0 प्रतिक्रिया
बेरुजु फर्स्यौट गर्न सरकार प्रयत्नशील छ : अर्थमन्त्री
१५ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्स्यौटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । महालेखा परीक्षकको ६४ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नीति तथा कार्यक्रममै बेरुजु फर्स्यौटलाई प्राथमिकतामा राखिएको बताए । अर्थमन्त्री शर्माले भने, ‘सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शीता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध छ ।’
उनले लेखा परीक्षकहरुबाट प्राप्त सुझावहरु कार्यान्वयन गर्न तथा बेरुजु फर्स्यौट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको समेत बताए । बेरुजु फर्स्यौटका लागि अहिलेसम्म अपनाएका विधि र प्रकृयाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको समेत उनले बताए । ‘बेरुजु किन बढ्दै गएको छ, कहाँनेर हाम्रो कमी कमजोरी भयो भन्ने कुराको अध्ययन, अनुसन्धान गरेर निराकरण गर्नुपर्ने आवश्यकता छ’ उनले भने ।
‘सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजस्वतर्फ भएका चुहावट, हिनामिना, न्यूनबिजकीकरण, अनौपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक असर, सार्वजनिक तथा संगठित संस्था सञ्चालनका बिषयहरुमा भने थप ध्यान दिनुपर्ने देखेको छु’ उनले भने ।
‘एकातिर अर्थतन्त्रको आकार दिन प्रतिदिन फराकिलो बन्दै गएको छ भने अर्कोतर्फ आर्थिक परिसूचकहरुमा उतारचढाव आइरहेको छ । यसो हुँदा अर्थतन्त्रका समग्र पक्षमा गहन अध्ययन, विश्लेषण र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखेको छु,’ उनले भने, ‘यसमा महालेखा परीक्षकको कार्यालयका तर्फबाट शसक्त अध्ययन, विश्लेषण भई सुधारका लागि सुझाव पेश हुने अपेक्षा गरेको छु ।’



