जेठ ३, कावासोती । नवलपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका–३ रामनगर क्षेत्रमा चेकजाँचका क्रममा अवैध रूपमा ओसारपसार हुँदै गरेको बँदेलको मासु बरामद गरेको छ।
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा मिति २०८३ साल जेठ २ गते राति करिब १०:४५ बजे भैरहवाबाट काठमाण्डौतर्फ जाँदै गरेको लु २ ख ६४४० नम्बरको यात्रुबाहक बसलाई प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा रोकेको थियो।
जाँचका क्रममा बसको डिक्किभित्र लुकाइछिपाई राखिएको अवस्थामा १०३ किलोग्राम (१ क्विन्टल ३ केजी) अवैध बँदेलको मासु फेला परेको प्रहरीले जनाएको छ। उक्त मासु आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय कावासोतीमा बुझाइएको छ।
बरामद गरिएको बसका चालक पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ निवासी ४२ वर्षीय बलराम महतो रहेको खुलाइएको छ। वन्यजन्तुको अवैध सिकार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।
वन्यजन्तुको संरक्षण तथा जैविक विविधताको रक्षा गर्न यस्ता अवैध गतिविधिविरुद्ध कडा कारबाही आवश्यक रहेको स्थानीयले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

