+
+
-- Sponsored Ad --

श्रीमान १० वर्ष सम्पर्कविहीन भए एकल महिला भत्ता दिन एमाले सांसदको प्रस्ताव

277 पटक हेरिएको
Clock २०७९ असार १५, बुधबार १८:४५
-- Sponsored --

१५ असार, काठमाडौं । सांसदहरुले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कविहीन भए श्रीमतीलाई एकल महिला भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।

सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वय बिमला वि.क. र विमला विश्वकर्माले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । उनीहरुले आफ्नो प्रस्ताव संसद सचिवालयको विधेयक शाखामा दर्ता गराएका हुन् ।

एकल महिलाको परिभाषामा ‘नियमित १० बर्षभन्दा बढी समय श्रीमान सम्पर्कविहीन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० बर्ष उमेर पूरा भएका, विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भत्ता दिने व्यवस्था छ ।

यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वयले श्रीमान १० बर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । दुबै संशोधनकर्ता सांसद प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने एकल भत्ता पाउने प्रस्तावित ६० वर्षे उमेर हदलाई घटाएर ५० वर्ष बनाउनुपर्ने प्रस्ताव राखेका छन् । उनले कामदार वर्ग, विपन्न वर्ग वा गरिवीको रेखामुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता तोकिए भन्दा दुई गुणा बढी दिनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै ५५ वर्षभन्दा कम उमेरका असहाय एकल महिलालाई विद्यालय र विश्वविद्यालयमा निःशुल्क पाठ्यपुस्तकसहित अध्ययनको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि सांसद सुवालले गरेका छन् ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win