+
+
-- Sponsored Ad --

केन्द्रको राजनीतिले नयाँ मोड लिँदा गण्डकी प्रदेश राजनीति पनि तरंगित ,राजमोका सांसदबीच मतभेद सुरु ।

417 पटक हेरिएको
Clock २०७८ बैशाख २७, सोमबार २१:२३
-- Sponsored --

केन्द्रको राजनीतिले नयाँ मोड लिँदा गण्डकी प्रदेश राजनीति पनि तरंगित बन्दै गएको छ। प्रदेशमा सरकार गठनका लागि राष्ट्रिय जनमोर्चा नेपाल (राजमो) निर्णायक बनेर देखापरेको छ।

तर राजमोभित्र वर्तमान सरकारलाई निरन्तरता दिने वा यसको विकल्प खोज्ने भन्नेमा मतभेद सुरु हुन थालेको छ।

राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सहयोग गर्नु भन्दै आफ्ना सांसदलाई निर्देशन गरिरहेका छन्। गण्डकी प्रदेश सभामा राजमोका तीन सांसद छन्- पियारी थापा, खिमविक्रम शाही र कृष्ण थापा। पियारी समानुपातिक सांसद हुन् भने शाही र थापा निर्वाचित सांसद हुन्। राजमोले जुन पक्षलाई साथ दिन्छ, गण्डकीमा त्यसैको सरकार बन्ने पक्का छ। 

पियारीलाई हतार, कृष्ण र खिमविक्रमको आनाकानी  

गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वलाई हटाउने विषयमा राजमोका सांसद दुई धारमा बाँडिन थालेका छन्। 

पार्टीकी सचेतक समेत रहेकी सांसद पियारी केन्द्रको निर्देशनलाई पालना गर्ने पक्षमा छिन्। उनले सोमबार (आज) ह्विप जारी गर्दै आफ्ना अन्य दुई सांसदलाई पोखरेलको नेतृत्वमा सरकार बनाउन दाबी पत्रमा हस्ताक्षर गर्न निर्देशन दिएकी छन्। पियारीलाई पोखरेल नेतृत्वमा नयाँ सरकार बनाउन हतार छ।

तर, राजमोका सांसद शाही र थापा भने केन्द्रको निर्देशनप्रति असन्तुष्ट छन्। उनीहरु मुख्यन्त्री गुरुङ नेतृत्वकै पक्षमा लचक छन्। 

संसदीय दलका नेता समेत रहेका नेता थापा पार्टीले ह्विप जारी गरेको कुरामा आफू अनभिज्ञ रहेको बताउँछिन्। टेलिफोन सम्पर्कमा उनले भनिन्, ‘होला, मलाई पछि फोन गर्नुस्।’ 

भोलिसम्म मात्रै समय, अन्योलमा विपक्षी

प्रदेश प्रमुख सीता पौडेल संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेअनुसार भोलिसम्म जुनसुकै दलले बहुमतको हस्ताक्षर गराएर नयाँ सरकारका लागि प्रक्रियमा जानुपर्ने बताउँछिन्।

गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका तीन, जसपाका दुई र एक स्वतन्त्र सांसद छन्। नयाँ सरकार गठन गर्न विश्वासको मत लिनुपर्छ। त्यसका लागि कम्तीमा ३१ सांसद आवश्यक पर्छन्।

कांग्रेस, माओवादी र जसपा नयाँ सरकार गठन प्रक्रियामा जान लागि हतार गरिरहेका छन्। तर, राजमोका दुई सांसदको हस्ताक्षरबिना बहुमत नपुग्ने भएकाले प्रतिपक्षले दाबी पत्र लिएर बढ्न सकेका छैनन्।

‘राजमोले साथ दिने भनेको छ। आज माननीय पियारीज्यूले पनि ह्विप जारी गर्नुभएको छ। तर, अरु दुई मान्यज्यूहरुले हस्ताक्षर गर्न आनाकानी गरिराख्नुभएको छ। हामी सबैले हस्ताक्षर लिने प्रयास गरिरहेका छौँ’, कांग्रेसका एक सांसदले भने।

गुरुङ नेतृत्वकै सरकार टिक्ने सम्भावना

गुरुङ नेतृत्वको सरकार ढाल्ने या जोगाउने कुुरामा जनमोर्चाका सांसदबीच मतभेद सुुरु भइसकेको छ। भोलिसम्म बहुमत सांसदको हस्ताक्षर गरी दाबी पत्र प्रदेश प्रमुखकहाँ बुझाउनु पर्नेछ।

तर, पार्टीको निर्देशनप्रति असन्तुष्ट राजमोका दुई सांसदले मात्रै हस्ताक्षर नगरे कुनै पनि पक्षको बहुमत पुग्दैन। प्रदेश प्रमुखले दिएको समयभित्रै कुनै पनि दलले बहुमत पुर्‍याउन नसके प्रदेश सभाको ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहोरिने सम्भावना उच्च छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win