाको आयोजना गर्न लागिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष एवं राष्ट्रिय गाउँपालिका महासंघ अध्यक्ष समेत रहनुभएकि लक्ष्मि देवि पाण्डेले बताउनुभएको छ ।
अध्यक्ष पाण्डेले सुन्दर सुखि र उद्यमी हुप्सेकोटको नारालाई सार्थक तुल्याउन समेत यो मेला फलदायि बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त प्रदर्शनी मेलाको हुप्सेकोटका वासिन्दा मात्र नभई जोकोहि व्यक्ति वा संघसंस्थाहरुले अवलोकन गर्न सकिने भन्दै पाण्डेले जेठ १२ गते देखि १७ गतेसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने मेलामा सहभागी भई स्थानीय उत्पादनहरूको अवलोकन गर्न र उद्यमीहरूको हौसला बढाइदिनका लागि समेत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

