हिन्दु सनातन धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको अधिकमास अर्थात् मलमास आजदेखि सुरु भएको छ ।
वैदिक पात्रोअनुसार चन्द्र र सौर गणनाबीचको समय सन्तुलन मिलाउन करिब प्रत्येक तीन वर्षमा एक पटक अतिरिक्त महिना थपिने परम्परा छ । यही अतिरिक्त महिनालाई अधिकमास वा पुरुषोत्तम मास भनिन्छ ।
 
धार्मिक मान्यताअनुसार अधिकमासलाई भगवान् विष्णुको आराधना, जप, तप, दान तथा आध्यात्मिक साधनाका लागि विशेष फलदायी समय मानिन्छ । यस अवधिमा विवाह , व्रतबन्ध, गृहप्रवेश नयाँ व्यवसाय सुरु गर्ने, नयाँ घर निर्माण, पुराणवाचन तथा नयाँ तीर्थयात्रा  जस्ता मांगलिक कार्यहरू गर्न नहुने परम्परा रहिआएको छ ।
 
धर्मशास्त्रका जानकारहरूका अनुसार यो महिना सांसारिक तडकभडकभन्दा आत्मशुद्धि, संयम र भक्ति साधनामा केन्द्रित रहने समय हो । अधिकमासभर भगवान् विष्णुको पूजा–आराधना, गीता पाठ , तुलसी पूजा , दीपदान  तथा दान–पुण्य गर्नाले विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यद्यपि नियमित रूपमा गरिने नित्य पूजा, व्रत, मन्दिर दर्शन , जप, ध्यान, सत्सङ्ग, पास्नी , न्वारान तथा दैनिक धार्मिक कर्महरू भने गर्न मिल्ने मान्यता छ ।
नेपाल तथा भारतका विभिन्न मठ–मन्दिरहरूमा अधिकमासको अवसरमा विशेष पूजा–आराधना सुरु गरिएको छ । भक्तजनहरूले यो अवधिमा सात्त्विक भोजन अपनाउने, मांसाहार तथा मदिराजन्य पदार्थबाट टाढा रहने र धार्मिक गतिविधिमा बढी समय दिने परम्परा पनि रहिआएको छ ।