+
+
-- Sponsored Ad --

कालोपत्रे भएको ७ वर्षसम्म मर्मत नहुँदा नेपालटार–मंगलबारे सडक क्षतिग्रस्त

442 पटक हेरिएको
Clock २०७९ जेष्ठ ११, बुधबार १६:५०
-- Sponsored --

इलाम । कालोपत्रे गरिएपछि नियमित मर्मत नहुँदा इलामको नेपालटार–मंगलबारे सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

२०७२ सालमा कालोपत्रे गरिएपछि मर्मत नहुँदा सडकमा साना सवारीसाधन सञ्चालनमै समस्या भएको हो । संघीय सरकारको सडक डिभिजनबाट कालोपत्रे भएको सडक नियमित मर्मत नहुँदा अहिले जीर्ण भएको छ ।

बहुप्रतिक्षित र बहुआयामिक महत्वको नेपालटार–मंगलबारे सडक १२ करोड रुपैयाँ खर्चेर कालोपत्रे गरिएको थियो । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र जोड्ने सडक नियमित मर्मत नहुँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।

१२ किलोमिटर सडकको बिच–बिचमा सयौं खाल्टाखुल्टी र पहिरोले क्षति पुगेको छ । सडक मर्मत नहुँदा सवारीसाधन गुडाउनै समस्या भएको मंगलबारे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मात्रिका घिमिरेले बताउनुहुन्छ । यसले पर्यटन व्यवसायमा ठूलो क्षति पुर्याएको उहाँको भनाइ छ ।

सडकको आधा खण्ड इलाम नगरपालिका र आधा देउमाई नगरपालिकामा पर्छ । सडक मर्मतका लागि बजेटको श्रोत नभएको भन्दै दुई स्थानीय तह पन्छिएका छन् । कालोपत्रे भइसकेको सडक मर्मतका लागि प्रदेश सरकारले पनि चासो दिएको छैन ।

संघीय र प्रदेश सरकारले नहेर्ने, स्थानीय तहले जिम्मेवारी नलिने भएपछि सडक अलपत्र परेको मंगलबारेका व्यवसायी मनकुमार श्रेष्ठ बताउनुहुन्छ । हिउँदमा जेनतेन सवारी चले पनि बर्षामा भने ट्याक्टरले तानेर सवारी ल्याउनुपर्ने उहाँको भनाइ छ ।

नेपालटार मंगलबारे सडक गत असोज र कात्तिकमा परेको बेमौसमी वर्षातबाट झनै क्षति पुगेको छ । २०१५ सालबाटै मोटर गुड्न थालेको यो सडक कालोपत्रेपछि पश्चिमि इलामका बासिन्दा आवातजावतमा सहज भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win